‘विवाह’ शब्द नै बिर्सन चाहन्छिन् मनीषा

‘विवाह’ शब्द नै बिर्सन चाहन्छिन् मनीषा


Manisha-Koirala 5

क्यान्सरको घातक प्रहारबाट जोगिएर नियमित जीवनचर्यामा अभ्यस्त बन्न पुगेकी प्रख्यात वलिउड अभिनेत्री मनीषा कोइराला आफ्नो ‘दोस्रो जुनी’लाई अथक रूपले कर्ममा समर्पित गर्न चाहन्छिन् । अब फिल्मप्रति पूरै समर्पित भएर अघि बढ्ने योजनामा रहेकी मनीषा ‘डियर माया’ नामक फिल्ममार्फत पुनर्वापसी गर्दै छिन् । ‘डियर माया’ मनीषाकै जीवनसँग मिल्दोजुल्दो कथामा बनेको फिल्म हो, जसमा उनले क्यान्सरसँगै झेलेका, भोगेका र अनुभूत गरेका कुराहरू मूल रूपमा दर्शाउने प्रयत्न गरिएको बताइन्छ । यस फिल्मप्रति उनी अत्यन्त उत्साहित रहेकी छिन् ।

विवाह भन्ने शब्द यतिबेला मनीषाको निम्ति झर्कोलाग्दो बन्न पुगेको छ । बिहेबारे अब आफूले सोच्न पनि नसक्ने, ‘विवाह’ भन्ने शब्द नै बिर्सन चाहने र कुनै रिलेसनसिपमा पनि नपर्ने उनी खुलासा गर्छिन् । ज्ञातव्य के छ भने केही महिनाअघिसम्म मनीषाले उचित प्रस्ताव आएमा विवाहबारे सोच्न आफू तयार रहेको बताउने गरेकी थिइन् । बालबालिकालाई धर्मसन्तान बनाएर आफूसँग राख्ने धोको बाल्यकालदेखि नै आफूभित्र रहेको र त्यो अझै कायम रहेको पनि मनीषाको कथन छ । क्यान्सरले आफूलाई जीवनबारे धेरै कुरा सिकाएको बताउँदै आएकी मनीषा एक्लै जन्म लिएको मानिस एक्लै नै पूर्ण हुने दाबी गर्छिन् । आफ्नो जीवन अब धेरै अघि बढिसकेको र एक्लै रहेर नै लक्ष्य हासिल गर्ने उनको दाबी छ । काम नै कामसँग घेरिएर रहने र सक्दो समाजसेवा गर्ने मात्र आफूसँग धोको बाँकी रहेको मनीषाको भनाइ छ ।