सबैले प्यार गरेका बीपी

सबैले प्यार गरेका बीपी


SN-Karki, Shwoyembhunath

– स्वयम्भूनाथ कार्की

किताबभरि जति घटना तथा पात्रहरू छन् तिनमा प्राय:जसो सबैले बीपीलाई स्नेह गरेका छन् । बीपीको प्रशंसा भएका घटनाले पुस्तक भरिभराउ छ । पिताजीले (कृष्णप्रसाद कोइराला) प्राय: बीपीलाई नै साथ लिएर हिँड्ने गरेका थिए । अन्य छोराछोरीलाई पनि त्यसरी साथ लिएको हुनसक्छ, स्नेह पोखेको पनि हुनसक्छ, तर पुस्तकमा त्यस्तो दृष्टान्त छैन । टेढीमा आफ्नो घरमा काम गर्ने मनरियालाई जिस्क्याएबापत पिताजीबाट दुई झापड खाएबाहेक उनले अरू कुनै हप्काइसम्म पनि व्यहोर्नुपरेको थिएन । बाल्यकालमा पुल्पुल्याई पाएपछि मान्छेमा जिद्दीपन बढ्दै जान्छ, यस्तो जिद्दी बीपीमा पनि केही मात्रामा देखिन्छ । तर, बीपीले आफ्नो स्वभावको त्यो भागलाई सहजतापूर्वक अडिग रहने व्यक्तिको रूपमा रूपान्तरण गरेका थिए । बनारसको अस्सिघाटमा भएको गान्धीको सभामा दाजु मातृकाले रोक्दारोक्दै पनि ‘म स्कुल बहिष्कार गर्छु’ भन्न पुगेका थिए । उनको यो कदमलाई समर्थन गर्न मातृकालाई कर नै पर्‍यो । तर, पिताजी रिसाउने डरले बीपीले नभनुन्जेल यो कुरा भन्ने मातृकालाई हिम्मत नै भएन । अब यो मातृकाको अवसरवादिता थियो कि पिताजीका दुलारा बीपीले पहिलेभन्दा दण्ड कम होला कि भन्ने सोचाइ थियो, त्यसतर्फ विचार गर्नुको कुनै अर्थ छैन ।

बीपीको बनारस पढ्न जाने इच्छा पूर्ण गर्न बहिनी नलिनी र सानिमाले आफ्नो सुन दिए । दरभङ्गामा रहेका मातृकाले आफूले पाउने गरेको महिनाको पन्ध्र रुपैयाँबाट चार रुपैयाँ महिनैपिच्छे बीपीलाई बनारस पठाइदिन्थे । हजुरआमाको घरमा दुईछाक खान र बस्नको प्रबन्ध भइसकेपछि मातृकाले पठाइदिएको चार रुपैयाँ फिस तिर्नलगायत अन्य जरुरतको निमित्त पर्याप्त हुन्थ्यो । बीपीले स्कुलमा पनि शिक्षक, साथी विद्यार्थी सबैको माया तथा स्नेह पाए । वादविवाद प्रतियोगिता होस् वा अङ्ग्रेज गभर्नरको स्कुल आगमनको बेला कविता पाठ गर्न बीपी नै अगाडि सारिन्थे । गान्धीवादीहरू हुन् वा आतङ्कवादी सबैसँग बीपीको सम्पर्क थियो, दुवै बीपीलाई महत्त्व दिन्थे । सन् १९३० दशैँताका आतङ्कवादीहरूसँग लागेकोमा समातिएर रेलमार्फत लैजाँदा देख्नेहरूले देवपुरुष भनेर श्रद्धापूर्वक फूलहरू चढाएको, आफूलाई हिरोजस्तो महसुस भएको कुरा बीपीले परिच्छेद ५मा उल्लेख गरेका छन् ।

