विकल्पको अभावले काङ्ग्रेस नै उपयुक्त

विकल्पको अभावले काङ्ग्रेस नै उपयुक्त


damodar paudel

– दामोदर पौडेल

मुसलमान लडाकु समूहहरूको विरुद्धमा लड्न क्यानडाकी सुपर स्टारसमेत सेनामा भर्ती भएर दुई वर्ष युद्धमा सामेल भएर पुनः आफ्नै काममा फर्किएकी छिन् । मुसलमान लडाकुहरू महिलाको हातबाट मरिएमा जहन्नुम (नरक) पुग्ने विश्वास गर्दा रहेछन् । त्यसैले उनीहरू महिला सेना वा लडाकुको आम्नेसाम्ने लड्न नचाहने वा होसियार हुने रहेछन् । लोकतन्त्र र कुनै पनि नामका धार्मिक वा राजनीतिक नाम भएका सर्वसत्तावादी विचारसमेतमा एउटा भिन्नता छ । त्यो हो– एमालेका कार्यकर्ताले नबुझेको जस्तै र उनीहरूले बुझ्नुपर्नेमध्येको र एमाले अध्यक्ष केपी ओलीले भनेको एक विषय । यो संविधानसभाको दोस्रो चुनावपछि राष्ट्रपति, प्रधानमन्त्रीसमेत चुनिँदाताकाको कुरा हो । ओलीको आसय थियो कि काङ्ग्रेससँग एमालेको ठूलो विमति छ, काङ्ग्रेस एमालेलाई पेलेर जान चाहन्छ, तर काङ्ग्रेस एउटा लोकतान्त्रिक शक्ति भएकाले यो देशका लागि आवश्यक शक्ति हो । तर, व्यवहारमा त्यस्तै छैन । त्यसैले दलहरू र जनतामा दैवी र लौकिक भ्रम भएसम्म वा भ्रम दिएर बाँच्ने मानसिकता भएसम्म समस्याको समाधान हुँदैन ।

मेरो एमालेका कार्यकर्ताहरूसँग दोस्रोपटक भएको संविधानसभाको चुनावताका जम्काभेट भएको थियो । उनीहरूले भने एमाले नै बहुलवादी र एमाले नै लोकतन्त्रवादी तथा एमाले नै समानता र विकास दिने भन्ने प्रस्ट भएपछि काङ्ग्रेसको के नै औचित्य रह्यो र ? त्यसैले अब एमालेको मात्र यो देशमा भविष्य छ । उनीहरूले लोकतन्त्रको मर्म नबुझेको र त्यसलाई ओली र एमाले सचिव पोखरेलजस्ता लोकतन्त्र र बहुलवादको मर्म बुझेका नेताहरूले बुझाउन अझै नसकेकोजस्तो लाग्दछ । जतिसुकै लोकतन्त्रवादी भएर पनि विपक्षी दल नभएपछि मानवीय कमजोरी, कार्यकर्ताहरूको अनावश्यक घेरा आदिले गर्दा तानाशाही परिपाटी तयार हुन्छ । त्यसले गर्दा भ्रष्टाचार, लालफित्ताशाही, बेइमानी, गरिबको अहित आदि हुने हुँदा लोकतन्त्र र जनताको शासन चाहनेले जहिले पनि बलियो विपक्षीको चाहना गर्नैपर्छ । त्यो विपक्षी व्यवस्थाको कम्पोनेन्ट हुन्छ र लोकतन्त्रको पर्याय हुन्छ । आफूलाई राम्रो काम गर्ने ऊर्जा प्राप्त हुन्छ र नराम्रो गर्न नदिने माध्यम हुन्छ । मुसलमान विद्रोहीको जस्तै विपक्षी नभएमा वा उनीहरूको कुरा नसुनिएमा राजनीतिमा पनि आफ्नै विचार मात्र राम्रो भन्ने र अरूप्रति असहिष्णु भन्ने प्रवृत्ति सुरु हुन्छ ।

