खेलकुदमा माओवादीको अग्निपरीक्षा -श्रीविक्रम भण्डारी

खेलकुदमा माओवादीको अग्निपरीक्षा -श्रीविक्रम भण्डारी


नयाँ सरकारको गठनसँगै एकीकृत माओवादीले खेलकुद मन्त्रालय सम्हाल्ने पक्का भएको छ । प्रतिपक्षमा रहँदा राष्ट्रिय खेलकुद परिषद्को समकक्षी रूपमा गणतान्त्रिक खेलकुद महासङ्घ खोलेको माओवादीले अब खेलकुदलाई कसरी हाँक्छ त्यो हेर्न बाँकी छ । खेलकुदप्रतिको मोह उहिल्यै प्रकट गरेको माओवादीले अब लगाम आफ्नो हातमा पर्दा खेलकुदलाई कसरी आत्मसात् गर्छ त्यो उत्सुकताको विषय बनेको छ । महासङ्घ खोलेरै खेलकुदको काँचुली फेर्ने प्रतिबद्धता जनाएको माओवादीले अब डाडु, पन्यु आफ्नो हातमा हुँदा कस्तो स्वभाव देखाउँछ- प्रश्नचिह्न तेर्सिएको छ । मुलुकमा माओवादीको गर्जन सुन्दा असम्भव केही नभए पनि बोलाइ र गराइको भिन्नतालाई विश्लेषण गर्दा त्यसै भन्न सकिने अवस्था छैन । तर्सथ पहिलोपटक खेलकुदलाई हाँक्ने जिम्मेवारी पाएको माओवादीले साँच्चिकै खेलकुदलाई कसरी हाँक्छ त्यो अहिले चासोको विषय बनेको छ ।
वर्तमान अवस्थामा खेलकुदमा माओवादीको आगमनलाई खेलाडी, प्रशिक्षक र कर्मचारीहरूले बडो उत्सुकताको रूपमा हेरिरहेका छन् । प्रजातन्त्रको उदयसँगै राजनीतिक दलहरूको अखडाको रूपमा विकसित भएको खेलकुद दिन प्रतिदिन अघोगतितर्फ लागेको कसैबाट छिपेको छैन । यस्तो अवस्थामा अर्थात् राजनीतिले गाँजेको खेलकुदलाई माओवादीको नेतृत्वले उकास्ने कुरामा खेलप्रेमीहरूले निकै विश्वास गरेका छन् । विगतमा राजनीतिक दलहरूले खेलकुदमा खेलकुदको विकासभन्दा राजनीतिको विकास गरेको र खेलकुदलाई राजनीतिक कार्यकर्ताहरूको भर्तीकेन्द्रको रूपमा विकास गरेको घामजस्तै र्छलङ्ग छ । यस्तो राजनीतिक दलदलमा भासिएको खेलकुदलाई अगाडि बढाउन भविष्यमा माओवादीले कस्तो रणनीति अख्तियार गर्छ त्यो अहिले प्रतीक्षाको विषय बनेको छ । विवादैविवादले भरिएको र शुद्धीकरणको समयसमेत नाघिसकेको खेलकुदमा माओवादीको प्रवेशले नौलो किरणको आशा भने जगाएको छ । हेरौँ, माओवादी यसमा कति सफल हुन्छ ?
गत साता मात्र माओवादीले खेलकुद मन्त्रालय सम्हाल्ने टुङ्गो लागेको हो । वर्तमान अवस्थामा युवा तथा खेलकुदमन्त्री कसलाई बनाउने भन्नेबारेमा माओवादीभित्र अहिलेसम्म सहमति हुन सकेको छैन । र पनि, युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी युवानेता चन्द्रबहादुर थापा ‘सागर’ ले पाउने चर्चा भने व्यापक रूपमा चलेको छ । सागर माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र र करातेका प्रशिक्षकसमेत रहेकाले उनको सम्भावना बढेर गएको स्रोतले बताएको छ । खेलकुदमन्त्रीको चर्चा चलिरहेकै बेलामा यो पङ्क्तिकारले सागरसँग सम्पर्क गर्दा उनले चर्चा चलेको साँचो हो भन्दै अहिलेसम्म निश्चित नभएको बताए । सागरले पार्टीले आफूलाई जिम्मेवारी दिइनसकेको र दिएको खण्डमा सकुशल निभाउने पनि बताए । बाहिरी हल्ला त तपाईंलाई युवा तथा खेलकुदमन्त्री दिनेे निर्णय भइसकेको सुनिन्छ नि भन्दा सागरले अहिलेसम्म त्यस्तो कुनै निर्णय नभएको बताएका थिए ।
