सिड्नीमा इतिहास लेख्यो चलचित्र शत्रु गतेले

सिड्नीमा इतिहास लेख्यो चलचित्र शत्रु गतेले


राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपालपछि नेपाली सिनेमा राम्रोसँग चल्ने देश अर्को छ भने त्यो अष्ट्रेलिया नै हो । अष्ट्रेलियाको सिड्नी त नेपाली सिनेमाको लागि अत्यन्त राम्रो बजार भएको शहरको रूपमा चिनिन थालेको छ । सिडनीमा नेपालीहरूको बसोबास बाक्लिँंदै जानु र अध्ययनका लागि नेपाली विद्यार्थीहरूको आगमन बढ्नुले नेपाली सिनेमालाई आर्थिक हिसाबले पनि फाइदा पुग्न थालेको छ । तर, सबै सिनेमाहरूको हकमा भने यस्तो अवस्था छैन ।

नेपालमा एउटा उचाई र वाहवाही कमाएको चलचित्रले सिड्नीमा राम्रै दाम कमाउन थालेका छन् । पछिल्लो पटक चलचित्र शत्रु गते सिड्नीमा मात्र शानदार १४ शो चलेको छ । पुरै अष्ट्रेलियाको हिसाब गर्ने हो भने यो चलचित्रको २० वटा शो सम्पन्न भैसकेको छ । यसअघि पनि चलचित्र २ रूपैयाँ, छक्का पन्जा–२ र कबड्डी कबड्डीको राम्रै प्रदर्शन भएको थियो सिड्नीमा ।

फोर नेशन्सले प्रस्तुत गरेको चलचित्र शत्रु गतेको प्रदर्शनको चाँजोपाँजो शायन इन्टरटेनमेन्टले गरेको थियो । यो चलचित्रलाई महँगो रकम तिरेर तीन युवा सुदीन केसी, कोमल पाठक र गोविन्द भन्डारीले निकै जोखिम उठाएर अष्ट्रेलिया भित्र्याएका थिए, अन्ततः त्यो जोखिमबाट यी युवााहरूले पार मात्र पाएका छैनन् कि ब्यवसायिक रूपमा सफलता पनि हात पारेका छन् । ‘शुरूमा हामीलाई डर नै थियो । पहिला त लगानी मात्र उठे पनि हुन्छ भन्ने थियो तर अहिले ब्यवसायिक रूपमा पनि हामी सफल भएका छौँ’, उनीहरूको भनाई छ ।

अष्ट्रेलियामा प्राय बिदाको दिन विभिन्न कार्यक्रमहरूको आयोजना हुने गर्दछ । अन्य सिनेमाहरुको हकमा पनि यस्तै हुँदै आएको थियो तर, शत्रु गतेले भनेले अफ डे अर्थात सोमबार पनि सिड्नीमा राम्रै सङ्ख्यामा दर्शक पायो । सिड्नीमा रहेका नेपालीहरूले मात्र नभएर नेपालबाट सिड्नी घुम्न आएका अभिभावकहरूले पनि चलचित्र शत्रु गते मन पराएपछि यसको माउथ पब्लिसिटी भएको थियो ।