सुकिला मान्छेको सामूहिक मृत्यु

सुकिला मान्छेको सामूहिक मृत्यु


कृति समीक्षा

Rajesh Dhungana

नेपाली कविताका पाठकमाझ कवि राजेश ढुङ्गाना (२०१९, झापा) कुनै नौलो नाम होइन । विगत तीन दशकदेखि गरिमा, मधुपर्क, कविता, समष्टि, अभिव्यक्ति, बगर, भानुजस्ता चर्चित साहित्यिक पत्रपत्रिकामा कवि राजेशका कविताको स्वाद पाठकहरूले पाइसकेका छन् । फुटकर प्रकाशनबाटै आफ्नो कविताको सत्ता स्थापित गरिसकेका कवि राजेश ढुङ्गानाको पहिलो पुस्तकाकार कृतिका रूपमा सद्य प्रकाशित कवितासङ्ग्रह हो– सुकिला मान्छेको सामूहिक मृत्यु । छ हरफे मसिना मुक्तके कवितादेखि पाँच पृष्ठसम्मको आयाममा फैलिएका ५५ थान सुकिला कविता सङ्गृहित यस कवितासङ्ग्रहमा अधिक कविताहरू लघु कविता लघु आयामका भएर पनि धारिला र मनोकर्षक छन् । सटिक, सार्थक, स्पातिला र ओजपूर्ण यी काव्यावाजहरूले मानवचेतना र मनमस्तिष्कलाई आन्दोलित बनाएर बेगिलो तरङ्ग पैदा गरिदिन्छन् । पत्रकार राजेश ढुङ्गानाको काव्यसाधनाले सिद्धि प्राप्त गरी नेपाली साहित्यलाई परिपक्व कविता प्रदान गर्न सफल भएको अनुभूत हुन्छ ।

‘मान्छे’बाट शुभारम्भ भएर ‘आधुनिक ताजमहल’ शीर्षकको कवितामा पुगेर अन्त्य हुने यो कवितासङ्ग्रहमा जिन्दगी, मन, सत्य–असत्य सम्भावना, परिचय, किन ?, आइमाई र मुटु, कानो, अर्थ, पाप र धर्म, गौतम बुद्ध, मन्त्रीज्यूलाई प्रश्नजस्ता लघु आयामका चोटिला र मर्मस्पर्शी कविता पढ्न पाइन्छ । मेरो वर्तमान, मुस्कुराएको आँसु, भुटान, टेकनाथ र जिग्मे, आफ्नै मृत्युको समाचार, मुक्तताको गीत, आँसु, मुटु र मान्छे, रक्सी ः आफ्नै मृत्युको पखाईमा, सुकिला मान्छेको सामूहिक मृत्युजस्ता लामा कविता खारिएका, माझिएका र सफाचट पारिएका छन् ।
आजको मान्छेको समसामयिक यथार्थ बोल्ने यी कविताले वर्तमान विकृति र विसङ्गतिप्रति धारिलो प्रहार गरेका छन् । सरलताभित्र पनि प्रभावकारी बिम्ब र उत्कृष्ट काव्यशिल्पले उच्च भावका अब्बल कविताको सिर्जना हुन सक्छ भन्ने कुरालाई कवि भूपिले जस्तै राजेश ढुङ्गानाले पनि प्रमाणित गरिदिएका छन् । उन्मुक्ति र स्वतन्त्रताप्रेमी कविको आजका नेता र वर्तमान राजनीतिप्रति मोहभङ्ग र वितृष्णा छ । ‘मेरो वर्तमान’ कवितामा कवि लेख्छन् –

अहिले पनि
मेरो वर्तमानको बस्तीमा
रात परेको छ
खलनायक पसेको छ ।

धेरैले अक्षर र शब्दको दुरुपयोग गर्दै कविताको नाममा के–के लेखे, र अझै लेखिरहेछन् । राजेशलाई यो आरोप लगाउने ठाउँ छैन । यिनका कविताहरू जीवन्त, सशक्त, सन्देशमूलक र जीवनवादी भएर नै स्वनामधन्य साहित्यकार डा. ध्रुवचन्द्र गौतमले भूमिकामा सम्मति जनाउँदै कविलाई शुभकामना दिनुभएको छ । कलाका अतिरिक्त कविको अनुभव, अनुभूति, दृष्टिकोण, चिन्तन–मनन र मन्थनले पनि कविताको आलोक निर्भर हुने गर्छ । फराकिलो सोचाइका कवि ढुङ्गानाको आफ्नै दृष्टिकोणको वैयक्तिक जीवनदर्शन भएकाले पनि कविता यति उदात्त र उज्याला देखिएका हुन् । कविको मनको गहिराइबाट सिर्जित यी कविता पाठकको मनको गहिराइमै पुगेर तोडिलो स्पर्श गर्न सक्षम छन् । अपूर्ण, अपरिभाषित र रहस्यमय मान्छे स्वयम्मा सिङ्गो ब्रह्माण्ड भएको वकालत गर्ने कवि जीवनप्रति आशावादी छन् र जीवन एवम् मान्छेलाई नै आफ्ना कवितामा उपस्थित गराउँछन् । मान्छेको मान्छेभन्दा ठूलो अर्को शत्रु नभएकाले नै मान्छेले मान्छे मारिरहेको छ भन्दै पृथ्वी कुनै दिन निर्जन बस्तीमा रूपान्तरण हुने परिकल्पना गर्छन् । प्रत्येक कविताको पुछारमा सिर्जना–मिति र प्रकाशित भएको पत्रिकाको विवरण उल्लेख गरिएको भए समयका हिसाबले पाठकलाई कविताको अर्थबोध गर्न सहज हुने थियो । कविता विधाको पठनीय र सङ्ग्रहणीय कृति सुकिला मान्छेको सामूहिक मृत्युलाई मुकुन्द ढुङ्गानाले प्रकाशित गरेका हुन् ।

कृति : सुकिला मान्छेको सामूहिक मृत्यु, कवि : राजेश ढुङ्गाना, विधा : कवितासङ्ग्रह, प्रकाशक : मुकुन्द ढुङ्गाना, संस्करण : पहिलो, २०७०, पृष्ठ : ११२, मूल्य : १००/-