सरकारी पैसा कि बन्दुक चलाउनमा लगाउने या घुस खाने कर्मचारीतन्त्रमा लगाउने गर्दा जनतालाई भड्काउन सजिलो भएको हो । एक लाख रुपैयाँ लाग्ने कर्मचारी एवम् प्रहरीमा गर्ने खर्च प्रतिमहिना पाँच हजार गरेर गरिबलाई स्वरोजगारी, खेतीमा अनुदान, पेसामा घाटा भए बिमाजस्ता कार्य गर्ने हो भने एक कर्मचारी वा सुरक्षाकर्मीको खर्चले २० जना बेरोजगारलाई रोजगारी दिन सकिन्छ ।

नेपाली काङ्ग्रेसको मूल लक्ष्य नै प्रतिपक्षीसहितको शासन प्रणाली हो । यही कारणले काङ्ग्रेसको सैद्धान्तिक आधार बलियो छ भनिएको हो र काङ्ग्रेसको सैद्धान्तिक भोटबैंक जहिले पनि कायम रहन्छ पनि भनिएको हो । सचेत जनताले यो तथ्यलाई बुझेको हुन्छ । अझ लोभ नभएको सचेत नागरिकले त यसलाई आफ्नो आदर्शको हिस्सा नै बनाएको हुन्छ । त्यही मर्मलाई ओली तथा पोखरेल आदिले आत्मसात् गर्न खोजेका हुन् । तर, सैद्धान्तिक रूपमा माक्र्स, एङ्गेल्स्, स्टालिन, लेनिन, माओ आदिलाई प्राधिकार मानेसम्म उनीहरूलाई लोकतन्त्रवादी भन्न कठिन हुन्छ । किनकि उनीहरूले कम्युनिस्ट पार्टी नै जनताको एक मात्र पार्टी हो र देशमा एउटा मात्र सच्चा कम्युनिस्ट पार्टी हुन्छ भन्दै अधिनायकवादलाई आदर्श मानेका छन् । र, त्यही कारणले स्वतन्त्रता र समानता तथा विकास चाहने सचेत व्यक्तिले कम्युनिस्टसमेतका विचारलाई लोकतन्त्रको पक्षमा पुनर्भाषित गर्नुपर्ने र सो नहुँदासम्म काङ्ग्रेस कहिलेकाहीँ बाध्यताकै छनोट भए पनि उपयुक्त भएको मान्ने गरेको देखिन्छ । किनभने जनताको हितका लागि लोकतन्त्र र अधिनायकवाद एउटा नदीका दुुईवटा किनार हुन् । तर, जनताले त्यो सत्य बुझ्न सक्नुप¥यो । त्यसका लागि सचेतना चाहिन्छ । महसुस गर्न सक्नुप¥यो, त्यसका लागि विकास र समानताको फ्युजन हुनुप¥यो । यो सिद्धान्तको कुरा मात्र पनि होइन, व्यवहार पनि हो ।

लोकतन्त्रलाई बलियो बनाउन प्रशासनिक झन्झटको साङ्लो थप्ने होइन अन्त्य हुनुपर्छ । एक मात्र उदाहरण दिँदा देशमा नगरपालिका बनाउने होड चलेको छ । जग्गा र घरको मूल्याङ्कन बढेको छ । कतिपय स्थानमा निश्चित जग्गाको स्थानीय मूल्य एक लाख छ भने मूल्याङ्कन पाँच लाखभन्दा पनि बढी छ । मूल्याङ्कनअनुसारको कर दस्तुर तिर्ने पीडा जनतालाई छ । अर्कोतर्फ मूल्याङ्कन गर्ने, बाटो आदि भएको प्रमाणित गर्ने स्थानीय निकाय, मालपोत, नापीका कर्मचारीको कामका लागि जनशक्ति धेरै चाहिएको छ र घुस चलेको छ । यसको समाधानका लागि जग्गा किनबेच गर्नेले जति मूल्य राखेर पनि किन्न–बेच्न पाउने, तर एक महिनासम्म नामसारी नहुने र एक महिनाभित्रमा २५ प्रतिशतभन्दा बढी मूल्य कोही दिन आएमा त्यसैको नाममा नामसारी हुने र किन्नेको पैसा फिर्ता हुने व्यवस्था गर्ने हो भने स्वचालित किसिमले समस्या समाधान हुन्छ । त्यसका लागि सँधियारहरू, छिमेकीहरू, स्थानीय निकाय तथा सञ्चारमाध्यममा जानकारी दिने व्यवस्था हुन सक्दछ । यसबाट धेरै कर्मचारीलाई अरू काममा लगाउन सकिन्छ, भ्रष्टाचार कम गर्न सकिन्छ ।
नेताहरू तानाशाही शक्ति र भ्रममा रहनेहरूलाई प्रहरी थपेर ठीक गर्ने सोच्छन् भने त्यो ठीक होइन । एउटा प्रहरीको मासिक खर्च तालिमदेखि पेन्सन पाउँदासम्मको हिसाब गर्दा १ लाख रुपैयाँ प्रतिमहिनाभन्दा बढी पर्दछ । युवाहरू बेरोजगार भएकाले, बच्चा बिरामी हुँदा औषधि नपाएकाले, घरमा गरेर खाने बाटो नभएकालेसमेत बन्दुक बोक्ने वातावरण बनेको हो । आवश्यकता त उनीहरूको जनजीविकाको परिपूरणको वातावरण हो ।

