एसियाका ‘२५ शक्ति राष्ट्र’ को सुचिमा नेपाल समावेश

एसियाका ‘२५ शक्ति राष्ट्र’ को सुचिमा नेपाल समावेश


मनोज रिजाल, न्युयोर्क

एसियाका २५ शक्ति राष्ट्रको सुचि (पावर इन्डेक्स) २०१८ मा नेपाललाई पनि समावेश गरिएको छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा मे ८ मा सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा नेपाललाई पनि एक शक्ति राष्ट्रको रुपमा समेटिएको हो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको लोवी इन्स्टिच्युटले न्युयोर्कमा एक समारोहका बीच सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपाल आर्थिक स्रोत–साधनका हिसाबले २०औं स्थानमा छ र उत्तर कोरिया, कम्बोडिया, मंगोलिया र लाओसभन्दा अगाडि छ ।

यसैगरी, भविष्यमा हुन सक्ने देशको आर्थिक आकार, सैन्य खर्च र काम गर्न सक्ने जनसंख्याका आधारमा नेपाल १९औं स्थानमा छ र न्युजील्याण्ड, ब्रुनाइ लगायतका देशहरु भन्दा अगाडि छ ।

प्रतिरक्षा सञ्जाल सुचकमा नेपाल २२औं नम्बरमा छ भने सांस्कृतिक प्रभाव विस्तारमा २३ नम्बरमा र अन्तर्राष्ट्रिय आर्थिक संबन्धका हकमा २४औं नम्बरमा छ ।
त्यस्तै, सैन्य र प्रतिरोध क्षमता एवम् कुटनीतिक प्रभाव विस्तारको हकमा नेपाल २५औं नम्बरमा छ ।

उक्त अनुसन्धानले एसिया–प्रशान्त क्षेत्रका देशहरुलाई समेटेको थियो, जसमा पश्चिममा अष्ट्रेलिया र संयुक्त राज्य अमेरिका देखि पुर्वमा इन्डिया, पाकिस्तान र रसिया सम्मलाई समेटिएको थियो ।

उक्त अनुसन्धानले एसियाका शक्ति राष्ट्रहरुलाई महाशक्ति (सुपर पावर), ठुला शक्ति (मेजर पावर), मझौला शक्ति (मिडल पावर) र साना शक्ति (माइनर पावर) को रुपमा वर्गिकरण गरेको थियो ।

संयुक्त राज्य अमेरिका र चाइनालाई १०० पुर्णांकमा क्रमशः ८५ र र ७५.५ अंक सहित महाशक्ति राष्ट्र मानिएको छ ।

त्यस्तै, जापान र इन्डियालाई क्रमशः ४२.१ र ४१.५ अंक सहित ठुला शक्ति राष्ट्र मानिएको छ ।

तेह्र देशहरुलाई मझौला शक्ति राष्ट्र मानिएको छ, जसमा इन्डोनेसिया, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, थाइल्याण्ड, रसिया, पाकिस्तान र उत्तर कोरिया लगायतका देशहरु पर्दछन् ।

यसैगरी, ८ वटा देशहरुलाई साना शक्ति राष्ट्र मानिएको छ, जसमा नेपाल, म्यान्मार, ब्रुनाइ र बंग्लादेश लगायतका देशहरु छन् ।

उक्त प्रतिवेदन सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अष्टे«लियाका पुर्व पधानमन्त्री तथा न्युयोर्कमा अवस्थित एसिया सोसाइटीका अध्यक्ष केभिन रुडले उक्त शक्ति सुचकांकले एसियामा शक्तिको स्वरुप के कस्तो रुपमा रहेको छ वा परिवर्तन हुँदैछ भन्ने संबन्धमा अवधारणा प्रस्तुत गरेको तथ्य बताउनु भयो ।

‘एसियामा संयुक्त राज्य अमेरिका जताततै पुगेको देखिन्छ भने अमेरिका पुग्न नसकेको वा उसले गर्न नसकेको खाली ठाउँमा आफ्नो उपस्थिति जनाउन अर्को महाशक्ति राष्ट्रको रुपमा चाइना अगाडि बढीरहेको अवस्था छ,’ रुडले भन्नुभयो ।

उक्त अनुसन्धानमा संलग्न कार्यक्रमका अन्य वक्ताहरुले उत्तर कोरियाको शक्तिलाई वास्तविकता भन्दा बढी आंकलन गरिएको (ओभर इस्टिमेटेड) बताउनु भयो भने जापान एक चतुर शक्ति (स्मार्ट पावर) रहेका तथ्य बताउनु भयो ।

यसैगरी, सिंगापुर, अष्ट्रेलिया र दक्षिण कोरियालाई सोचे भन्दा राम्रो नतिजा ल्याउने (ओभर पर्फर्मर) शक्ति राष्ट्रको रुपमा राखिएको छ भने रसिया, ताइवान र उत्तर कोरियालाई एसिया–प्रशान्त क्षेत्रमा घुलमिल हुन नसकेका (मिसफिट) शक्ति राष्ट्रका रुपमा राखिएको छ ।

Twitter: @manojrjl