कहाँ पुगेर टुङ्गिएला सुनको अनुसन्धान ?

कहाँ पुगेर टुङ्गिएला सुनको अनुसन्धान ?


– बबिता बस्नेत

आफ्नी आमाको बुच्चो नाक–कानमा ढुङ्ग्री बुलाकी, श्रीमतीलाई एउटा तिलहरी, पुग्यो भने दिदीबहिनीलाई सानोतिनो औँठी या सिक्री लगाइदिने सपना देख्दै खाडीको पचास डिग्रीभन्दा माथिको तापक्रममा पसिना बगाएर कमाएको पैसाले आधा टिल (पाँच तोला) सुन ल्याउनेहरू एयरपोर्टमै पक्राउ पर्छन् । पक्राउ मात्रै होइन खाडी मुलुकमा वर्षौँ मजदुरी गरेर पाँच, दश तोला काँचो सुन ल्याएको अपराधमा उनीहरूले ल्याएको सुन जफत गरिन्छ र जफत गरिएको सुनको मूल्यबराबरको थप पैसा तिराएर तारेखमा राखिन्छ । यसरी वर्षौँ अर्काको देशमा पसिना बगाएर आफ्नो मातृभूमि टेक्न पाएकोमा खुसी हुँदै आफ्नो देशको विमानस्थलको माटो ढोग्दै ओर्लिएकाहरूमाथि गरिएको अन्यायको साक्षी हुनुपर्दा कतिपटक यो पङ्क्तिकारलाई राति निद्रा लागेको छैन ।

आफ्नी आमा र श्रीमतीको मुहारमा खुसी देख्नका लागि ल्याएको सानो टुक्रा सुन त्यसरी समाइन्छ र आफूलाई अपराधी घोषित गरिन्छ भन्ने थाहै नपाई सजाय भोग्नेहरूको सङ्ख्या यहाँ ठूलो छ । सानो टुक्रा पनि काँचो सुन ल्याउन नपाइने कानुन मुलुकमा लागू गरिएको छ भन्ने कुराको बारेमा न त उनीहरूलाई जानकारी दिइएको छ न त यसको बारेमा तिनका परिवारलाई नै थाहा छ । कानुन नजान्नुलाई अक्षम्य मानिएपनि कानुन बनाएर नागरिकलाई त्यसको जानकारी नदिनुलाई भने यहाँ क्षम्य नै मान्ने गरिएको छ ।

दुबई, अबुधाबी, कतार या अन्य मुलुकले हाम्रो संस्कृतिमा लाउने माडवारी र तिलहरी बनाउँदैनन् । ढुङ्ग्री, बुलाकी सपना अरू देशमा बनेका चम्किला गहनाले पूरा गर्दैनन् ।

काँचो सुन नै किन ल्याउनुपऱ्यो तिनीहरूलाई ? बनाएका गहना ल्याउन पाइहालिन्छ नि ? भन्नेहरू पनि छन् । तर दुबई, अबुधाबी, कतार या अन्य मुलुकले हाम्रो संस्कृतिमा लाउने माडवारी र तिलहरी बनाउँदैनन् । ढुङ्ग्री, बुलाकी सपना अरू देशमा बनेका चम्किला गहनाले पूरा गर्दैनन् । सुन यहाँभन्दा त्यहाँ दुई–चार पैसा सस्तो हुने भएकाले सानोतिनो जोहो गर्न र आफूले चाहेजस्ता गहना बनाउन कामदारहरूले दुई–चार तोला सुन ल्याउने गरेका छन् । रोजगारीबाट फर्किएका उनीहरूमाथि पर्ने एयरपोर्टका कर्मचारी र सुरक्षाकर्मीहरूका मिहिन आँखा दैनिक सयौँ केजी सुन ल्याउनेहरूमा भने नपर्ने रहेछन् ।अहिले एयरपोर्टबाट भित्रिने सुनका वास्तविकता सुन्दा, पढ्दा तस्करीमा संलग्न हुनेहरूलाई लिएर बनाइएका हिन्दी सिनेमाका कथा आँखावरिपरि आउँछन् । कानुन थाहा नपाई पाँच तोला सुन ल्याएको आरोपमा तारिख खेपिरहेकाहरूलाई भन्सार नतिरी, बिनारोकावट किलो र टनमा सुन भित्रिएको सुन्दा कस्तो लाग्दो हो ।

कानुन थाहा पाएका मात्र होइन, त्यस्तो कानुन बनाएका र कार्यान्वयन गर्नुपर्ने स्थानमा बसेकाहरू भने टनका टन सुन भित्र्याइरहेका रहेछन् । सुन्दा या आँखाअगाडि देख्नुपर्दा अति नै ‘अन फेयर’ लाग्ने दृश्यमध्ये अहिले सुनकाण्ड पनि एक बन्न पुगेको छ । आफूले ल्याएको एक टिल (दश तोला) सुन जफत हुने, उक्त दिनको मूल्यअनुसार दश तोलाबराबरको पैसा तिर्नुपर्ने र आफूलाई मुद्दा पनि लाग्ने सुनेर आँखाभरि आँसु पारी ‘मेरो त्यति दुःख गरेको पैसाले किनेको सुन’ भन्दै बिलौना गरेका कतिपय युवा अनुहारहरू आँखाअगाडि आउँछन् । थाहै नपाई ‘फसेका’ उनीहरूमाथि भएको अन्यायमा आफूले केही गर्न नसकेका घटनाहरू सम्झिँदा ग्लानि हुन्छ ।

