‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’

‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’


Sport Teqwando

अनाथ र असहाय बालबालिकालाई लक्षित गरी सुरु भएको तेक्वान्दो स्पेसल कोर्समा सहभागी खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको निर्माणाधीन बहुमुखी प्रशिक्षण हलमा कुल आठ संस्थाका खेलाडीको ग्रेडिङ सम्पन्न भएको थियो । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा भएको पहिलो चरणको ग्रेडिङमा कुल २ सय १८ खेलाडीले परीक्षामा सहभागिता जनाएका थिए । जसमा सेतोेदेखि पहेँलोमा ९६, पहेँलोदेखि पहेँलो–हरियोमा १५, हरियोदेखि हरियो–नीलोमा १५, हरियो–नीलोदेखि नीलोमा २७, नीलोदेखि नीलो–रातोमा २० र नीलो–रातोदेखि रातो पेटीमा ४५ खेलाडीले ग्रेडिङ परीक्षा दिएको स्पेसल तेक्वान्दो प्रशिक्षणका संयोजक कुमार लामा घिसिङले बताए । उक्त कोर्सअन्तर्गत रहेर विभिन्न प्रशिक्षकले १० महिनासम्म ती संस्थामा प्रशिक्षण गराउनेछन् ।

कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले आठ प्रशिक्षकलाई १० महिने नियुक्तिपत्र प्रदान गरेका थिए । दोस्रो चरणअन्तर्गतको ग्रेडिङ कास्कीमा बुधबार हुने संयोजक लामाले बताए । कार्यक्रममा नेपाल तेक्वान्दोका संस्थापक दीपराज गुरुङले खेलाडीको उत्साह र मिहिनेतले एक दिन देशका लागि ठूलो सफलता दिलाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष राणा, ओलम्पियन दीपक विष्ट र कोरियाली प्रशिक्षक जो होङ लीले ग्रेडिङमा सहभागी खेलाडीलाई र संस्थालाई प्रमाणपत्र प्रदान गरेका थिए । ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मूल नाराका साथ भएको उक्त तालिम दश महिनासम्म आठ अनाथ बालबालिका संरक्षित संस्थामा सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमबाट कुल आठ संस्थाका करिब ३ सय बालबालिकाले तेक्वान्दो खेल खेल्न लाभ प्राप्त गर्नेछन् ।

उक्त अवधिभर खेलाडीलाई निःशुल्क ग्रेडिङ र प्रतियोगितामा सहभागी गराइने र खेलकुद सामग्री प्रदान गर्ने सङ्घले जनाएको छ । विश्व तेक्वान्दो महासङ्घ (डब्लूटीएफ)को सहयोगमा विशेष प्रशिक्षणमा सहभागीमध्ये आठ संस्था काठमाडौंभित्रका छन् । एक पोखराबाट रहेको तेक्वान्दो विशेष प्रशिक्षण कार्यक्रमका संयोजक कुमार लामा घिसिङले बताए । कार्यक्रममा काठमाडौंको ईसीडीसी, नयाँ नेपाल समाज, साङ्ग्रिला अर्फानिज होम, नेपाल आराधना समाज, लाइप भिजन, भक्तपुरको मुस्कान सेवा, नेपाल चिल्ड्रेन अफ्यान होम र असहाय बालकेन्द्र (पोखरा) लगायत आश्रमको सहभागिता रहेको थियो ।