वलिउड प्रवेशको तयारीमा ‘स्टार किड्स’

वलिउड प्रवेशको तयारीमा ‘स्टार किड्स’


Bollywood

वलिउडमा हरेक वर्ष कुनै न कुनै ‘स्टार किड’ (फिल्म स्टारका सन्तान) नयाँ कलाकारको रूपमा प्रवेश गरिरहेका हुन्छन् । पारिवारिक व्यवसायकै रूपमा प्रायजसो वलिउड कलाकारले आफ्ना बच्चालाई फिल्मी पर्दामा उतार्ने गर्दछन् । कैयन पिँढीदेखि नै यो सिलसिला चल्दै आएको छ । यसै क्रममा केही स्टार किड्स सोसल मिडियामा फ्यान फलोइङका साथ वलिउड प्रवेशको होडमा जुटेका छन् । को–को छन् त तत्काल वलिउड प्रवेश गरेर आफ्नो भाग्य र भविष्यको फैसला गर्न तम्तयार स्टार–सन्ततिहरू ? जानौँ तीमध्येका मुख्य पात्रका नाम ।

आर्यन खान : वलिउडका वादशाह भनेर चिनिएका शाहरूख खानका पुत्र आर्यन १८ वर्षका भए । हाल लन्डनमा अध्ययन गरिरहेका आर्यन बाबुको उत्तराधिकार सम्हाल्न तम्तयार भइसकेका छन् । उनको वलिउड प्रवेशको तीव्र प्रतीक्षा गरिएको छ ।
नव्या नवेली : मेगा स्टार अमिताभ बच्चनकी पुत्री श्वेताले त आफूलाई वलिउडको चमकदमकबाट अलग्गै राखिन् । र, उनकी छोरी अर्थात् अमिताभकी नातिनी नव्या भविष्यमा एक निकै प्रतिभाशाली अभिनेतृ बन्ने सम्भावनाका साथ वलिउड प्रवेश गर्ने सम्भावना तीव्र रहेको बताइएको छ । नव्या पनि हाल लन्डनमा अध्ययनरत छिन् । शाहरूखका छोराकै व्याचकी नव्या आर्यनकी मित्र पनि हुन् ।
जान्हवी कपुर : एक जमानाकी सुप्रसिद्ध हिरोइन श्रीदेवी र बोनी कपुरकी पुत्री जान्हवी अब ठूली भइसकेकी छिन् । सोझै वलिउड प्रवेश गर्नुअघि जान्हवी आफ्नी आमाकै अनुशरण गर्दै दक्षिण भारतीय सिनेमाबाट आफ्नो भाग्य परीक्षा गर्ने सुर कस्दै छिन् । मलयालम फिल्मका सुपरस्टार ममुटीका पुत्र दल्किरको साथ जान्हवीलाई छिट्टै फिल्मीपर्दामा देख्न पाइनेछ ।
जुनैद खान : अमिर खानका जेठा पुत्र जुनैद पनि बाबुको बिँडो थाम्न कस्सिएका छन् । हाल फिल्म निर्माणसम्बन्धी पढाइ गरिरहेका जुनैद आफ्ना बाबुजस्तै परफेक्सनिस्ट छन् भने राजकुमार हिरानीको फिल्म पिकेमा असिस्ट गरिसकेका उनी छिट्टै हिरोका रूपमा देखापर्दै छन् ।
सारा अली खान : सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान यतिबेला कोलम्बिया युनिभर्सिटीमा अध्ययनरत छिन् । पढाइ सकिनेबित्तिकै वलिउड प्रवेश गर्ने उनको धोको छ । ख्यातिप्राप्त निर्देशक करण जौहरले सारालाई नायिकाको रूपमा लन्च गर्दै छन् ।
हर्षबद्र्धन कपुर : सोनमका भाइ अर्थात् अनिल कपुरका पुत्र हर्षबद्र्धन हालै मात्र अमेरिकाबाट एक्टिङ तथा स्क्रिनप्लेसम्बन्धी अध्ययन पूरा गरेर भारत फर्केका छन् । राकेश ओमप्रकाश मेहराले हर्षबद्र्धनलाई आफ्नो आगामी फिल्मबाट वलिउड प्रवेश गराउँदै छन् । आफ्ना बाबु र दिदीजस्तै हर्षले आफूलाई वलिउडमा जमाउन सक्न हुन् वा होइनन्, त्योचाहिँ प्रतीक्षाकै विषय बनेको छ ।