लोकतन्त्रकै उपहास !

लोकतन्त्रकै उपहास !


Mahendra Parajuli

– ई. महेन्द्र पराजुली

काङ्ग्रेसका नेता–कार्यकर्ता र मतदाताको हिमालझैँ उच्च शिर आज झुकेको अनि निहुरिएको छ । पहाडजस्तो छाती छिया–छिया भएको छ । जयनेपाल गर्नुपर्ने हातले माओवादी केन्द्रको हँसिया समाई रूखको हाँगा काट्नुपरेको छ । चारताराअङ्कित झन्डा बोक्नुपर्ने काँधमा माओवादी केन्द्रको गरुँगो हथौडा बोक्दै सोही हथौडाले काङ्ग्रेसको घर भत्काउनुपरेको छ ।

संविधान संशोधन, प्रहरी महानिरिक्षक नियुक्ति प्रकरण, सर्वाेच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको अन्तरिम आदेश र दलहरूबीचको चुनावी तालमेल र गठबन्धनसम्बन्धी समाचारले राम्रै स्थान पाए यो महिना सञ्चारमाध्यम र सामाजिक सञ्जालमा । प्रतिशोध, उतार–चढाव, निशेध र समीकरणको राजनीतिले मल्लकाल, शाहकाल, राणाकाल हुँदै लोकतन्त्रमा पनि निरन्तरता पायो ।

लोकतन्त्रको मुख्य आधार दलीय प्रतिस्पर्धा भए पनि मध्यमार्गी नेपाली काङ्ग्रेस, उग्रकम्युनिस्ट पार्टी र उग्र दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टीहरूबीच स्थानीय निर्वाचनमा देखिएको तालमेल र गठबन्धनले दलीय सिमाना बाँकी रहेन । आममतदाता, कार्यकर्ताको चाहना र भावनाविपरीत मूल्य र मान्यताको राजनीतिलाई पाखा लगाउँदै लक्षमणरेखा पार गरे दलहरूले । असमान सिद्धान्त र विचार बोकेका पार्टीबीच चुनावी तालमेल अस्वाभाविक हो, यो पार्टीहरूमा आएको विचलन र स्खलन पनि हो । तालमेल बाध्यताको उपज हो र ? के सन्देश प्रवाह ग¥यो यसले आममतदातालाई ? औचित्यको पुष्टि गर्न सक्नुपर्छ दलहरूले । समान सिद्धान्त र विचार बोकेका दलबीचको गठबन्धन र तालमेललाई स्वाभाविक मानिन्छ । नेपाली जनताको सात दशक लामो चाहना, गणतन्त्र र लोकतन्त्र प्राप्तिपछि जनता रैती र प्रजाबाट नागरिक भए । तर, विडम्बनना नै भन्नुपर्छ लोकतन्त्रको प्रयोगमा भने हामी चुक्यौँ । झुटा र खोक्रा आश्वासनको पुलिन्दा बनेका घोषणापत्र जारी गर्दै देशका ठूला दलले चुनावी तालमेल गर्नु भनेको लेकतन्त्रकै उपहास गर्नु नै हो । यसतर्फ गम्भीर भएर सोच्न जरुरी छ दलहरूले ।

निर्वाचनमा हार र जित त हुन्छ नै । निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गर्न सक्नुपर्छ । आवधिक निर्वाचन पहिलो सर्त हो लोकतन्त्रमा । अहिले भएको स्थानीय तहको निर्वाचनको सुनिश्चिता ऐनले नै सुरक्षित गर्ने हुँदा आफ्नो दलको पराजय भए पनि पाँच वर्ष पर्खने धैर्य गर्न सक्दैनन् र ठूला दल भनाउँदाले ? सत्तामोह र अस्थिर चरित्र प्रदर्शन गर्दै, सत्ता आरोहणका लागि पार्टीको मूल नीति, विचार र आदर्शलाई परित्याग गर्दै गैरप्रजातान्त्रिक चरित्र प्रदर्शनको दलहरूले ।

सिद्धान्तविहीन राजनीति, श्रमविहीन सम्पत्ति, विवेकविहीन भोगविलास, चरित्रविहीन शिक्षा, नैतिकताविहीन विज्ञान र त्यागविहीन पूजालाई महात्मा गान्धीले पापसँग तुलना गरेका छन् । सिद्धान्तविहीन भएर दलहरूले गरेको राजनीतिको पाप धुरीबाट कहिले कराउने हो ? पापको अंश कसले कति बोक्नुपर्ने हो ? पापमुक्त हुन कति समय लाग्ने हो, त्योचाहिँ उनीहरूकै व्यवहारमा भर पर्नेछ ।

