रोगको एउटा जडी कारण

रोगको एउटा जडी कारण


Birendramani-Paudel

– वीरेन्द्रमणि पौडेल

मान्छेको जिन्दगीमा फुर्ती–फार्ती बेग्लै हुने समय त्यतिबेलासम्म रहेछ जतिबेलासम्म रोग लाग्दैन । रोगले कचक्क किचेपछि बडेबडे अहंकारीहरूको हावा फुस्किँदो रहेछ । फेरि एउटा अकाट्य सत्य यो पनि रहेछ कि ढिलोचाँडो कुनैखालको दुर्घटनामा नमर्ने हो भने धनी, गरिब, अग्ला, होचा, यो पदको, त्यो पदको, यता बस्ने, त्यता बस्ने, यो जातको, त्यो जातको, यो धर्मवाला, त्यो धर्मवाला सबैलाई रोगले गाँज्दो रहेछ र त्यही निहुँले मान्छेलाई मुर्दामा परिवर्तन गर्दाे रहेछ । यो सत्यलाई महसुस गर्ने हो भने लोभ गर्न जरुरी पनि भएन, घमण्ड गर्न पनि पर्दैपरेन । हिसाब गर्दा रोग खासगरी खानाको कारणले लाग्दो रहेछ । खानामा गरिने बेवास्ता र बेढङ्गे पाराको खाने तरिकाले अनेक अनेक रोग निम्त्याउँदो रहेछ ।

जीवहरू खानाबिना बाँच्न सक्दैनन् । यो सत्य हो । जीव हुनुकै नाताले मान्छे पनि खानाबिना बाँच्ने सवालै आएन, तर जहाँसम्म सवाल नेपाली मान्छेहरूको खाने तरिकाको छ बिलकुल गलत तरिका अपनाइने रहेछ । सबैभन्दा पहिले खाना ठिक्क खानुपर्दो रहेछ । ठिक्कको अर्थ अटसमटस हुने गरी ज्यादा नखाने र असाध्यै कम खाएर पानीले पेट उचाल्ने तरिका पनि होइन रहेछ । पेटलाई हल्का हुनेगरी खानेकुरा खाु पर्दोरहेछ । हल्काहल्का खानेकुरा र पानी समयसमयमा खाइरहनु पर्दोरहेछ । तर, नेपाली ज्यानले बिहानको छाक खाँदा श्वास फेर्नै गाह्रो हुने किसिमले अटसमटस हुने गरी खाने, दिउँसो केही पनि नखाने, ओठ सुकेर प्याकप्याक नहुन्जेल पानी नखाने, बेलुका उस्तैपरे पेट उचालिएर बेहोस हुने अवस्थासम्म कोचिकोची खाइरहने र ओछ्यानमा गएर डङ्रङ्ग पल्टिने चलन रहेछ । ज्यादा खाँदा शरीरमा ज्यादा बोसो जम्मा हुने, पेट बढेर हिँड्न गाह्रो हुने, त्यसैका कारण उच्चरक्तचापलगायत अनेकअनेक रोग लाग्ने रहेछ ।

ठीकठीक समयमा खानेकुरा नखाँदा पहिले अल्सर र क्यान्सरसम्म हुन पुग्दोरहेछ । अल्सर हुँदा दु:ख, क्यान्सर हुँदा धन र ज्यान दुवैको नास । यी त भए खानेकुरा कहिले र कति खाने विषयमा जानकारी नभएको अवस्था । फेरि कस्तो खानेकुरा खाने र कस्तो नखाने भन्ने जटिल विषय पनि रहेछ, जुन विषयमा नेपाली बिलकुल अञ्जान रहेछन् । डाक्टरहरू भन्छन्, ‘बिहान–बेलुका खानासँग हरियो परियो सागसब्जी खानु, रातो मासु नखानु, बोसो र चिल्लो धेरै नखानु, गेडागुडी र झोलपदार्थ प्रशस्त खानु, बासी, सडेगलेको नखानु, पानी सकेसम्म उमालेर पिउनु ।’ कठै बिचरा नेपाली ! यिनलाई यस्ता खानेकुरा खाने मौका कसरी जुरोस् र ! मासु महँगै छ । खानेबानी लागेकाहरूले इच्छा लागेको बेला खान पाउँदैनन् । चाडपर्वमा खाँदा वा विवाह, पार्टीमा जाँदा अन्नपानी कम र मासुका चोक्टा भरमग्दुर कोचेर खाने गरेको देखियो । यस्तो अटसमटस हुनेगरी मासु खाँदा कुनै पनि हालतमा पाचन प्रणालीमा गोलमाल आउँछ । कारण अरू होइन, जनावरहरूको जस्तो मान्छेको आन्द्रा छोटो हुँदैन । सानासाना मसिना र निकै लामा हुन्छन् । मासु पचाउन कम्तीमा दुई–चार दिन लाग्दोरहेछ । यस्ता कडा र ढिलो पच्ने खानेकुरा खाँदा प्यान्क्रियाज कमजोर हुने र त्यसले मधुमेह र उच्चरक्तचापलगायतका रोगलाई निम्तो दिने अवस्था बन्दोरहेछ ।

