सडकको दूरावस्था र सरकार

सडकको दूरावस्था र सरकार


मुलुकका गृहमन्त्री रहिसकेका व्यक्ति सवार जीप पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डमा चिप्लिएर त्रिशूली नदीमा बेपत्ता भएपछि सडकको दूरावस्था, बढ्दो सवारी दुर्घटनाका कारण र दुर्घटना नियन्त्रणको उपाय खोज्न नेपाल सरकार जुर्मुराएको छ । सरकारी जुर्मुराहट यो पहिलो भने होइन, न त सवारी दुर्घटनाको यो कुनै नवीन कथा नै हो । तथापि, यसपटकको सरकारी जुर्मुराहट थोरै आशलाग्दो यसकारण देखिएको छ कि यातायातमन्त्रीले सवारीका साधन सडकबाट नदी या भीर–पहरातर्फ खस्न नदिन सक्दो उपाय अपनाउने एवम् बिग्रिएर सडकमा रोकिने, दुर्घटनाग्रस्त भई सहज सवारी सञ्चालनमा अवरोध पु¥याउने गाडीहरू तत्काल पन्छाउन आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । बिग्रेका सडकको मर्मत, स्तरोन्नति तथा सवारीसाधनको सुसञ्चालनार्थ सम्भव भएसम्मका उपाय यथाशीघ्र अवलम्बन गर्न मातहतका निकायलाई मन्त्रीले निर्देशन दिएका छन् । सडकको अवस्था अवलोकन या अनुगमनमा स्वयम् निस्किएर उनले विषय–प्रसङ्गप्रति गम्भीरता दर्शाउने चेष्टा गरेका छन् । तर, यत्तिकै भरमा सवारी दुर्घटनाको त्रासदीबाट आमयात्रु मुक्त हुने कल्पना गर्नुचाहिँ सोम शर्माको सातुकै कथासरह हुनेछ ।

राजधानीभित्र मात्र दैनिक १५ हजार हाराहारीमा सवारीसाधन भित्र–बाहिर गर्ने महानगरीय ट्राफिक महाशाखाको आँकलन छ । तीमध्ये झन्डै आठ हजार सवारीले मुग्लिन–नारायणघाटको पथ प्रयोग गर्दछन् । दशैँ–तिहारजस्ता ठूला चाडपर्व सन्निकट छ र दशैँका बेला सवारीको सङ्ख्या दोब्बर पुग्छ । राष्ट्रिय चाडपर्वका बेला सहरबाट गाउँघर जाने र चाड मनाएर पुनः कर्मस्थल फर्कनेको चाप बढ्ने परम्परा यथावत् नै छ । सामान्य अवस्थामा समेत सडक–यात्राको दुःख झेल्न नसक्ने परिवेशबाट गुज्रँदै आएका आमयात्रुले दशैँको बेला थप कति दुःख व्यहोर्नुपर्ने हो, सम्झँदै आङ सिरिङ्ग हुन्छ । सरकारले यसनिम्ति के–कस्तो व्यवस्थापन गर्दै छ, जनस्तरमा अनुभूत हुन छैन ।

धेरै परको अतीत चियाउनुपर्दैन, विगत दुई–चार महिनाकै मात्र तथ्याङ्क हेर्ने हो भने पनि सडक दुर्घटना र त्यसबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या कहालीलाग्दो देखिन्छ । सवारी दुर्घटनाको मुख्य कारणमा चालकको लापरबाही, तीव्र गति, सवारी नियम पालनामा उदासीनता, क्षमताभन्दा बढी यात्रु तथा सामान लाद्ने प्रवृत्तिलाई लिइन्छ । तर, पछिल्ला दिनमा सडकको दयनीय अवस्था नै सवारी दुर्घटनाको मुख्य कारक बनेर देखापरेको छ भन्दा अतिसयोक्ति ठहरिँदैन । स्तरोन्नति वा मर्मतको चरणमा रहेको मुग्लिन–नारायणगढ सडकखण्डले निम्त्याउँदै आएको विपत्तिका किस्सा आफ्नै ठाउँमा छ, मुलुकभरका अधिकांश सडकले उत्तिकै दीनहीन अवस्था व्यहोरिरहेका छन् र तिनका दूरावस्था सयौँ–हजारौँ नागरिकको अकाल मृत्युको कारक बनिरहेको छ । अन्यत्रको के कुरा † राजधानी सहरभित्रैका सडकको हालतले हामीलाई गिज्याउन थालेको वर्षौं भयो । देशकै छवि धुमिल पार्ने राजधानीका सडकको कुरा गर्दा काठमाडौं उपत्यका आवागमनको मुख्य नाका नागढुङ्गा–थानकोट सडकखण्ड किमार्थ छुट्न सक्दैन । विस्तारको क्रममा रहेको उक्त सडकखण्ड बिग्रिएर बेहाल बनेको महिनौँ भइसक्यो । त्यसले सिर्जना गर्ने सवारी जामले आमयात्रुलाई धुरुक्क पार्ने पीडादायी यथार्थ अत्यन्त बिझाउने सन्दर्भ बन्न पुगेको छ । तर, जड पहिल्याएर समस्या समाधान गर्ने सवालमा जिम्मेवार निकाय मौनप्रायः देखिन्छ । राजनीतिक नेतृत्वको मात्र नभई देशको सभ्यता वा नागरिकको चेतनास्तरकै धज्जी उड्ने–उडाउने विषय बनेर रहेको छ यो ।

दुर्घटनाको दोषीका रूपमा चालकले सडकलाई देखाउने र सडकका कर्मचारी एवम् प्रहरी–प्रशासनले चाहिँ चालकलाई औँल्याउने प्रवृत्ति यहाँ देखिँदै आएको छ । यसरी एकले अर्कोलाई औँल्याउने र यात्रुले सास्ती भोगिरहने, असामयिक मृत्युवहन गरिरहनुपर्ने कहिलेसम्म ? जवाफ खोज्न ढिलो भइसकेको छ । कसैले पनि एक–अर्काप्रति दोष पन्छाउँदैमा समस्या समाधान हुन नसक्ने यथार्थबोध सम्बद्ध सबै पक्षले गर्नुपर्छ । उच्च ओहोदामा रहेका, ख्याति कमाएका वा पहुँचवाल मानिस दुर्घटनामा परे जुर्मुराउने अन्यथा निदाउने राज्यको रवैयालाई निन्दा नगरिरहन सकिन्न । राज्यको निम्ति सबै नागरिक समान हुन् भने विकास तथा सेवा–सुविधा उपभोग गर्ने अधिकार पनि सबैलाई उत्तिकै हुन्छ, हुनुपर्छ । सबैभन्दा महŒवपूर्ण त आमनागरिकको जीवन पनि त्यत्तिकै अमूल्य हो जति ख्यातिप्राप्त वा ओहोदावालको ठानिन्छ । मूलतः राजनीतिक नेतृत्व वा राज्य यसप्रति अत्यन्त संवेदनशील हुनु अपरिहार्य देखिन्छ । दुर्घटना घट्दा जुर्मराउने दुई–चार दिनमा घटना नै बिर्सेर सुस्ताउने सरकारी रवैया अब नदोहोरियोस् ।
ghatana