निर्वाचन भड्किलो, खर्चिलो बन्दै गएको पृष्ठभूमिमा उम्मेदवार चयनमा धनबल र पाखुरीबलले नै प्राथमिकता पाएको चर्चा चल्यो । पार्टीनेताका निवास, क्षेत्रीय जिल्ला तथा केन्द्रीय कार्यालयमा जम्मा भएको भीडले माछाबजारकै झल्को दिन्थ्यो । दलहरू फुटपाथे नाङ्ले व्यापारी भए । राणाहरूले गर्ने पजनीजस्तै भयो दलहरूको टिकट वितरण । घुम्नेमेचको अन्धोमान्छेजस्तै बने प्रमुख भनिएका तीनै दलका शीर्ष नेताहरू पनि ।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै दल एकै शक्तिकेन्द्रबाट सञ्चालित र परिचालित भए । देशको राजधानीजस्तो महत्वपूर्ण अर्थ राख्ने काठमाडौंै महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेर एमालेले प्रमुख तथा उपप्रमुख दुव ैपदमा महिला उम्मेदवार नदिएर महिलाको अपमान गर्दै समानुपातिक र समावेशी सिद्धान्तको उपहास गर्दै लज्जास्पद व्यवहार देखायो । महिला हक र अधिकारको चर्काे कुरा गर्ने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यकारी पदलाई पुरुषमैत्री बनाउँदै महिलाका पीडामा नुन–चुक लगाउने काम गरे । कमल थापाको पार्टीलाई भोट हाल्नु थियो भने पञ्चायती व्यवस्था किन फाल्नुपरेको थियो र ? स्मरण रहोस्– २०३७ को निर्दल र बहुदलबीचको जनमतसङ्ग्रहमा त्यसबेलाको माले अहिलेको एमालेले पञ्चायतलाई जिताउन सहयोग पु¥याएको थियो ।

कुनै समय टाउकाको मोल तोक्ने र टाउको काट्ने शृङ्खलाका पात्र हाल सत्ता गठबन्धनका मुखिया पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवाले गरेको कथित चुनावी तालमेललाई स्वाभाविक मान्न तयार छैनन् काङ्ग्रेसका नेता तथा कार्यकर्ता । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेपछि प्रचण्डका लागि भरतपुर मेयरको निर्वाचन प्रतिष्ठाको विषय बन्यो । ०५२ देखि ०६२ सम्म प्रचण्डको अनुहारमा दानवको रूप देख्ने सत्ता दाउपेचका माहिर खेलाडी देउवाले ‘यु टर्न’ गर्दै उनै प्रचण्डको अनुहारमा ०७४ मा देवरूप देखी प्रचण्डको आरती उतारिरहेका छन् । प्रचण्डको दानवरूपी सक्कली रूप फेरि कुन बेला प्रकट हुने हो त्यसको हेक्का राख्न सकेका छैनन् देउवाले । प्रचण्डपुत्रीका लागि मैदान खाली गरिदिँदै मेयरसँग प्रधानमन्त्रीको पद साटे देउवाले । यसको ठूलै मूल्य चुकाउनुपर्नेछ देउवाले । देउवा र दाहालका हुक्के, बैठके, द्वारपाले अनि हली, गोठाला र बँधुवा मजदुर होइनन् नेता–कार्यकर्ता चेतना भया दाहाल र देउवालाई ।

ब्यालेटमा होइन बुलेटमा मान्यता राख्ने ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ ०५२ फागुन १ गतेबाट जनयुद्धको सुरुवात गरी ०६२ मा शान्ति प्रक्रियामा आए पनि द्वन्द्वकालीन प्रवृत्ति र धङधङीबाट मुक्त हुन नसकेको, अस्थिरतामा लाभ खोज्ने, ढुलमुले चरित्र र सत्ताको लोभ गर्ने माओवादी केन्द्र, दूध नदिने थारो भैँसी अनि नब्याउने बैली बाख्रो र डोकामा दूध दुने, असहिष्णु र उग्रराष्ट्रवादको नारा दिँदै अतिवादी सोच राख्ने, देशको एकता र सामाजिक सद्भाव खलबल्याउँदै प्रतिशोधको राजनीति गर्ने एमाले, अवसरवादी, सत्ताको राजनीति गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र सामाजिक परिवर्तनको प्रेरक र संवाहक, लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको नेपाली काङ्ग्रेस नेतृत्वले पार्टीको सिद्धान्त विचार र आदर्शलाई त्याग्दै, इम्पेरियर न्यु क्लोथको बादशाहझैँ नागिँदै बादशाहकै पङ्क्तिमा आफूलाई दर्ज गराए ।

