सिटौलाको बेग्लै अभियान

सिटौलाको बेग्लै अभियान


krishna

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अप्ठ्यारोमा परेको मौका छोपेर काङ्गे्रसका कतिपय नेताहरू पार्टीभित्र आफ्नो बेग्लै सञ्जाल खडा गर्न सक्रिय भएका छन् । यसक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सबैभन्दा अगाडि देखिएका छन् । सिटौला तेह्रौँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्दा तीन सय चौबीस मत ल्याएर पराजित बनेका हुन् र उनले आफ्नै टिमबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले भन्दा पचपन्न प्रतिशत कम मत प्राप्त गरेका थिए । स्वास्थ्यमन्त्री बनाइएका गगन थापालाई सरकारमा सिटौलाको ‘कोटाका व्यक्ति’ का रूपमा लिइन्छ, तर थापाले आफूलाई कसैको टिमको नभई स्वतन्त्र व्यक्ति भएको बताइरहेका छन् । तथापि काठमाडौंका भीमसेन दास प्रधानदेखि काभे्र काङ्गे्रसका पूर्वसभापति शिव हुमागाईंसम्मले सिटौलालाई साथ दिइरहेका छन् ।

सिटौला यतिबेला पार्टीको पदाधिकारी छैनन्, उनी पार्टी प्रवक्ता होइनन् र सभापतिद्वारा विशेष अधिकार प्राप्त व्यक्ति पनि होइनन् । तर, उनका हाउभाउ ९द्ययमथ बिलनगबनभ० र व्यवहारले उनी आफूलाई कांग्रेसको खास नेता ठान्छन् भन्ने देखाउँछ । सिटौलाले विभिन्न समयमा विभिन्न स्तरमा आफूसमर्थकहरूको बेग्लै भेला, बैठक र छलफल कार्यक्रम राख्दै आएका छन् । काङ्गे्रसभित्र आफ्नो विशिष्ट स्थान बनाउन कसरतरत सिटौलाले गत बुधबार (असोज १२ गते) केही स्थापित पत्रकारहरूसँग दिवाभोजसहित एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरे । उनी कांग्रेसलाई आफ्नो धारणाअनुरूप सञ्चालन गर्ने सामथ्र्य राख्छन् या राख्दैनन् भन्ने प्रश्न एकातिर छ, तथापि सिटौलाले कुनै पार्टीका प्रमुख नेताले झैँ ‘देशलाई अगाडि बढाउन र विद्यमान समस्या समाधान गर्न’ के गर्नु उपयुक्त हुन्छ भनी सुझाव मागे । सिटौलाले मागेको सुझावमा पत्रकारहरूले निकै उत्साही भएर आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कांग्रेसनिकट मानिएकाहरूलाई मात्र नभई विभिन्न अन्य दलनिकट पत्रकारहरूलाई समेत सहभागी गराइएको थियो । पत्रकार महासङ्घका सभापतिदेखि पे्रस चौतारी, पे्रस युनियनलगायत माओवादीसम्बद्ध तथा अन्यलाई आमन्त्रण गरिएको उक्त अन्तरक्रियात्मक कार्यक्रममा काभे्रका ईश्वरी ओझा र रिपोर्टर्स क्लबका ऋषि धमलाले सिटौलाको व्यक्तित्व र भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । वरिष्ठ पत्रकारहरूले सङ्क्रमणकाल लम्बिएको र संविधान आइसकेपछि देश झन् अप्ठ्यारोमा परेकोतर्फ नेता सिटौलाको ध्यानाकर्षण गराएका थिए । काङ्गे्रस केन्द्रीय सदस्यको हैसियतमा रहेका सिटौलालाई ‘तपाईंले यसरी सुझाव लिनुको के अर्थ छ’ भनी कुनै पनि पत्रकारले प्रश्न गरेनन्, न हामीले दिएको जायज सुझाव कसरी कार्यान्वयन गराउनुहुन्छ भनेर नै कसैले जिज्ञाशा राखे । तर, पार्टी सभापति, महामन्त्री या अन्य उच्च औपचारिक हैसियतका नेताहरूबाट हुनुपर्ने काम सिटौलाले गर्नुलाई पत्रकारहरूले सकारात्मक रूपमा लिएका भने छन् ।

पार्टीमा सभापति शेरबहादुर देउवालाई अगाडि सारेर अवसर प्राप्त गर्ने प्रतिस्पर्धामा एकथरी नेताहरू देखिएका छन् । त्यस्तो प्रतिस्पर्धामा सबैभन्दा अगाडि विमलेन्द्र निधि देखिए पनि देउवाले निधिलाई उपसभापति बनाएको अवस्थामा त्यस निर्णयविरुद्ध देउवाले थेग्नै मुस्किल हुने गरी मोर्चाबन्दी हुनसक्ने प्रबल सम्भावना छ । देउवालाई अप्ठ्यारो परेको बेला पारेर देउवाको नजिक पुग्ने र आफ्नो महत्व बढाउने योजनाबद्ध प्रयासमा सिटौला रहेको बुझिएको छ ।