ज्याइँबाटै ठगिए महतो दम्पती

ज्याइँबाटै ठगिए महतो दम्पती


एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते रु पाँच लाख र भदौ २७ गते रु पाँच लाख गरी रु १० लाख रकम लिएको पीडित रामेश्वर महतोका पत्नि सन्तोषी महतोको दुःखेसो छ ।

सन्तोषी महतोले लहानमा पत्रकार सम्मेलन गरि छोरी निलमको केयूबाट नाम निकाल्ने आफ्नो जिम्मेवारी हो भन्दै रामसोभितले आफूसँग दुई पटकमा रु १० लाख लिएको आरोप लगाएको राससले जनाएको छ ।

जेनतेन व्यवस्था गरेर रामसोभितलाई रु १० लाख दिएको तर छोरीको नाम ननिस्किएको जानकारी दिँदै सन्तोषीले पैसा फिर्ता माग्दा रामसोभितले आइओएम र त्यसपछि पाटनबाट नाम निकाल्ने भन्दै टारेको बताइन् । कहीँकतैबाट नाम नकालिदिएपछि रामसोभित यतिबेला सम्पर्कविहीन भएको सन्तोषीको भनाइ छ । रामसोभित पीडित रामेश्वर महतोका आफ्नै जेठा दाजु रामनारायण महतोका ज्वाइँ हुन् ।

रामसोभित महतोले सिरहा छाडेर हाल काठमाडौं महानगरपालिका–९ गौशालामा रासविता टुर्स एण्ड ट्राभल्स कार्यालय सञ्चालन गर्दै आएका बताइएको छ । रामसोभितले लिएको रकम फिर्ता गराई दिन प्रहरी प्रशासनदेखि गाउँपालिकासम्म धाएपनि कुनै उपलब्धि हासिल नभएको रामेश्वर महतोको गुनासो छ ।

न्यायका लागि कानूनी उपचार गर्न खोज्दा रामसोभितले कानूनी प्रक्रियामा नजानु भन्दै आफूहरूलाई पटकपटक धम्की दिँदै आएको सन्तोषी र उनका पति रामेश्वरले दुखेसो सुनाएका छन् । यसरी आफ्नै ज्वाइँबाट ठगिनु परेकामा आफूहरु ठूलै विष्मातमा परेको उनीहरुले बताए ।