बनारसमा हुँदा नै ठूला समालोचक, संवेदनशील लेखक शान्तिप्रिय द्विवेदीसँग भेट भयो । द्विवेदीले उनलाई बडो महत्त्व दिए । पुस्तक तथा लेखकहरूको बारेमा बताउने मात्र होइन मैथलीशरण गुप्त, रामकृष्ण दास, जयशंकरप्रसादजस्ता साहित्यकारहरूको जमघटमा उनको पहुँच पनि गराइदिए । यति मात्र होइन प्रेमचन्दले सम्पादन गर्ने मासिक पत्रिका ‘हंस’मा लेख्ने प्रेरणा पनि दिए । जसमा उनको पहिलो ‘अतिथि’ भन्ने कथा छापियो पनि । बाल्य तथा किशोर अवस्थामा बीपीसँग सम्पर्कमा आएका सबैजसो महिलाले उनलाई स्नेह गरेको कुरा बीपीले धेरै स्थानमा उल्लेख गरेका छन् । महिलाको उनीप्रतिको यो सौहार्दता पछिसम्म कायम रहेको कुरा पनि बीपीले उल्लेख गरेका छन् । महिलाको बीपीप्रतिको यही आकर्षण देखेर हो वा किन हो बिजु पटनायकले आफूलाई ‘तपाईं पनि छोकरीबाजी खुब गर्नुहुन्छ जस्तो लाग्छ’ भनेको कुरा परिच्छेद ३७मा उनले उल्लेख गरेका छन् ।

चाहे तत्कालीन अमेरिकी राष्ट्रपति आइसन हावर हुन् वा धनाढ्य रकफेलर आफूसँग प्रभावित भएको कुरा बीपीले उल्लेख गरेका छन् । यहाँसम्म कि भारतीय पत्रकार प्रेम भाटियाले आफूसँग प्रभावित भएर आफूलाई ‘भारतको प्रधानमन्त्री कस्तो हुनुपर्छ, आज मैले त्यसको नमुना देखेँ’ भनेर भनेको कुरा परिच्छेद ५२मा उनले उल्लेख गरेका छन् । मुलुकभित्र पनि राजा त्रिभुवन आफ्ना पारिवारिक भेलामा बीपीलाई विशेष आग्रह साथ बोलाउने गर्दथे । महेन्द्रले त आफ्नो व्यक्तिगत समस्यासमेत बीपीसँग सल्लाह गर्ने गरेको कुरा उनले उल्लेख गरेका छन् । गृहमन्त्री छँदा आफूमाथि साङ्घातिक आक्रमण गर्ने गोर्खादलको नेता संसद्मा विरोधी पक्षको नेता भएर पनि भरतशमशेरले आफ्ना १८ सांसदले बीपीलाई अप्ठ्यारो परेमा समर्थन गर्ने कुरा गरेका प्रसङ्ग बीपीले उललेख गरेका छन् ।

यसरी सबैको प्यारो भएका बीपी धेरै ठाउँमा केही जिद्दीजस्तो पनि देखिन्छन् । कतिपय महत्त्वपूर्ण निर्णयहरू साथीहरूको सल्लाहविपरीत गएर पनि लिएका छन् । मातृकालाई प्रधानमन्त्रीबाट हटाउँदा टेलिफोन, बिजुली सबै काटिएको थियो, तर १७ सालमा बीपीलाई नजरबन्द गर्दा पनि सबै किसिमको भौतिक सुविधा दिइएको थियो । परिच्छेद ५७ मा बीपी अन्य सुविधाबाहेक दैनिक ४५ रुपैयाँ भत्तासमेत दिइएको उल्लेख गर्छन् । त्यसबेला यो रकम एक तल्लो कर्मचारीको एक महिनाको तलबको हाराहारीभन्दा बढी हुन्थ्यो । यसरी सबैको माया र स्नेह पाउँदापाउँदै पनि सत्ता सञ्चालनको बेलामा भने बीपीले आफू एक्लिएको कुराको गुनासो गरेका छन् । अरू त अरू पार्टीबाट पनि आफूलाई सहयोग नभएको बाहिर तीव्र विरोध भएको यहाँसम्म कि यस्तो आत्मीयता भएका नेहरूले पनि आफूसँग द्वेषजस्तो राखेको उनलाई लागेको थियो । के यो सबैको माया पाएर विकसित भएको उनको जिद्दीपनको परिणाम थियो वा अन्य कुनै कारण त्यो भने भविष्यमा शोधको राम्रो शीर्षक हुनसक्छ ।