कोरला नाका खोल्न सांसदको माग

कोरला नाका खोल्न सांसदको माग


नेकपा एमालेका सांसद डा. सूर्य पाठकले चीनसँग जोडिने मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कोरला नाका ४ नम्बर प्रदेशमा पर्ने भए पनि समग्र देशकै लागि एक महत्वपूर्ण र देशको आर्थिक विकासको आधार बन्न सक्ने अत्यावश्यक नाका भएकोले यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन उहाँले सरकारसँग आग्रह गर्नुभएको हो ।

उक्त नाका सञ्चालन गर्ने कार्यक्रम आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम एवम् बजेटमा प्राथमिकताका साथ राख्न आग्रह उहाँले गर्नुभयो । वर्तमान सरकारले देशको समृद्धिको यात्रा सुरु गरेकोले देशको समृद्धि यात्राको सफलताका लागि हामीलाई आवश्यक रहेका र भौगोलिक रुपमा सम्भव हुने उत्तरतर्फका नाकाहरू खोल्नु आवश्यक रहेकोतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभामा बोल्दै उहाँले यी विचार राख्नुभएको हो ।

सांसद डा. पाठकले कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग छिटो सम्पन्न गर्न सरकारसँग आग्रह गर्नुभयो । यी दुई रागमार्गबाट मुलुकको पश्चिम क्षेत्रको विकासका लागि ठूलो सहयोग पुग्नेतर्फ सम्बद्ध सबै पक्षको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसैले उहाँले नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई बिशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पनि आग्रह गर्नुभयो । ढोरपाटन शिकार आरक्ष पर्यटन क्षेत्रको विश्वकै एक प्रमुख गन्तव्य रहेको पनि बत्तीमुनिको अध्यारोजस्तो भएर रहेकोले यसको विकासका लागि विशेष ध्यानदिन सरकारको विशेष ध्यानाकर्षण गराउनुभयो । उहाँले देशको चार नम्बर क्षेत्र र त्यसमा पनि धौलागिरी क्षेत्र विश्व पर्यटकीय गन्तव्य रहेकोले पर्यटन विकासको विशेष कार्यक्रम ल्याउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

नेपालले सामना गरिरहेको बेरोजगारी, गरिबी र विभेदको अन्त्यका लागि आगामी बजेटमा विशेष र व्यावहारिक कार्यक्रमहरु ल्याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले चुनावअघि गरिएको बाचाहरुलाई सम्बोधन गरी वामपन्थी गठबन्धनको सरकारले ल्याएकाजस्ता अग्रगामी र बिकासवादी नीति तथा कार्यक्रम र त्यस बमोजिमको बजेट ल्याउन पनि सरकारसँग आग्रह गर्नुभयो ।

कृषिप्रधान देशका हामीले कृषि खाद्यान्नमा परनिर्भर हुनु दुःखको कुरा हो भन्दै कृषिमा आधुनिकीकरण र ब्यासायीकरणका माध्यमबाट खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउन उहाँले जोड दिनुभयो । आज हाम्रा थुप्रै प्रतिभाहरु विदेशिएको डरलाग्दो अवस्था रहेकोले यसलाई रोक्नका लागि आगामी बजेटले रोजगारी र प्रतिभाहरुको सम्मानका कार्यक्रम ल्याउन उहाँले अर्थमन्त्रीको बिशेष ध्यानाकर्षण गराउनुभयो ।