पञ्चायतविरुद्ध लडेर होस् या युद्ध गरेर प्रजातन्त्र र गणतन्त्रजस्तो गज्जबको व्यवस्था स्थापना गरेपछि मुलुकमा यस्तो के भइरहेको छ ? सर्वसाधारणको मनमा प्रश्न उब्जिएको छ । प्रजातन्त्र कुनै पनि मुलुकका लागि आफैँमा राम्रो व्यवस्था हो । तर, आफैँमा राम्रो हुँदाहुँदै पनि यसलाई सम्मानित बनाउन भने व्यवस्था आफैँले केही गर्न नसक्ने रहेछ । यो व्यवस्थामा चलखेल गर्ने मानिसकै प्रमुख हात हुने भएकाले विभिन्न क्षेत्रको नेतृत्वमा रहेका मानिसको प्रवृत्तिसँग व्यवस्थाले भर पर्नुपर्ने रहेछ ।

अहिले टनमा भित्रिने सुनका कथा सुन्दा कुनै बेला कुख्यात अपराधी चाल्र्स शोभराजले काठमाडौंको एयरपोर्टबाट सुनको हात्ती छिराउन सकिन्छ भनेको कुरा सत्य रहेछ भन्ने लाग्छ । अहिलेको सुनकाण्ड लहरो तान्दा पहरो थर्कने अवस्थामा छ । लहराले पहराको कुरा बताउँछन् कि बताउँदैनन् भन्ने पर्खाइमा सर्वसाधारण रहेका छन् । हिजो नेपाल प्रहरीमा सुडान काण्ड हुँदा केही प्रहरी अधिकारीहरूलाई दोषी देखाएर घटनाका मुख्य पात्रहरूमाथि कुनै छानबिन भएन । त्यति ठूलो घोटाला मन्त्री र सचिवको संलग्नताबिना प्रहरी महानिरीक्षकले मात्रै गर्न सक्ने कुरा होइन । तत्कालीन लहराहरूले पहरालाई तान्न सकेनन् ।

यो मुद्दा सुडान काण्डझैं प्रहरीदेखि शुरु भएर प्रहरीमै अन्त हुनुहुँदैन । यति ठूलो तस्करी केही लोडरहरूको साथ लिएर प्रहरीले मात्रै गर्न सके भन्ने विश्वास गर्न सकिँदैन । अहिले ‘तीर’ प्रहरीतिर मात्रै तेस्र्याए पनि राजनीतिक नेतृत्वको संलग्नताबिना यति ठूलो कारोबार होला र ? भन्ने प्रश्न जनमानसमा छ ।

सुनको बारेमा अनेक किंबदन्तीहरू सानैदेखि सुनिएको हो । सुनले पोल्छ भन्ने सुन्दा सुनको मामिलामा इमानदार हुनुपर्छ भनी बुझिएको थियो । कसैको सुन हरायो भने दसा गयो भन्दै लाने मान्छेलाई राम्रो गर्दैन भनिन्थ्यो । अहिले एयरपोर्टबाट भित्रिएर हराएको सुनकाण्डमा रहेको सञ्जाल हेर्दा एकपछि अर्को तानिइरहेका छन् । वर्षौँदेखि चलिरहेको गोप्य धन्धा एक्कासि सतहमा आएको छ । यो घटनाले मुलुकमा सङ्गठित अपराधको सञ्जाल कहाँदेखि कहाँसम्म फैलिएको रहेछ भन्ने प्रस्ट भएको छ ।

तर, यो मुद्दा सुडान काण्डझैं प्रहरीदेखि शुरु भएर प्रहरीमै अन्त हुनुहुँदैन । यति ठूलो तस्करी केही लोडरहरूको साथ लिएर प्रहरीले मात्रै गर्न सके भन्ने विश्वास गर्न सकिँदैन । अहिले ‘तीर’ प्रहरीतिर मात्रै तेर्स्याए पनि राजनीतिक नेतृत्वको संलग्नताबिना यति ठूलो कारोबार होला र ? भन्ने प्रश्न जनमानसमा छ । हिजो सुडानकाण्डमा पनि यो प्रश्न सर्वसाधारणको मनमा थियो, आज सुनकाण्डमा पनि छ ।

विश्वमै एक नम्बरमा रहेको सबैभन्दा ठूलो र सङ्गठित अपराध लागूपदार्थको कारोबार हो । दोस्रो नम्बरमा हात हतियारको अवैद्य बिक्री–वितरण र तेस्रोमा मानव बेचबिखन र ओसारपसार हो । मानव बेचबिखनमा नेपाल अगाडि नै छ, विशेषगरी महिला बेचबिखनमा । अब सुन तस्करीमा नेपालको छवि केसम्म भइरहेको छ जगजाहेर छ । संगठित अपराधको यस्तो सञ्जालको अन्त्य नगरी मुलुकमा विकास र समृद्धिको यात्रा टाढाको लक्ष्य मात्र हुनेछ ।

अहिलेको सुनकाण्ड कहाँ पुगेर अन्त्य होला ? यसै भन्न सक्ने अवस्था छैन । सुन देख्ने मानिस नभएकाले मैले देखेको थिएँ भन्ने साक्षी कोही हुने कुरै भएन । यस्तो सङ्गठित अपराधका सारथिहरू यो देशका महत्वपूर्ण मानिएका मानिसहरू पनि हुन सक्छन् । त्यतातिर अनुसन्धान अघि बढेकै छैन । घटनाको अनुसन्धान हुँदै गएर भोलि ए…यो त सुन नै भित्रिएको होइन रहेछ भन्ने प्रतिवेदन आयो भने अनौठो मान्नुपर्ने छैन ।