सरकारी पैसा कि बन्दुक चलाउनमा लगाउने या घुस खाने कर्मचारीतन्त्रमा लगाउने गर्दा जनतालाई भड्काउन सजिलो भएको हो । एक लाख रुपैयाँ लाग्ने कर्मचारी एवम् प्रहरीमा गर्ने खर्च प्रतिमहिना पाँच हजार गरेर गरिबलाई स्वरोजगारी, खेतीमा अनुदान, पेसामा घाटा भए बिमाजस्ता कार्य गर्ने हो भने एक कर्मचारी वा सुरक्षाकर्मीको खर्चले २० जना बेरोजगारलाई रोजगारी दिन सकिन्छ । युवाहरू देशको निर्माणमा र आफ्नो जीवनवृत्तिमा लाग्छन् । यो लोकतन्त्रको मर्म हो । जनतालाई गरिब बनाउने र पीडित भएर बन्दुक उठाउँदा प्रहरी लगाएर मार्ने गरेर लोकतन्त्र बचाउन सकियो भने त्यो लोकतन्त्र गरिबका लागि होइन, धनी, कर्मचारी र नेताहरूको लोकतन्त्र हुन्छ । देशको बजेटलाई गरिबमुखी र स्वरोजगारमुखी नबनाएसम्म लोकतन्त्र बलियो हुँदैन । लोकतन्त्र कमजोर हुने कारण भ्रष्टाचार र कर्मचारी प्रशासनमा भएको खर्चले जनताको हित गर्न नसकिएकाले पनि हो । तर, जनतालाई गुमराहमा पार्न प्रान्त छुट्याउने, धर्मको कुरा गर्ने, गाईका सम्बन्धमा विवाद गर्ने गरिएका छन् । तर, समस्या विश्वकै गरिब जनताका समान छन् ।

लोकतन्त्र जनताको नभएर नेता, कर्मचारी आदिको हुने गरेको छ । लोकतन्त्र जनताको बनाउन सबैभन्दा पहिला जनताको जीवनस्तर उठाउन प्राथमिकता दिनुपर्छ, कर्मचारीको तलब, सङ्ख्या र अन्य पक्षका सुविधाहरू होइन । जनतालाई गरिबीले परेको असर र त्यसको कारणले आएको वितृष्णा रोक्न बन्दुक होइन, गरिबीको अन्त्य चाहिएको छ ।

भ्रममा रहेका जनताले काङ्ग्रेसबारे, लोकतन्त्रका सम्बन्धमा र अन्य विपक्षी दलहरूका लक्ष्य पूरा भएमा हुने परिणतिका सम्बन्धमा जानकारी पाउन सके भने लोकतन्त्र नै बलियो हुन्छ । त्यसैले काङ्ग्रेसले जनतामा आफ्नोविरुद्धमा दिएका भ्रम कम गर्ने, जनतालाई सत्य बताउने, लोकतन्त्रको आवश्यकता र भ्रमका सम्बन्धमा जनतालाई सचेत गर्ने तथा जनताका आवश्यकता सम्झनुपर्छ । त्यसका लागि जनतामा जान र राम्रोसँग काम गर्न सक्नुपर्छ । त्यो भएको छैन । काङ्ग्रेस चुनावमा मात्र तात्छ र जनताले आफैँले बुझेकाले लोकतन्त्रको पक्षमा मत दिँदा काङ्ग्रेसलाई मत आउँछ ।