सरकारका एघार मन्त्रालय माओवादीले सम्हाल्ने भएपछि अहिले माओवादीमा पनि मन्त्री खान तँछाड-मछाड मच्चिएको छ । सबै नेता आफ्ना वरिष्ठ नेताहरूसमक्ष आफूलाई योग्य व्यक्ति भएको बताउँदै एकाबिहानैदेखि चाकरीमा पुगिरहेका छन् । अझ माओवादीमा देखिएको प्रचण्ड, वैद्य र भट्टराईको तीन गुटले गर्दा मन्त्री छान्न निकै गाह्रो भइरहेको छ । तीनै नेता खेलकुदमा पनि आफ्नो प्यानलको व्यक्तिलाई मन्त्री बनाउन लागिपरेकाले अहिलेसम्म कसैको बारेमा सहमति हुन सकेको छैन । युवामाझ लोकप्रिय, खेलकुद ब्याकग्राउन्ड भएको र खेलकुदलाई नजिकबाट बुझेको व्यक्तिलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिने माओवादीको चाहना भएकोले हतार नगरिएको स्रोतले बताएको छ । ढिलै भए पनि अन्य राजनीतिक दलहरूले जसरी माओवादीले हतार र हचुवाको भरमा निर्णय नगर्ने स्रोतले खुलासा गरेको छ । माओवादीभित्र चलेको यो छलफललाई विश्लेषण गर्दा चन्द्रबहादुर थापा भोलि खेलकुदमन्त्री भए भने अन्यथा मान्नुपर्ने छैन ।
थोरै बजेट भए पनि युवा तथा खेलकुद मन्त्रालय सबै राजनीतिक दलका लागि ‘प्यारो मन्त्रालय’ बन्दै आएको विगतको इतिहास पल्टाउँदा स्पष्ट देखिन्छ । यही कुरालाई आत्मसात् गर्दै एमालेका नेताहरूले खेलकुद मन्त्रालय प्रधानमन्त्रीले राख्नुपर्छ भन्दै हालै गरेको वक्तव्यबाजीलाई लिन सकिन्छ । खेलकुदको आवरणबाहिरबाट सुख्खा देखिने भए पनि त्यसको ग्ल्यामर पारखीले मात्र बुझेको हुन्छ । अझ जीवनराम श्रेष्ठजस्ता पारखीले झलनाथ प्रधानमन्त्री भएको बेलामा यस्तो आवाज उठाउनु स्वाभाविकै थियो । तर, विडम्बना, अहिले जीवनराम खेलकुद मन्त्रालय हत्याउन असफल भएका छन् । आफ्नो दुई कार्यकालमा खेलकुदमा नाङ्गो नाच नाचेर ताण्डव देखाइसकेका जीवनरामको अभीष्टमा त्यतिखेर तुषारापात परेको छ । छोरादेखि नेतासम्मलाई विदेशको सयर र सयौँ एमालेका कर्ताकर्तालाई राष्ट्रिय खेलकुद परिषद्मा भर्ती गराएर जीवनराम गन्हाउनसम्म गन्हाएका थिए । जीवनरामको पुनः सदस्यसचिव हुने दाउ अहिले दिवास्वप्नमा परिणत भएको छ ।
अहिले खेलकुदको वास्तविकतालाई आत्मसात् गरेर माओवादीलेे कदम चाल्ने आमखेलप्रेमीले विश्वास गरेका छन् । माओवादी पार्टीको खेलकुद इन्चार्ज टोपबहादुर रायमाझी भएका कारणले पनि उनले खेलकुदको समग्र विकासलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने भएको छ । राजनीतिकै कारणले गन्हाउनसम्म गन्हाइसकेको खेलकुदमा राजनीतिक विकासभन्दा रचनात्मक विकासको खाँचो परेको अवस्थामा माओवादीले अब कस्तो रणनीति अख्तियार गर्छ त्यो प्रतीक्षाको विषय बनेको छ । यही सातासम्म मन्त्रिमण्डलले पूर्ण आकार लिने अध्यक्ष प्रचण्डले घोषणा गरिसक्नुभएकोले खेलकुदले पनि विज्ञ अभिभावक पाउने आशा सबैले गरेका छन् । खेलकुदप्रति निकै लगाव राख्ने र खेलकुद विकासबिना स्वस्थ नागरिक उत्पादन हुन नसक्ने कुरा बारम्बार दोहोर्‍याउँदै आउनुभएका प्रचण्डलेे आफू प्रधानमन्त्री हुँदा पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि २५ करोडको बजेट दिनुले पनि यो कुरालाई प्रमाणित गर्छ ।