काङ्ग्रेसका नेता–कार्यकर्ता र मतदाताको हिमालझैँ उच्च शिर आज झुकेको अनि निहुरिएको छ । पहाडजस्तो छाती छिया–छिया भएको छ । जयनेपाल गर्नुपर्ने हातले माओवादी केन्द्रको हँसिया समाई रूखको हाँगा काट्नुपरेको छ । चारताराअङ्कित झन्डा बोक्नुपर्ने काँधमा माओवादी केन्द्रको गरुँगो हथौडा बोक्दै सोही हथौडाले काङ्ग्रेसको घर भत्काउनुपरेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्त, आदर्श, मूल्य, मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि पार्टी सिद्धान्तबाट विचलित नभई नेपाली काङ्ग्रेसका नेता एवम् कार्यकर्ताको त्याग, तपस्या, सङ्घर्ष, बलिदान र सहिदहरूको रातो आलो रगतले लेखिएको गौरवपूर्ण नेपाली काङ्ग्रेसको इतिहासलाई बन्धक बनाउँदै, प्रधानमन्त्री बन्न आतुर नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का नाजायज सबै सर्त स्वीकार गरेर, प्रचण्डसँग दुईपक्षीय सम्झौता गरी, सम्झौतामा औँठा छाप लगाई निजी स्वार्थका लागि दाहालको वैशाखी टेके । माओवादी केन्द्रको हँसिया पैँचो लिएर देउवाले काटेको रूखको हाँगोले लगाएको टेको र थाङ्ग्रो अनि वैशाखीले कति दिन देउवालाई टेकाउने होे त्योचाहिँ समयले बताउला । इतिहासले माफ गर्ने छैन देउवालाई ।

देउवाको छवि धुमिल र अलोकप्रिय हुँदै गएको छ । तेह्रौँ महाधिवेशन सम्पन्न भएको अठार महिना नाघ्दासमेत नेपाली काङ्ग्रेसको विधानअनुसार केन्द्रीय समितिलाई पूर्णता नदिएर, केन्द्रीय विभाग गठन नगरेर, पार्टीलाई अपाङ्ग बनाएका छन् देउवाले । प्रयोगवादी नीतिका सिद्धहस्त खेलाडी देउवाले कहिले विमलेन्द्र निधि, कहिले खुमबहादुर खड्का त कहिले कृष्णप्रसाद सिटौलालाई प्रयोग गरिरहे । स्मरण रहोस् सिटौला, खड्का र निधिकै साथ र सहयोगमा तेह्रौँ महाधिवेशनबाट देउवा सभापति बन्न सफल भएका थिए । देउवाले २०४८ मा गृहमन्त्री भए यतादेखि लिएका निर्णय लोकतन्त्रको मर्ममा प्रहार गर्ने खालका भएका र सभापति भएपछि देउवामा सुधार आउने अपेक्षा थियो, तर यो केवल एकभ्रम मात्र रहेको टिप्पणी गर्छन् राजनीतिक विश्लेषक ।

खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ भने जस्तै भरतपुरको निर्वाचन तालमेलले बाँदरमुडेका मतदाताले कस्तो अनुभूत गरेका होलान् ? माओवादीका कारण छोरा–छोरी गुमाएका वृद्धा बाबा–आमा, सिन्दुर पुछिएकी चेली, टुहुरा छोरा–छोरीले कसरी बुझ्लान् यो तथाकथित तालमेललाई त्यो घटना सम्झँदा । सहिदको टुहुरो छोरो हुनुको पीडाबोध पङ्क्तिकारलाई पनि छ । बाँदरमुडे बीभत्स हत्याकाण्डमा माओवादीद्वारा टुहुरा बनाइएका छोरा–छोरीको मर्म म बुझ्न र अनुभूत गर्न सक्छु ।

चितवनको भरतपुर महानगरपालिका क्षेत्र नेपाली काङ्ग्रेसको पकड र भोटबैंकको रूपमा चिनिन्छ । नेपाली काङ्ग्रेसका मेयर उम्मेदवार दिनेश कोइरालाको जित सुनिश्चित हुँदाहुँदै पनि सभापति देउवाले काङ्ग्रेसको सिद्धान्त, नीति, विचार र आस्थालाई दाउ लगाउँदै, काङ्ग्रेसको अस्मिता लुट्दै, काङ्ग्रेसको पहिचानमाथि खेलवाड गर्दै प्रश्नचिह्न लगाए । किस्तीमा राखेर निरङ्कुश तानाशाह राजा ज्ञानेन्द्रको पाउमा हिजो प्रजातन्त्र चढाएका देउवाले आज काङ्ग्रेसलाई क. पुष्पकमल दाहाल (प्रचण्ड)को पोल्टामा राखिदिए । यसको मूल्य चुकाउन महङ्गो सावित हुनेछ देउवालाई । देउवाको नियत उदाङ्गो भएको छ भने मुखुण्डो उग्रिएको छ । देउवाको हठात् निर्णयले काङ्ग्रेसले बाटो बिराएको छ ।

