हवाईजहाज चढी यौनधन्दा !

हवाईजहाज चढी यौनधन्दा !


हवाईजहाज चढी यौनधन्दा !

विभिन्न व्यापार–व्यवसायलाई हात्तीको देखाउने दाँत बनाएर यौनधन्दामा लागेका महिला काठमाडौंदेखि पोखरा र पोखरादेखि काठमाडौं पुगी यौन व्यापार गर्ने गरेका छन् । नवधनाढ्य र छोटो समयमा धनी हुन खोज्ने महिलाले पोखरा र काठमाडौंलाई यौनधन्दाको अखडा बनाएको जानकारी भएर पनि सम्बन्धित निकायसमक्ष उजुर गर्ने प्रामाणिक आधार हातमा नहुँदा हामी लाचार बनेका छौँ । साथमा श्रीमान् भएका हुन् या श्रीमान् विदेश रहेका श्रीमतीहरू, उनीहरू घरपरिवारको आँखा छली बिहान सबेरैको प्लेन टिकट काटेर पोखराका महिला काठमाडौं र काठमाडौंका महिला पोखरामा पुगी धन्दा चलाउने काम गर्दै आएका छन् । साँझ भने उनीहरू आ–आफ्नो घरपरिवारसँगै बस्ने गरेका छन् । वेश्यावृत्ति गर्ने महिलाले काठमाडौं र पोखरामा फ्ल्याट लिएर जुवा, तास खेल्ने, खेलाउने र यौनधन्दा चलाउँदै आएका छन् । सम्बद्ध सरोकारवाला सुरक्षा निकायले अनुसन्धान र अनुगमन बढाएर यो दुष्प्रवृत्ति नियन्त्रण गर्ने प्रयास गरिदिए धेरैको परिवार तहसनहस हुनबाट जोगिन्थ्यो कि ?

यसैगरी, जग्गा र सेयरको अवैध रूपमा दलाली गर्दै आएकाहरूको एउटा झुन्ड पछिल्लो समय मानवतस्करीमा लागेको पाइएको छ । राष्ट्र बैंकले जग्गा, सेयर धितो र गाडी खरिदमा कडाइ गर्न बैंकहरूलाई निर्देशन दिएलगत्तै अवैध रकम कमाउन अत्तालिएका दलालहरू मानवतस्करीमा लागेका हुन् । मानवतस्करीमा दुःख नगरी मोटो रकम हात पर्ने हुँदा अधिकांश अवैध सेयर दलाल र जग्गाको कारोबार गर्नेहरू मानवतस्करीमार्फत मनग्य आम्दानी गर्ने बाटो खोजिरहेका छन् । आफूले गर्दै आएको पेसा, व्यवसायलाई हात्तीको देखाउने दाँत बनाएर अवैध दलालहरू अहिले सहरबाट गाउँका दूरदराज पस्न थालेका छन् ।

सेयरधनीहरूको सेयर फर्म भर्ने, नामसारी गर्ने, घरजग्गा, कोठा, फ्ल्याट खोजी मोटो रकम कमिसन खाँदै आएका राज्यको कुनै पनि निकायमा दर्ता नभएका दलालहरूले वैदेशिक रोजगारको क्षेत्रलाई कमाइखाने भाँडो बनाउन थालेको स्रोतले उल्लेख गरेको छ । उनीहरूले दलाली मात्रै गर्दैनन्, चेलिबेटी ओसारपसार, विवाह गरेर युरोपियन मुलुकमा भिजा लगाइदिने निहुँमा या कुनै न कुनै वहानामा मानव तस्करीजस्तो जघन्य अपराधमा संलग्न हुँदै आएको पाइएको छ ।
– गम्बसिंह गुरुङ एवम् साथीहरू, चिप्लेढुङ्गा, पोखरा

ट्रम्प तात्दा तस्करलाई मस्ती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमा गरेका प्रतिबद्धता व्यवहारमै कडाइका साथ उतार्न थालेपछि मानवतस्कर, दलाल र बिचौलियाले बेग्लै खेती सुरु गरेका छन् । ‘अमेरिकाको भिसा लाग्न अब झन् कठिन छ, तर हामी भिसा मिलाइदिन्छौँ’ भन्दै तिनले अमेरिका भित्रिने आकाङ्क्षीहरूलाई गुमराहमा पारेर रकम असुल्न थालेको बुझिन्छ । यस्तो कार्यमा अमेरिकामा शरणार्थीको जीवन बिताइरहेका भुटानी र अन्य विदेशी नागरिकसमेतको हवाला दिएर ठग्ने गरिएको छ । नेपाली महिलासँग बिहेको नौटङ्की गरेर अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायत मुलकमा बेचबिखन गर्नेहरूको मौलाएको खेतीतिर आँखा लगाउने फुर्सद गृह मन्त्रालय तथा मातहत निकायलाई किन नभएको होला ?
उता वैदेशिक रोजगार विभागको ताहाचलस्थित व्यक्तिगत शाखामा हुने अनियमितताको चित्र उत्तिकै वैरागलाग्दो छ । त्यहाँ कार्यरत कर्मचारीले बिचौलिया र मानवतस्करसँग मिली श्रमस्वीकृति दिने गरेका छन् । बिचौलियाले कर्मचारीको मिलेमतोमा श्रमस्वीकृतिको स्टिकर टाँसिदिएपछि रोजगारीमा जाने सम्बन्धित व्यक्तिले घरमै श्रमस्वीकृति लिएको पासपोर्ट लिन पाउँछन् । सरकारले व्यक्तिगत श्रमस्वीकृति लिएर रोजगारीमा जाने व्यक्ति स्वयम् लाइनमा बसेर श्रमस्वीकृति निकाल्नुपर्ने व्यवस्था गरे पनि विभागका भ्रष्ट कर्मचारीहरूले मोटो रकम घुस लिएर आफैँ पासपोर्ट सङ्कलन गरी निस्सा, स्टिकर लगाइदिने गरेका छन् । यसरी घरमै श्रमस्वीकृति भएको पासपोर्ट लिन ६ देखि १० हजारसम्म घुस बुझाउनुपर्ने हुन्छ, जब कि, सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुँदा एक हजारको कल्याणकारी राजस्व र बिमाबाहेक अन्य रकम तिर्नुपर्दैन ।

– मिलन डाँगी