सबैले चिन्नैपर्ने यी को हुन् ?– देवप्रकाश त्रिपाठी

सबैले चिन्नैपर्ने यी को हुन् ?– देवप्रकाश त्रिपाठी


dev-prakash-tripathi-17

♦ नागरिकताको प्रमाणपत्र नेपाली र त्यही प्रमाणपत्रका आधारमा उनी बेलाबखत देशको प्रधानमन्त्रीसम्म बन्ने गर्दछन्, तर व्यवहार, क्रियाकलाप र कार्यपरिणामले उनी नेपालप्रेमी नेपाली भएको कुनै सङ्केत गर्दैन, को हुन् ?

♦ उनी संसदीय प्रजातन्त्रका कट्टर विरोधी र आलोचक हुन्, उनको विचारमा संसदीय व्यवस्था भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बिक्री गर्ने ठाउँ हो । त्यसैले संसदीय प्रजातन्त्र विस्थापित गरी नयाँ जनवाद स्थापना गर्न उनले हिंसात्मक सङ्घर्ष गरे, तर तिनै व्यक्ति संसदीय पद्धति र प्रक्रिया अवलम्बन गरी प्रधानमन्त्री बन्न राजी हुन्छन् र व्यवस्थाको पक्षमा शपथसमेत खान्छन्, यी व्यक्ति के हुन् ?

♦ यिनी धर्मनिरपेक्षताका पक्षधर हुन्, उनको विचारमा धर्म भनेको अफिम हो र पूजाआजा वा आराधना गर्नु रुढिवाद हो । तर सन्त, महन्थ र धर्मगुरुहरूसँग यिनी रमाउँछन्, देवी–देवताको दर्शन गर्न र भैँसीसम्मको पूजा गर्न पनि अग्रसर हुन्छन्, यी को हुन् ?

♦ उनी सर्वहारावादी हुन्, निजी सम्पत्ति संरक्षण गर्ने राजनीतिक तथा आर्थिक प्रणालीका विरुद्ध यी ‘दृढतापूर्वक’ उभिएका छन् । निजी सम्पत्ति सङ्ग्रह गर्न प्रोत्साहित गर्ने नेता र नीति तथा सम्पत्ति सङ्ग्रहकर्ता उनका विचारमा वर्गीय दुस्मन हुन् । जति ठूला पुँजीपति छन् ती त्यति नै ठूला दुस्मन् हुन् भन्ने उनको वैचारिक निष्कर्ष छ, तर उनी नेपालका नवधनाढ्य हुन्, राजनीतिलाई नै व्यवसाय बनाएर रातारात अर्बपति बनेका छन् । पुँजी सङ्ग्रहप्रतिको उनको लगाव माछाप्रति बनेल (बँदेल) को भन्दा ज्यादा देखिन्छ । सर्वहारावादको सैद्धान्तिक जलपभित्र सर्वआहारावादको अवलम्बन गर्ने यिनी को हुन् ?

♦ यिनी खाँटी वामपन्थी क्रान्तिकारी हुन् र देशभरिका वामपन्थीलाई एकताबद्ध गर्दै अघि बढ्ने उनको ‘विशाल’ चाहना छ । सबै वामपन्थी कम्युनिस्टहरू एकढिक्का हुँदा वर्ग दुस्मन कमजोर हुने र देशमा दक्षिणपन्थीहरूले कहिल्यै टाउको उठाउन नसक्ने उनको विश्वास छ र विश्वासअनुरूपकै अभिव्यक्ति पनि उनी दिइरहन्छन् । तर, कम्युनिस्टभन्दा गैरकम्युनिस्टहरूसँगको सहकार्यमा उनी रमाउँछन्, अर्को कम्युनिस्ट घटकका नेताले घोडा चढ्यो भनेर यिनी अर्काको घरको धुरी चढ्न पुग्छन्, को हुन् ?

♦ यिनी खुङ्खार क्रान्तिकारी भएको दाबी गर्छन्, गफ सुन्दा यिनी चे ग्वे भाराका सहोदर मीतज्यू जस्ता लाग्छन् । क्रान्तिका गीत गाउँछन्, रामेश र मञ्जुलका गीतमा समेत संशोधनवाद यथास्थितिवाद र प्रतिक्रान्तिका गन्ध आयो भन्दै जीवन शर्माका गीत मात्र सुन्ने आदत बनेको बताउँछन्, तर मौका पाउँदा ‘कि लाउ माया मैतिर’ भन्दै रेखा थापासँग साल्सा शैलीमा लोकनृत्य गर्छन्, को हुन् ?