देउवाको अचानो बने नेपाली काङ्ग्रेसका निष्ठावान, प्रतिबद्ध नेता–कार्यकर्ता । कथित तालमेलका नाममा, आममतदाता कार्यकर्तामाझ अत्यन्त रुचाइएका लोकप्रिय उम्मेदवारको उम्मेदवारी रद्द गर्नु, पार्टीको आन्तरिक व्यवस्थापनका नाममा गलत उम्मेदवार मनोनयन गर्नुले लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक चरित्र प्रदर्शन भएको छ । कोइरालालगायत अन्य क्षेत्रका सक्षम, इमानदार, क्षमतावान, मिसन, भिजन र लोकप्रिय पृष्ठभूमि भएका नेता कार्यकर्ताको राजनीतिक मृत्युदण्ड पत्रमा देउवाले लालमोहर लगाए । कोइराला त देउवाको बलिको बोको भए नै, धेरैजसो महिला नेतृ पनि सिकार बने । भरतपुरको मेयर निर्वाचन नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहारझैँ भएको छ काङ्ग्रेसका नेता, कार्यकर्ता र मतदातालाई देउवाको स्वेच्छाचारी निर्णयका कारण । खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ भने जस्तै भरतपुरको निर्वाचन तालमेलले बाँदरमुडेका मतदाताले कस्तो अनुभूत गरेका होलान् ? माओवादीका कारण छोरा–छोरी गुमाएका वृद्धा बाबा–आमा, सिन्दुर पुछिएकी चेली, टुहुरा छोरा–छोरीले कसरी बुझ्लान् यो तथाकथित तालमेललाई त्यो घटना सम्झँदा । सहिदको टुहुरो छोरो हुनुको पीडाबोध पङ्क्तिकारलाई पनि छ । बाँदरमुडे बीभत्स हत्याकाण्डमा माओवादीद्वारा टुहुरा बनाइएका छोरा–छोरीको मर्म म बुझ्न र अनुभूत गर्न सक्छु ।

मेरो पिताजी सदस्य, उपसभापति हुँदै ०१५ देखि सहादत प्राप्त गर्दातक नेपाली काङ्ग्रेस ताप्लेजुङको सभापति हुनुहुन्थ्यो । प्रजातन्त्र प्राप्तिका लागि २०१७ सालमा पञ्चायतविरुद्ध नेपाली काङ्ग्रेसले सुरु गरेको हतियारबन्द सशस्त्र आन्दोलनलाई सहयोग गरेको आरोपमा २०१९ वैशाख १९ गते हिरासतमै क्रूर, अमानवीय, कठोर यातना दिएर ताप्लेजुङ थानामा पञ्चायती कालरात्रिमा तानाशाही सरकारले मेरो बाबाको नृशंस हत्या गरेको थियो, त्यसै दिनदेखि म ६ वर्षे टुहुरो बालक भएँ । मन्त्री पदको प्रलोभनलाई ठाडै दुत्कार्दै निरङ्कुश व्यवस्थालाई कडा चुनौती दिँदै पदसँग सम्झौता नगरी आफ्नो स्वाभिमानलाई बन्धक नबनाई शिर ठाडो र उच्च गरेर लोकतन्त्रका लागि उहाँले बलिबेदीमा चढ्दै हाँसी–हाँसी आफ्नो जीवन प्रजातन्त्र र राष्ट्रको नाममा उत्सर्ग गर्नुभएको थियो । मेरो बाबाले पञ्चायती प्रस्ताव स्वीकार गरेको भए म र मेरो परिवार पनि ऐशआरामको जिन्दगी बिताउँदै, टिकट वितरण गर्ने नेतृत्व तहमा पुग्थ्यौँ होला । आज सहिद र सहिदका परिवार अपमानित हुँदै गर्दा, काङ्ग्रेसमा आएको विचलनको खबरदारी गर्न म सहिदको छोरो नेपाली काङ्ग्रेसको सिपाहीलाई हकदैया छ कि छैन सभापतिज्यू ?

अन्तमा, यो लेख कसैप्रति आग्रह–पूर्वाग्रह राखेर लेखेको रूपमा नबुझिदिनुहुन सादार अनुरोध गर्दछु । सहिदको छोरा, नेपाली काङ्ग्रेसको प्रतिबद्ध, निष्ठावान र इमानदार कार्यकर्ता हुनुको नाताले मेरो चिन्ता, चासो र खबरदारी राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको हो र रहिरहनेछ । म लोकतन्त्र प्राप्तिको अविचलित यात्राको यात्री हुँ ।

(लेखक सहिद श्रीप्रसाद पराजुलीका पुत्र हुन्)