शिखरवासलाई मिनी भेडेटार बनाउने अभियान

शिखरवासलाई मिनी भेडेटार बनाउने अभियान


shikhar-bas

धरान उप–महानगरपालिका वडा नं २० स्थित शिखरबासलाई मिनी भेडेटार बनाउन स्थानिय बासिन्दा लागिपरेका छन् । साविक पाँचकन्या गाविस वडा नं ९ मा रहेको उक्त शिखर–वास (धरान नगरपालिका उप–महानगरपालिकामा स्तरोन्नती भएपछि हाल धरान २०)लाई स्थानिय निकेश राई, धन राई, कोशन राई, अमर राई र श्याम राई लगायतका युवाहरुले पर्यटकियस्थल धनकुटाको भेडेटारजस्तै मिनी भेडेटार बनाउन कम्मर कसेर लागिपरेका हुन् ।

धनकुटाको पर्यटकीय स्थल भेडेटारजस्तै छिनछिनमा मौसम बदली भइरहने शिखरबास समुन्द्री सतहबाट १ हजार ४५ मिटर उचाईमा रहेको छ । यस क्षेत्रमा राई जातिको मात्र बसोबास रहेको छ । जसमा ३५ घरधुरी रहेका छन् भने यहाँका अधिकांश बासिन्दाहरु अदुवा, बेसार, स्कुस लगायतका मौसमी तरकारीको खेती गरि जिविकोपार्जन गर्दै आएका छन् ।

धरानको जिरोप्वाइन्टबाट ७ किलोमिटर उत्तरमा अवस्थित शिखरबास कोशी राजमार्गको धरान–भेडेटार सडकखण्डमा पर्ने निसानेबाट १७ सय मिटरको दुरीमा पर्दछ । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेर पनि ओझेलमा पर्दै आएको यस गाउँका युवाहरुले विगत ७ वर्ष लगाएर बाटोको ट्रयाक खुलाएपछि स्थानीय बासिन्दाले यातायातको सुविधा पाएका छन् । साना ट्याक्सी, जिप चल्ने बाटो बनेपछि शिखरबास पर्यटकहरुको आकर्षक गन्तव्य पनि बन्दै गइरहेको छ । ट्रयाक खोलेपछि धेरै नै आन्तरिक पर्यटकहरु त्यहाँ पुग्न थालेका छन् । कोशी राजमार्ग निर्माण हुनुपुर्व धनकुटा, तेह्रथुम, ताप्लेजुङका बासिन्दाहरु धरान आउँजाउ गर्न शिखरबासकै गोरेटो बाटो प्रयोग गर्ने गर्थे ।

धनकुटाको पर्यटकिय स्थल भेडेटारजस्तै शिखरवासको पूर्वमा भालुखोला पश्चिममा निशाने डाँडा र शर्दुखोला बीचमा अमलाडाँडालाई प्वाईन्ट बनाउँदा ठ्याक्कै भेडेटार जस्तै देखिने गरेको स्थानीय एवं सडक निर्माण उपभोक्ता समितिका सल्लाहकार अमर राई बताउँछन् । उनले बाटोको स्तरोन्नती गरेपछि पर्यटनपुर्वाधार विकास गरेर शिखरबासलाई पर्यटकीय गन्तव्य बनाउन जुटेको जानकारी दिए । यस क्षेत्रबाट धरान शहर, तराईको जिल्ला, कोशी ब्यारेज र मौषम खुलेको बेला मकालु, सगरमाथा र कञ्चनजंगा हिमाल पनि देख्न सकिन्छ ।

उपभोक्ता समिति गठन गरेर स्थानीयले ०६५ सालदेखि धरान–धनकुटा सडक खण्डमा पर्ने निसानेबाट ट्रयाक खोल्न शुरु गरेका थिए । निसाने, डुम्रे, शिखरबास हुँदै ०७२ सालमा पुनः कोशी राजमार्गको छोटीमोरङमा जोडिएको यो सडकको दुरी ३ हजार ४ सय २१ मिटर रहेको छ । बोलीचालीको भाषामा यस क्षेत्रलाई शिखरबास भनिए पनि यो ठाउँको खास नाम शिकारबास हो । सडक निर्माण उपभोक्ता समितिका सचिव श्याम राईले पौराणिक कथा अनुसार त्रेता युगमा राम र लक्ष्मण शिकार खेल्दै यो ठाउँसम्म आइपुगी दुवैले शिकार खेलेर बास बसेका हुनाले यो ठाउँलाई शिकारबास भनिएको किवंदन्ती रहेको बताए।यसरी शिकारबास हुँदै पछि अपभ्रंसभएर शिखरवासभएको भनाई रहिआएको छ।

sachib-shyam-rai

गत साल जिल्ला विकास समिति, धरान उप–महानगरपालिका र सभासद कोषबाट सडक मर्मत गरिए पनि यसपटकको बजेटमा यस सडक रेडबुकमा परेको सचिव राईले बताए । उनले बाटो मुख्य समस्या भएकोले स्तरोन्नति गर्ने र गुरुयोजना बनाएर पर्यटन विकास गर्न सम्पुर्ण शिखरवासी लागि परेको समेत बताए । सचिव राईका अनुसार स्थानिय बासिन्दा अहिले पर्यटन तथा प्रवद्र्धन विकास समिती गठन गरि चाँडै नै पर्यटन विकास बोर्डमा डेलिकेसन जानका लागि तयारीमा लागि परेका छन्।साथै उनले यस क्षेत्रमा भ्यु टावर, सुविधा सम्पन्न लज, सेमिनार हल, पिकनिक स्पट निर्माण गर्ने लक्ष्य रहेको समेत जानकारी दिए । त्यसो त उनी आफु पनि आफ्नो व्यक्तिगत लगानीमा भएपनि यही वर्षदेखि पिकनिक स्पट र आल्मुनियमको भ्यू टावर बनाउने तयारीमा लागि परेको बताए । यस शिखरवासमा गोर्खा वेल्फेयर स्किम (जिडब्लुएस) बाट अबको ६ महिनामा खानेपानी योजना समेत शुरु हुने भएको छ। हाल यसक्षेत्रका बासिन्दाले जोरधाराबाट पानीको अभावलाई पूर्तिगर्दै आईरहेका छन् ।

त्यस्तै पर्यटकिय सम्भावनाको प्रचुरमात्रामा सम्भावना रहेको यस क्षेत्रका बालबालिकाहरु पढ्नका लागि विद्यालयभने छैन। विद्यालय पढ्नका लागि डेढ घण्टाको दुरीमा रहेको धरान १३ फुश्रे स्थित सरकारी विद्यालय पव्लिक मावि पुग्नुपर्ने र निजी बोर्डिङको लागि अमरहाटस्थित सुनगाभा बोर्डिङ स्कुल पुग्नुपर्ने बाध्यता रहेको छ भने स्वास्थ्य सेवा लिनका लागि नजिकै हेल्थपोष्ट नभएका कारण धरान नै पुग्नुपर्ने हुन्छ ।

स्वास्थ्य शिक्षाबाट अलि टाढा रहेपनि यस क्षेत्रका बासिन्दाहरु भने पर्यटन प्रवद्र्धन गरि आफ्नो ठाँउलाई धनकुटाको भेडेटार जस्तै चिनाउन मिनी भेडेटार बनाउने अभियानमा लागि परेका छन् ।

– मनिता चाम्लिङ