pushpakamal-dahal-prachanda

♦ यिनी माओका अनुयायी हुन्, माओ त्से तुङको भूमिप्रति उनको अगाध श्रद्धा छ, उस्तै पर्दा उनी अर्घ दिन पनि अग्रसर भइदिन्छन् । माओले लङमार्चका क्रममा तय गरेका गन्तव्य र त्यसक्रममा माओका पाइला परेका स्थान यिनका निम्ति त्यति पवित्र भूमि हो जति सतीदेवीका अङ्ग पतन भएर झरेका स्थान हिन्दू धर्मावलम्बीहरूका निम्ति पवित्र बन्न पुगेको छ । तर, वास्तविक जीवनमा यिनी उत्तरतर्फ फर्किएर हेर्न चाहँदैनन्, एकपटक प्रधानमन्त्री बनेका बेला उत्तरतर्फ पाइला हाल्दा भोग्नुपरेको पीडा उनले भुल्न सकेका छैनन् । अगुल्टोले हानेको कुकुर बिजुली देख्दा पनि तर्सन्छ भनेझैँ उत्तरका मित्रसँग हात मात्र मिलाउँदा पनि सान, मान र सत्ता गुम्ने त्रासपूर्ण मनोदशाबाट उनी ग्रस्त छन् । आफू उत्तरतर्फ पाइला नचाल्ने मात्र होइन उत्तरबाट आउन चाहेका पाहुनालाई समेत ‘बाटैबाट फर्काउन’ यिनी हिचकिचाउँदैनन् । अहिलेसम्म विश्वभरिका साम्यवादीहरूको आस्थाको केन्द्रभूमि बनेको आफ्नै छिमेकी मुुलुकसँग ‘लङमार्चको प्रशंसा’ गर्दै ‘लामो दूरीको सम्बन्ध’ बनाउने यी को हुन् ?

♦ वि.सं. २०५२ सालमा जनवादी राज्यसत्ता स्थापनाको नारा लगाउँदै हिंसात्मक सङ्घर्षमा उत्रिँदा यिनले सरकारसमक्ष चालीस सूत्रीय माग प्रस्तुत गरेका थिए । चालीसमध्ये नौवटा छिमेकी मित्रराष्ट्र भारतविरुद्ध लक्षित थिए । भारतविरोधलाई राष्ट्रवादको आधार बनाउने यिनले सन् २००२ मा भारतका तात्कालिक प्रधानमन्त्री अटलबिहारी वाजपेयीसमक्ष लिखित निवेदन दिएर आफूहरू (माओवादी) भारतको हितविपरीत कहिल्यै कुनै प्रकारले क्रियाशील नहुने वाचाबन्धन गरे । तर, यसरी वाजपेयीसमक्ष आत्मसमर्पण गरेको करिब दुई वर्षपछि यिनले पश्चिम तराईका कतिपय स्थानमा भारतसँग युद्ध लड्ने भन्दै सुरुङ खन्ने काम गरे । यता नेपालमा भारतसँग युद्ध गर्ने झ्याली पिटिँदै थियो, उता नयाँदिल्लीमा भारतीय उच्च अधिकारीहरूलाई साक्षी राखेर यिनले बाह्रबुँदे सम्झौता गरे । भारतीय सद्भाव र सहयोगमा सिंहदरबारसम्मको यात्रा तय गरेका (वि.सं. २०६५ मा) उनले सत्ताच्यूत हुनेबित्तिकै ‘राष्ट्रियताको निम्ति राष्ट्रिय आन्दोलन गर्ने’ घोषणा गरे र जिल्ला–जिल्लाको भ्रमणमा निस्किए । दोस्रोपटक प्रधानमन्त्री बन्नुअघिसम्म उनी भारतीय हस्तक्षेप भएको उद्घोषसहित चिच्याउँदै थिए र ‘राष्ट्रियताको रक्षाका लागि एकजुट भएर साइकल चढ्न’ जनतालाई आह्वान गर्दै थिए । तर, रातारात उनी भारतका ‘सच्चा हितैषी’मा रूपान्तरित भए र भारतसँग मित्रवत् सम्बन्ध बनाउन आफूबाहेक कसैले नसक्ने दाबी गर्न थाले । छेपारोलाई समेत लज्जाबोध हुने गरी रङ बदल्न सक्ने यी को हुन् ?

