सान्दाजु बीपी र ठुल्दाजु मातृका

सान्दाजु बीपी र ठुल्दाजु मातृका


SN Karki

■ स्वयम्भूनाथ कार्की

बनारसको असीघाटमा भएको गान्धीको सभामा सरकारी स्कुल नजाने घोषणा गर्न उठेका बीपीलाई मातृकाले कुर्ता समाएर तान्दा पनि रोक्न सकेनन् । भाइलाई रोक्न सफल नभएपछि मातृकालाई पनि साथ दिन करै लाग्यो र उनले पनि म पनि स्कुल जान्नँ भनेर घोषणा गरे । आठ वर्षजतिको बीपीको यो घोषणालाई आदर गर्न नेहरूले मञ्चमा लिएर गएर माला लगाइदिए । सामान्यतया कुनै आन्दोलनमा यस्तै हुने गर्दछ, त्यतिखेर सानो उमेरको वा वृद्ध उमेरको समर्थनले अत्यधिक महत्व पाउने गर्दछ । त्यसपछि आन्दोलनको समर्थनमा गरिएका उरन्ठेउला गतिविधिले महत्व पाउने गर्दछ । गाली शिरोमणि भन्न सुहाउने लेख, कथा, तुकबन्दीहरू उच्चस्तरका साहित्यभैmँ लाग्ने गर्दछन् । यहाँनेर मातृकाले आफ्नो उमेरको भन्दा ज्यादा परिपक्वता देखाएका छन् पिताजीलाई यो कुरा आफूले नभनेर बीपीलाई नै पहिले भन्न दिएर । पिताजीले यो कुरा पचाएपछि मात्र आफूले पनि भाइलाई साथ दिएको कुरा भनेका छन् ।
किताबको परिच्छेद ४ मा वर्णित यो घटनालाई बीपीले करिबकरिब मातृकाको अवसरवादी चरित्र सङ्केत गर्ने किसिमले प्रस्तुत गरेका छन् । यस घटनाले मातृकाको सानै उमेरमा परिपक्वताको सङ्केत दिन्छ । यदि घरमा आएर भाइले यसो ग¥यो र मैले पनि त्यसै गरेँ भनेका भए धेरै सम्भव थियो बीपी र पिताजी दुवैलाई भाइको पोल लगाएको महसुस हुन सक्ने थियो । यदि यसलाई पिताजीले नराम्रो ठानेको भए रोक्न नसकेकोमा खप्की मातृकाले नै खाने थिए । बीपीले पनि ठुल्दाजुले पोल लगाइदिए भनेर दोष दिने थिए । बाबुको बीपीमाथि अतिरिक्त स्नेह थियो, यदि त्यो नभएको भए पनि साधारणतया ठूलो र सानो साथै भएको बेलामा सानोले केही अतिरिक्त लाभ त पाउँछ नै । त्यसैले यहाँ यो घटना मातृकाको अवसरवादीताको परिचय थिएन । पर्न सक्ने नराम्रो असरको संयुक्त रूपमा न्यूनीकरणको प्रयत्न थियो । तर, यसलाई बीपीले मातृकाको अवसरवादीपन जीवनपर्यन्त ठाने, प्रमाण जीवनको अन्त्यमा पुग्दासमेत यस घटनाको अर्को पाटो देखेनन् वा देख्न चाहेनन् ।

त्यही परिच्छेदमा अर्काे एक घटनाको उल्लेख छ, हरेकजसो बेलुका आयोजन हुने वादविवादमा एकपटक राखिएको विषयको उदाहरण बीपीले दिएका छन् । विषय थियो, ‘खद्दर आर्थिक दृष्टिबाट ठीक कुरा हो, होइन ।’ मातृकाले होइन भन्ने पक्षबाट बोले बीपीले ठीक हो भन्ने पक्षबाट, बीपीको मान्यता के थियो भने गान्धीवादी भएर खद्दर लगाउनेले ठीक होइन भन्न हुन्न । खद्दर ठीक हो भन्ने कुरा सत्यको पक्ष भन्न बीपीको आधार आफूले प्रयोग गर्ने हुनाले त्यो सत्य हो भन्ने थियो । आपूmलाई सत्य लागेको कुराको पक्ष लिने त्यो बानी अन्तसम्म रहेको स्वीकारोक्ति बीपी यसरी गर्छन्, ‘हामी खद्दर लगाउँछौँ, त्यसलाई उहाँ किन ठीक होइन भन्नुहुन्छ ? गलत कुराको पक्षमा किन बोल्ने भनेर म तर्क गर्दथेँ । त्यो त बहस मात्रै हो भन्न सकिन्छ भनेर मलाई सम्झाउँथे । म भन्दथेँ बहस पनि त कुनै गल्ती कुराको हुन सत्तैmन । मेरो धारणा जो त्यसबेला बनेको थियो, आजसम्म पनि मेरो त्यही धारणा बनिरह्यो । तर ठुल्दाजु हरपक्षमा बोल्न सक्नुहुन्थ्यो ।’

