संसदीय निर्वाचनका उम्मेदवार डा. कैनीद्वारा सहयोगको आह्वान

संसदीय निर्वाचनका उम्मेदवार डा. कैनीद्वारा सहयोगको आह्वान


bachchhu kailash kaini

लण्डन । आगामी जुन ८ का दिन बेलायतमा हुन गइरहेको संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट उम्मेदवार हुनुभएका नेपाली समुदायका डा. बच्चु कैलाश कैनी यतिबेला चुनाव प्रचारमा ब्यस्त हुनुहुन्छ । गत सातादेखि नै चुनावी प्रचारप्रसारमा होमिएको डा. कैनीको टिम डार्टफोर्ड निर्वाचन क्षेत्रमा रहेका करिब ४२ हजार घरधुरीमा बसोबार गर्ने लगभग ८० हजार मतदातासमक्ष विभिन्न माध्यमबाट पुग्नुपर्ने छ । चुनावअघि नै सबै मतदाताको घरमा प्रचार सामग्री पुर्याउनका लागि समय अत्यन्त कम रहेकोले सबै नेपाली समुदायको सहभागिताको लागि उहाँले हार्दिक अपिल गर्नुभएको छ ।

डार्टफोर्ड निर्वाचन क्षेत्रमा निश्चित क्षेत्रहरु पहिचान गरी घरदैलोमै पुग्ने उपक्रम सुरु गरिएको बुझिएको छ । जसअनुसार अहिलेसम्म लेबर पार्टीका सैयौँ सदस्य, पदाधिकारी र स्वयमसेवक यसमा सहभागी भएका छन् । लेबर पार्टीका सदस्यहरुलाई फोनबाट सम्पर्क गरी सहयोगको लागि अनुरोध गर्ने काम पनि भैरहेको डा. कैनीसम्बद्ध सुत्रले सुत्रले बतायो । बताइएअनुसार स्थानिय मतदातालाई पनि फोनबाट सम्पर्क गर्ने कार्यक्रम रहेको छ भने यो क्रम चुनावकै दिनसम्म जारी रहने छ ।

चुनाव प्रचारका लागि रेलवे स्टेसन, अस्पताल, पार्क, बिद्यालय, क्लब आदिको भ्रमण गरी मतदातासंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पनि डा. कैनीले बताउनुभएको छ । सबै नेपाली समुदायको सहभागितामा मे महिनाको २७ र २८ तारिख र जुनको ३ र ४ तारिखको दिन लिफलेट बाँड्ने काम गरिने छ भने चुनावको दिन (जुन ८) का दिन धेरै भन्दा धेरै स्वयंसेवक र पार्टी सदस्यहरुलाई सहभागी गराई हरेक मतदातालाई भोट हाल्न अनुरोध गरिने छ । आफ्नो विजय केवल आफ्नो निम्ति मात्र नभई समस्त नेपालीका लागि गौरवको विषय हुने भन्दै डा. कैनीले निर्वाचनमा व्यापक मात्रामा स्वयमसेवकहरुको आवश्यकता पर्ने हुनाले बेलायत बस्ने सम्पूर्ण नेपाली समुदायलाई उक्त दिन डार्टफोर्डमा उपस्थित भई सहयोग गर्न अपिल गर्नुभएको छ ।
– आर. के. त्रिपाठी