देउवा फेरि प्रधानमन्त्री बन्ने तयारीमा

देउवा फेरि प्रधानमन्त्री बन्ने तयारीमा


शेरबहादुर देउवा तत्कालै पुनः प्रधानमन्त्री बन्दै छन् भनेर कसैले भन्यो भने पत्याउनेहरू निकै कमै मात्र होलान्, तर पदपछाडि सरकार ढाल्ने कसरत जुन किसिमबाट भइरहेको छ, त्यो सफल भएमा शेरबहादुर देउवा नै पुनः मुलुकको प्रधानमन्त्री बन्ने निश्चित छ । यतिबेला नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्थानीय चुनाव प्रचारप्रसारका निम्ति पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा जानुभएको छ भने शेरबहादुर देउवा राजधानीमै बसेर वर्तमान सरकार ढाल्ने अभ्यास गरिरहनुभएको छ । काङ्ग्रेसनिकटको एक सूत्रले जनाएअनुसार केही दिन अघिसम्म सरकार ढले पनि आफ्नो कुनै टुङ्गो नहुने भएकाले शेरबहादुर देउवा आँट र विश्वास भएर पनि सरकार ढाल्न त्यतिसारो लागिपर्नुभएको थिएन, तर केही दिनअघि पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको ‘ग्रिन सिग्नल’ प्राप्त गरेपछि देउवा आफ्नै नेतृत्वमा पुनः सरकार गठन गर्ने मनसायका साथ क्रियाशील हुनुभएको हो ।

सम्बद्ध सूत्रले जनाएअनुसार वर्तमान सरकार ढाल्न संसद् सदस्यहरूको आवश्यक सङ्ख्या पुगिसकेको भए पनि प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा पुगेर कुरा अड्किएको छ । गिरिजाप्रसाद कोइरालाले आफँै प्रधानमन्त्री बन्ने इच्छा छोड्नुभएपछि शेरबहादुर देउवा अब प्रधानमन्त्री बनिने भइयो भन्ने कुरामा ढुक्कप्रायः बन्नुभएको थियो । तर, सूर्यबहादुर थापाले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने जिकिर गर्दै राप्रपाले वर्तमान समीकरण किन भङ्ग गर्ने भन्ने प्रश्न तेस्र्याउनुभएपछि देउवा केही झस्किनुभएको छ ।

हिजो मंगलबार बिहान चुनदेवीस्थित देउवाको निवासमा भएको एक बैठकमा पनि थापाको सोही सन्देश देउवालाई सुनाएका थिए । तथापि, देउवाले थापाद्वारा अन्तिमसम्म पनि सोही अडान लिने काम होला भन्ने विश्वास गरिरहेका छैनन् । जुन अवस्थामा पहिलोपटक प्रधानमन्त्री बनेका थिए सोही अवस्थाको पुनरावृत्ति हुने आशा देउवाले गर्नुभएको छ । अन्त्यमा राप्रपामा कसैलाई उपप्रधानमन्त्री बनाएर देउवा प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ । राप्रपाका महामन्त्री पशुपतिशमशेर राणा देउवालाई प्रधानमन्त्री बनाएर आफू उपप्रधानमन्त्री बन्ने ताकमा हुनुहुन्छ । राप्रपाका अन्य केही नेताहरू पनि सोही आधारमा सरकार गठन गर्ने पक्षमा रहेको बुझिएको छ । नयाँ सरकारको रूपरेखा तयार हुनेबित्तिकै वर्तमान सरकारमा संलग्न राप्रपाका मन्त्रीहरूको राजीनामा सार्वजनिक गरिने कुरा बुझिन आएको छ ।

देउवानिकटको एक सूत्रले जनाएअनुसार प्रधानमन्त्रीको टुङ्गो लाग्नेबित्तिकै यसै साताभित्र विशेष अधिवेशनको लागि समावेदन दिन राजदरबार जाने तयारी भएको छ ।

समावेदन दिन दरबार गएकै दिन संसद् सचिवालयमा अविश्वासको प्रस्ताव पनि दर्ता गर्ने, आगामी १२ दिनभित्रै वर्तमान सरकार ढाली काङ्ग्रेस–राप्रपा गठबन्धनको सरकार गठन गर्ने योजना देउवाले बनाउनुभएको छ । उता थापा पक्षले थापा प्रधानमन्त्री बन्ने स्थिति भएमा सजिलैसँग २२ गतेभित्रै चन्द–एमाले सरकार ढाल्न सकिने कुरा जनाएको छ । तर, थापालाई प्रधानमन्त्री बनाउने कुरामा काङ्ग्रेसमा एकमत नभएकाले थापा पक्षको सपना साकार हुन सक्ने सम्भावना देखिएको छैन । यस सम्बन्धमा थापाका एक सांसद विष्णुविक्रम थापाको धारणा जान्न खोज्दा उहाँले भन्नुभयो, ‘यो सरकार ढलेपछि प्रधानमन्त्री को बन्छ भन्ने कुरा भन्न सक्दिनँ । तर, यो सरकार उमेर नपुग्दै गिर्छ । त्यसको कारण हुनेछ– वामदेवको हठवादिता, लोकेन्द्रको नपुङ्सकता र राप्रपाका मन्त्रीहरूको लाचारीपना । हामीले वर्तमान सरकारको जन्मकुण्डली देखाइरहेका छौँ, त्यसअनुसार कुन दिन ढल्ने देखिन्छ त्यसै दिन ढालिदिन्छौँ ।’

हालसम्म नेपाली काङ्ग्रेसका सांसदहरूको मात्र दस्तखत सङ्कलन भएको छ । राप्रपाका १४ जनाको मत समीकरण परिवर्तनको १९मा गणना गरिएको भए पनि ती १४ जनाको दस्तखत भने देउवासमक्ष पुगिसकेको छैन । १०५ सांसदहरूको दस्तखत प्राप्त भइसकेपछि मात्रै समावेदनका निम्ति दरबार जाने पक्षमा शेरबहादुर देउवा रहनुभएको छ ।

पर्दापछाडि जोडदार किसिमबाट भइरहेको सरकार ढाल्ने अभ्यासले कस्तो किसिमको निकास कसरी पाउने हो भन्ने कुराको जानकारी पाउन अझै एक साता जति कुनैपर्ने भएको छ ।

(घटना र विचार, २०५४ वैशाख ११ बुधबार)