आर्थिक कारण थियो वा बीपीमा मौलाउँदै गएको मातृकाद्वेष कृष्णप्रसादले देखेका थिए उनले मातृकालाई साथमा राखेनन् । एक डाक्टरकोमा दरभङ्गा पठाइदिए । छोराजस्तै राख्ने र महिनाको पन्ध्र रुपैयाँ दिने सर्तमा डाक्टरले मातृकालाई लगेका थिए । ती डाक्टरले किन त्यो गरे, के मातृकाको व्यक्तित्वबाट प्रभावित भएर त्यसलाई अझ सिँगार्न त्यसो गरे वा आफ्नो व्यक्तिगत काम सघाउन, यो कुराको विश्लेषण यस आलेखको विषयवस्तु होइन । तर, मातृकाको महिनाको पन्ध्र रुपैयाँको कमाइबाट आएको चार रुपैयाँ महिनाको भने बीपीको व्यक्तित्व निर्माणमा अत्यन्त महत्वपूर्ण भूमिका छ । यो कुरा भने बीपीले किताबमा इमानदारीपूर्वक स्वीकार गरेका छन् । सम्पूर्ण किताबमा मातृकाको हरेक कुराको, कामको विपरीत अर्थ देख्ने प्रवृत्ति भेटिन्छ, तर यो चार रुपैयाँ महिनामा दिएकोमा भने बीपीले कुनै नकारात्मक देखेका छैनन् ।

सरकारी स्कुल बहिष्कार गर्ने बीपीलाई टेढी पुगेपछि फेरि बनारसमा नै पढ्ने इच्छा जाग्यो, त्यो पनि गान्धीवादी स्कुलमा होइन सरकारी स्कुलमा नै । घरमा आर्थिक सङ्कट चुलिएको बेला थियो, जेठो छोरा मातृका दरभङ्गा थिए कृष्णप्रसादलाई चौतर्फी आर्थिक सङ्कट थियो । हालत बीपीलाई बनारस पठाउन सक्ने थिएन । यस्तोमा बहिनी नलिनीले आफूसँग भएको सुन दिइन्, सानीआमाले आफूसँगको एक तोला सुन पनि दिइन् । यस कुरामा साली–भिनाजुको रिसारिस पनि प¥यो । तैपनि बीपीको सुरुवाती खर्चको जोहो त भयो । खानबस्नलाई चिन्ता थिएन, बीपीकी हजुरआमा त्यहाँ बस्नुहुन्थ्यो । भरसक फिस माफ गराउन र अन्य मद्दत गर्न पिताजीले आफ्ना परिचित प्रोफेसर गणेशदत्त शास्त्री र सीताराम पन्तलाई चिट्ठी लेखिदिए । फिस आधा माफ भयो, साढे तीन रुपैयाँबाट एक रुपैयाँ बाह्रआना । दरभङ्गाबाट मातृकाले पठाउने गरेको मासिक चार रुपैयाँ अब पर्याप्त भयो बीपीलाई ।

प्रारम्भिक खर्च बहिनी र सानीआमाको सुन बेचेर आएको २३–२४ रुपैयाँ एड्मिसन फिस, किताब–कापी आदिमा केही खर्च भइसकेको थियो । बचेकाले थप तीन–चार महिनालाई पुग्ने थियो, पिताजीको हालत मासिक खर्च पठाउन सक्ने थिएन । यस्तो अवस्थामा ठुल्दाजुले बाबुको कर्तव्य पालन गरे आफ्नो पेट काटेर महिनाको चार रुपैयाँ भाइलाई नियमित पठाए । यो खर्चले बीपीको फिसलगायतका नियमित खर्च मात्र पूरा गरेन, उनले यसबाट आफूले पढ्न खोजेका साहित्य, राजनीति आदिका किताब पनि किन्न सके । यसै चार रुपैयाँको उपति (आम्दानी)को अध्ययनबाट बीपीले आफ्नो ज्ञानभण्डार बढाए । विश्वप्रसिद्ध साहित्य पढ्ने अनि त्यसमा चर्चा गर्ने मण्डलीमा बीपीको प्रवेश भयो । शान्तिप्रिय द्विवेदीको प्रेरणा र प्रयत्नले प्रेमचन्द सम्पादित ‘हंस’ जस्तो प्रतिष्ठित पत्रिकामा उनको ‘अतिथि’ कथा पहिलोपल्ट छापियो । नेपाली साहित्यमा महत्वपूर्ण स्थान राख्ने कथाकार बीपीको विजारोपण थियो त्यो । ठुल्दाजु र सान्दाजु दुवैको यसमा महत्व छ, यसमा द्विविधा हुनुहुन्न ।