निर्वाचन पूर्वाधार विशेष कार्यक्रम खारेज हुने संकेत, सांसदले १० करोड नपाउने

निर्वाचन पूर्वाधार विशेष कार्यक्रम खारेज हुने संकेत, सांसदले १० करोड नपाउने


सरकारले यस पटकदेखि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज गर्ने संकेत देखिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकासका नाममा बजेट दिँदा सांसदले व्यक्तिगत रुपमा पाएको जस्तो मानिने र सर्वत्र आलोचना भइरहेको भन्दै सरकारले यो कार्यक्रम रोक्न लागेको बुझिएको हो ।

तर एमाले, माओवादी केन्द्र र विपक्षी दल कांग्रेसभित्रका केही प्रभावशाली सांसदहरुले भने उक्त कदमप्रति असन्तुष्टि जनाएका छन् । सत्ता साझेदार दुबै पार्टीका सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट ३ करोडबाट बढाएर १० करोड बनाउन माग गरिरहेका छन् । सांसदहरुले जनतासँग जोडिने कार्यक्रम भएकोले खारेज नगर्न सरकारसमक्ष अनुरोध गर्दै आएका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने कार्यक्रम नै खारेज गर्ने संकेत दिएका छन् ।

अर्थमन्त्री डा.युवराज खतिवडाले प्रि बजेट छलफलका क्रममा आगामी बजेटमा निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रममा बजेट विनियोजन नगर्ने संकेत गरेपछि यतिबेला सांसदहरुमा छटछपटी शुरु भएको बुझिएको छ ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीलाई कार्यक्रम रोक्ने र सांसदलाई दिदैं आएको ३ करोड समेत रोक्नुपर्छ भन्दै एमाले सांसदहरुले आरोप लगाउँदै आएका छन् ।

एमाले, कांग्रेस, माओवादी लगायतका सांसदहरुले सरकारलाई दवाव दिनका लागि खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईको संयोजकत्वमा दबाब समूह बनाएका छन् । ‘विगतमा दिदैं आएको ३ करोडलाई बढाएर १० करोड बनाउनुपर्ने कुरा चलिरहँदा सरकार भने कार्यक्रम नै खारेज गर्छु भन्न् गलत हो ।’ एक सांसदले घटना र बिचारसँग भने, ‘सरकारलाई घुँडा टेकाएर छाड्छौं । सरकारले कार्यक्रम रोके जनतासँग जोडिन सकिदैन् ।’