तर्सथ अहिले खेलकुद माओवादीका लागि अग्निपरीक्षा हुने कुरामा दुईमत छैन । सर्वप्रथम माओवादीले खेलकुदमा लागेका क्यान्सरहरूलाई काटेर फ्याँक्नुपर्नेछ । दोस्रो खेलकुदमा राजनीतिक शक्ति र अन्तर्राष्ट्रिय संस्थाको धाक लगाउँदै भाँडभैलो मच्चाएकाहरूलाई निस्तेज पार्नुपर्नेछ । तेस्रो खेलकुदमा राजनीतिक नियुक्तिलाई पूर्णरूपले तगारो लगाउँदै खेलकुद बुझेको र जानेको विज्ञ व्यक्तिलाई नियुक्ति गरेर नयाँ परम्पराको थालनी गर्नुपर्नेछ । चौथो खेलकुदमा हुने गरेका गैरकानुनी हरकत र विवादलाई सदाका लागि साम्य पार्नुपर्नेछ । पाँचौँ काम न काजका रूपमा खेलकुदको नाममा खुलेका र गैरकानुनी क्रियाकलाप अर्थात् मेनपावरको कार्य गर्दै आएका सङ्घमाथि प्रतिबन्ध लगाउनुपर्नेछ । माओवादीले खेलकुदमा आएर यति गर्न सक्यो भने खेलकुदको विकासमा केही आशा गर्न सकिन्छ । अन्यथा माओवादी पनि अन्य राजनीतिक पार्टी सरहमै गनिने कुरामा दुईमत छैन ।

साताको खेलाडी -तिलकरत्ने दिलसान
जिम्बाबेविरुद्ध तिलकरत्ने दिलसानले जीवनकै उत्कृष्ट खेलको प्रदर्शन गर्दै श्रीलंकालाई क्वाटरफाइनलमा पुर्‍याएका छन् । दिलसानले पहिलो विकेटका लागि उपुल थाराङ्गनासँग मिलेर दुई सय ८२ रनको साझेदारी गरेका थिए । श्रीलंकाका लागि निकै महत्त्वपूर्ण मानिएको उक्त खेलमा तिलकरत्ने एक्लैले एक सय ४४ रन बनाएका थिए । ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका तिलकरत्नेले बलिङमा पनि जादु देखाएका थिए । उनले तीन ओभरमा चार रन खर्चेर जिम्बाबेको चार विकेट आफ्नो झोलीमा हालेका थिए । एकदिवसीय क्रिकेटमा एकै खेलमा शतक बनाउने र चार विकेट लिने तिलकरत्ने विश्वका एघारौँ खेलाडी बन्न सफल भएका छन् । तिलकरत्ने आफ्नो पारीमा एक सय ३१ बलको सामना गर्दै एक सय ४४ रन बनाएका थिए । उनको यही प्रदर्शनले गर्दा म्यान अफ दि म्याच पनि हुन सफल भएका थिए । तिलकरत्नेले विश्वकपमा शतक बनाएको यो पहिलोपटक हो । उक्त खेलमा जिम्बाबे एक सय ३९ रनले पराजित भएको थियो ।

उलेटफेर हुँदै छ समूह बी
विश्वकप क्रिकेटको समूह ‘बी’अन्तर्गत रहेका राष्ट्रहरूले अहिलेसम्म चारदेखि पाँचवटा खेल खेलिसक्दा पनि कुनै पनि राष्ट्र क्वाटरफाइनलमा पुग्न सकेका छैनन् । पाँच खेलमा सात अङ्क जोडेर भारत शीर्ष स्थानमा रहे पनि उसको क्वाटरफाइनलको यात्रा पक्का भएको छैन । त्यस्तै यो समूहमा दक्षिण अफि्रका र वेष्टइन्डिजले समान चार खेल खेल्दै ६ अङ्क जोडेका छन् । इंग्ल्यान्डले पाँच खेलमा पाँच अङ्क बनाए पनि सहआयोजक बंगलादेशले चार खेलमा चार अङ्क बनाएपछि इंग्ल्यान्डको क्वाटरफाइनलमा पुग्ने आशामा तगारो लागेको हो । यो समूहमा अब भारत र इंग्ल्यान्डले एक, वेष्टइन्डिज, दक्षिण अफि्रका र बंगलादेशले दुई-दुई खेल खेल्न बाँकी रहेका छन् । निकै उलटफेर भएको यो समूहमा भारतबाहेक अन्य टोलीले क्वाटरफाइनलमा पुग्न आगामी खेल जित्नैपर्ने देखिन्छ ।
यो समूहमा आयरल्यान्डले इंग्ल्यान्डलाई पराजित गर्नु, इंग्ल्यान्डले दक्षिण अफि्रका, दक्षिण अफि्रकाले वेष्टइन्डिज, बंगलादेशले इंग्ल्यान्डलाई र दक्षिण अफि्रकाले भारतलाई पराजित गरेपछि अहिलेसम्म कुनै पनि राष्ट्र क्वाटरफाइनलमा प्रवेश गर्न नसकेका हुन् । निकै रोचक मोडमा पुगेको समूह ‘बी’मा कसले कसलाई पछारेर अगाडि बढ्छ- त्यो प्रतीक्षा गर्नु नै वेश होला ।