हावाहुरीले रुपन्देहीमा ४० प्रतिशत केराखेतीमा क्षति

हावाहुरीले रुपन्देहीमा ४० प्रतिशत केराखेतीमा क्षति


पुनहरि बेल्बासे, भैरहवा

गतराति पानीसहित आएको हावाहुरीका कारण रुपन्देहीमा झन्डै ४० प्रतिशत केरा खेतीमा क्षति पुगेको छ । हावाहुरी र पानीले केरा, तरकारी र फलफूलमा ठूलो मात्रामा क्षति पुऱ्याएको छ । रुपन्देहीमा करिब ७ सय हेक्टर क्षेत्रफलमा केरा खेती गरी वार्षिक १७ हजार मेटिकटन केरा उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । केराका लागि रुपन्देहीको हाटिबनगाई, बेथरी पकेट क्षेत्र मानिन्छ भने मोतीपुर, दयानगर, सूर्यपूरामा पनि व्यावसायिक केराखेती गरिन्छ ।

व्यावसायिक रूपमा ०४२ देखि केराखेती गर्दै आएका हाटिबनगाईका किसानले पछिल्लो समय सामूहिक केराखेती गर्दै आएका छन् । ३० जनाले संयुक्त रूपमा गौतमबुद्ध केरा पकेट सञ्चालन समिति बनाएर ७० बिगामा केराखेती गर्दै आएका छन् । यहाँको केरा भैरहवा, बुटवल र पोखरा बजारसम्म पुग्ने गौतमबुद्ध केरा पकेट सञ्चालन समितिका अध्यक्ष पीताम्बर चौधरी बताउँछन् ।

किसानको केरा दर्जनको ३५ रुपैयाँमा बिक्री हुने चौधरी बताउँछन् । उनी भन्छन्, ‘मैले केराखेती गर्न लागेको करिब ३३ वर्षदेखि हो, तर अहिलेजस्तो हावाहुरीले केराखेतीमा क्षति पुऱ्याएको थिएन । यसपटक हावाहुरीले क्षति पुऱ्याएपछि खेती गर्ने मनोबल नै हराएको छ ।’