♦ सङ्घर्ष र क्रान्तिकारिताको जगमा उनको व्यक्तित्व उचालिएको छ । समाजमा जुवातास खेल्ने, मदिरा सेवन गर्ने र भ्रष्टाचारमा सामेल हुनेहरूलाई भाटे कारबाही गरेर उनले आफूलाई अग्ल्याएका हुन् । तर, लडाकुका नाममा राज्यद्वारा उपलब्ध गराइएको रकममा भ्रष्टाचार भएको विषयमा अनुसन्धान तथा छानबिन नहोस् भन्ने उनी चाहन्छन् । सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारबारे छानबिनको प्रसङ्ग उठ्नासाथ यिनी आतङ्कित हुन्छन् र बर्बराउन थाल्छन् । भ्रष्टाचारविरुद्ध नारा लगाउँदै नेपालको इतिहासमा सबैभन्दा ठूलो रकम भ्रष्टाचार गर्न सक्ने यी व्यक्ति को हुन् ?

♦ साम्यवाद, जनवाद, जनवादी क्रान्ति र माओवादी पार्टीका लागि ज्यान अर्पण गर्न तत्पर भएको बताउने उनकै हटहुटीमा लागेर हजारौँ निर्दोष नेपाली युवा शहीद बन्न लामबद्ध भए । आफ्ना मुख्य नेता नै ‘विर सहिद’ बन्न तत्पर रहेको कुराले युवा लडाकु आफ्नो जीवन अर्पण गर्न तत्पर भएका थिए र युद्धका क्रममा तीमध्ये कतिले हाँसीहाँसी प्राण उत्सर्ग पनि गरे, जसलाई अहिले ‘शहीद’को सम्मान दिइएको छ । यसरी निर्दोष युवालाई शहीद बन्न उक्साउँदै ‘आत्महत्याका निम्ति लामबद्ध गराउने’ व्यक्ति सबैभन्दा बढी डरपोक छन् र मर्नदेखि सर्पभन्दा धेरै डराउँछन्, मामुली शरीर रक्षाकै निम्ति जोसुकैसँग अवाञ्छित सम्झौता गर्न अग्रसर हुन्छन्, यी को हुन् ?

♦ यिनको विचारमा नेपाली काङ्गे्रस घोर दक्षिणपन्थी, यथास्थितिवादी, पुँजीवादी र वर्गीय दृष्टिले दुस्मन पार्टी हो । वर्ग दुस्मन ठहर गरेरै कथित जनयुद्धकालमा काङ्गे्रसका होनहार कार्यकर्ताहरू छानी–छानीकन गाउँ–गाउँमा काटिएका हुन् । तर, सहकार्यका निम्ति उनले कम्युनिस्ट नामको एउटा पार्टी छोडेर काङ्गे्रस रोजेका छन्, यी वास्तवमा के हुन् ?

♦ यिनले बोकेको भनिएको सिद्धान्तको ग्रन्थमा जातिवाद, नश्लवाद र क्षेत्रीयतावादको निसानासम्म भेटिँदैन, तर यिनी जातीयता र क्षत्रीतावादका प्रवक्ता हुन् । वामपन्थीहरूबीच एकता र सहकार्यका निम्ति जस्तोसुकै त्याग गर्न पनि तत्पर रहेको उनको दाबी छ, तर वामपन्थी एकताका पक्षधरहरूलाई सबैभन्दा ठूलो धक्का पु¥याउने व्यक्तिका रूपमा उनकै नाम लिइन्छ, यी को हुन् ?

♦ बेइमानहरूको संसारमा पनि न्यूनतम इमानदारीको गुञ्जाइस रहन्छ । इमानदारहरूका बीचमा त उनी ‘सिद्धहस्त’ बेइमान नै हुन्, बेइमानहरूका माझमा समेत उनलाई ‘इमानदार बेइमान’का रूपमा लिइँदैन, बेइमानीमा समेत धोखाधडी गर्ने क्षमता यिनले प्रमाणित गरेका छन् । राष्ट्रवादको नाममा राष्ट्रलाई धोखा, क्रान्तिकारिताको नाममा क्रान्तिलाई धोखा, गणतन्त्रको नाममा गिरिजालाई धोखा, जनताको नाममा जनतालाई धोखा, मित्रताका नाममा मित्रधोखा, वर्ग–सङ्घर्षको नाममा वर्गलाई धोखा, सहकार्यका नाममा सहकर्मीलाई धोखा र देशभक्तिका नाममा देशैलाई धोखा दिने यस्ता व्यक्ति को हुन् भन्ने प्रश्नको जवाफमा कुनै नाम लेखिनैपर्ने भए पाठकहरूबाट सुझावको अपेक्षा गरिन्छ ।