वैदेशिक रोजगारीमा जानुअघि सीप सिक्न राजदूतको आग्रह

वैदेशिक रोजगारीमा जानुअघि सीप सिक्न राजदूतको आग्रह


11 PR News Pic

नेपालका लागि भारतीय राजदूत रणजित रायले सीप नसिकी विदेशमा रोजगारीका लागि जाँदा नेपाली युवाले सस्तो मूल्यमा श्रम बेच्न बाध्य हुनुपर्ने अवस्थाका कारण सीपमूलक शिक्षा आवश्यक रहेको आँैल्याउनुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ नुनथलामा मित्रराष्ट्र भारतको सहयोगमा निर्माण भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको प्राविधिक प्रयोगात्मक कार्यशाला भवन उद्घाटन गर्दै राजदूत रायले यस्तो धारणा अघिसार्नुभएको हो ।

सो इन्स्टिच्युटको तीनतले बिल्डिङ भवन निर्माणका लागि भारतीय दूतावासबाट चार करोड ४१ लाख ३२ हजार ६ सय सहयोग प्राप्त भएको छ । इन्स्टिच्युटका लागि आवश्यक भवन बनाउन भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईं र इन्स्टिच्युटका प्रिन्सिपल अम्बरदीप देवकोटाबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता भएअनुरूप इन्स्टिच्युटको कक्षाकोठाको भवन आगामी १५ महिनाभित्र निर्माण सम्पन्न गरिनेछ ।

इन्स्टिच्युटको आन्तरिक स्रोत तथा केही दातृ निकायको सहयोगमा प्रयोगात्मक कार्यशालाको भवन बनाइएको र भवन बनाउन पाँच लाख मूल्यबराबरको सामान नेपाल–भारतमैत्री समाज काठमाडौंले तथा अस्ट्रेलियाबाट रोटरी क्लबले सुविधायुक्त सामानको सहयोग गरेको इन्स्टिच्युटका प्रिन्सिपल अम्बरदीप देवकोटाको भनाइ छ ।

11 PR Sindhuli
यसैबीच उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपाल–भारतको सीमावर्ती क्षेत्रका जनताका समस्या समाधानका लागि दुवै देशको पहलको खाँचो औँल्याउनुभएको छ । जागृति नेपाल नामक संस्थाद्वारा आयोजित ‘नेपाल–भारतको सम्बन्ध र सीमावर्ती क्षेत्रका जनताको समस्या’ विषयको कार्यशालामा नेपालका लागि भारतीय राजदूत रणजित रायले खुला सिमानाको समाधान गर्न संयुक्त विकास योजनाको कार्यान्वयनको आवश्यकतामा जोड दिनुभयो । सोही कार्यक्रममा पूर्वराजदूत शिवशङ्कर मुखर्जीले नेपालमा परिवर्तनअनुरूपको आशाले मूर्तरूप लिन नसकेको प्रसङ्ग उल्लेख गर्नुभयो । संस्थाका कार्यकारी निर्देशक विजयकान्त कर्णको अध्यक्षतामा भएको सो कार्यशालामा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले समेत मन्तव्य दिनुभएको थियो भने काङ्ग्रेस नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको व्यवहार र असुरक्षाका कारण वैवाहिक सम्बन्धमा कमी आएको औँल्याउनुभएको थियो ।