नेपालमा हिजोआज रक्सी जताततै पाइन्छ । दूध, चामल र पिठो किन्न लाइनमा उभिनुपर्छ, तर रक्सी किन्न लाइनमा बस्नुपर्दैन, जतततै पाइन्छ । यहाँसम्म कि सगरमाथाको चुचुरो उक्लिनेले पनि गोजीमा हालेर टुप्पैमा पुर्‍याउँछ अर्थात् रक्सी सगरमाथाको चुचुरोमा पनि पाइन्छ । सुगम गाउँबस्ती र सहरमा नपाइने कुरै भएन । रक्सी कसले खान्छ र कसले खाँदैन भन्नै परेन । त्यो झोल प्राय: सबैले घुट्क्याउँछन् । यो झोल नेपाली रक्सीप्रेमीहरूको मुटु र किड्नी बिगार्न एक नम्बर कारणको रूपमा देखापरेको छ । तर, नेपाल सरकार जनतालाई रक्सी नखाऊ वा अड्कलेर खाऊ भन्दैन । बरु रक्सी उत्पादनका लागि अनुमतिपत्र दिएर राजस्व सङ्कलन गर्छ र उत्पादकलाई भन्छ, ‘रक्सी बेच, जनताको स्वास्थ्य बिगारेर फरक पर्दैन, सरकारलाई रक्सी उत्पादन गरेर बेचेबापत करको रूपमा पैसा भने तिर ।’

एकपटक मधुमेह वा उच्चरक्तचाप देखिएपछि मान्छेको ज्यान यतिसम्म धरापमा पर्दोरहेछ कि यस्ता रोगीहरू कुनै पनि बेला परमधामको यात्रामा निस्किन सक्छन् । उच्च रक्तचापले मष्तिस्कघात हुन सक्दोरहेछ । हृदयाघातको सम्भावना उत्तिकै हुँदोरहेछ भने आँखाको रेटिना र किड्नीलाई पनि क्षत्विक्षत् पार्ने सम्भावना हुँदोरहेछ । हृदयाघात भएर थलोको थलै मरे एकबारको जुनीमा मर्नैपर्छ लौ भैगो मर्नेवालाले सुखै पायो भन्न सकिएला, मष्तिस्कघात भएर दुई–चार वर्ष मर्दा पनि नमर्ने बाँच्दा पनि नबाँच्नेको अवस्थामा पुगियो भने के होला ? यस्ता घटनाहरू नभएका होइनन् । थलोका थलो मरेका पनि छन् लामो समयसम्म दिसापिसाब एकैथलोमा भएर धिकिरधिकिर श्वास धानेका मान्छेहरू पनि छन् । उच्चरक्तचापका कारण आँखाको रेटिना बिग्रिएर अन्धो हुने अवस्था पनि आउँदो रहेछ । दुनियाँमा मान्छे भएर जन्मिनु र यस्तो महत्त्वपूर्ण जुनीमा संसारलाई हेर्नै नपाइनुजस्तो दु:खद् अवस्था अरू के हुन सक्ला ? किड्नी पनि खराब बनाउँदोरहेछ उच्चरक्तचापले । किड्नी खराब हुँदाको दु:खद् अवस्था अरूलाई थाहा हुँदैन । स्वयम् रोगी र उसको परिवारलाई थाहा हुन्छ । हप्तामा एकपटक किड्नी डायलाइसिस गर्नुपर्ने, बढीमा एक–दुई वर्ष डायलाइसिस गरेपछि किड्नीले काम गर्न छाड्ने र बढी बाँच्ने इच्छा भए किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने, ट्रान्सप्लान्टका लागि ठूलो रकम खर्च लाग्ने र त्यसका लागि सयौँ थरीका झमेला व्यहोर्नुपर्ने । सबै समस्या झेलेर किड्नी ट्रान्सप्लान्ट गरेर पनि सुख नपाइने, रगत पातलो बनाउने औषधि जिन्दगीभर खाइरहनुपर्ने र त्यसका लागि प्रत्येक महिना हजारौँ रुपैयाँ औषधिका लागि खर्च गरिरहनुपर्नेजस्तो दीर्घकालीन समस्यामा रोगी र रोगीका परिवार सदस्यहरू फसिरहनुपर्ने अवस्था सिर्जना हुनेरहेछ । धनी मुलुकहरूले यस्ता रोगीलाई नि:शुल्क ओखती सेवा दिएका होलान् । विचारका कङ्गालहरूले चलाएको देशमा यस्ता खालका सुविधा पाउने आशा सपनामा पनि गर्न सकिँदैन । उच्चरक्तचापको जोडी रोग मधुमेह उस्तै खतरा हुँदोरहेछ । उच्चरक्तचापले शरीरका जुनजुन अङ्गलाई क्षति पुर्‍याउँछ, मधुमेहले पनि तिनै अङ्गलाई आक्रमण गर्दोरहेछ ।
fat
यसलाई साढेसातको दशा भनिदिए पनि हुने विषय रहेछ कि कुनै व्यक्तिलाई मधुमेह देखिएपछि उच्चरक्तचाप हुने सम्भावना ज्यादा हुँदोरहेछ । एकमाथि अर्को रोग थपिएपछि रोगीको जिन्दगीको दिनगन्ती सुरु हुँदोरहेछ । यहाँसम्म कि ठूलो–सानो ऋणधनको हिसाबकिताब नजिकको कोही भरपर्दाे र विश्वासिलोलाई बुझाइहाल्दा कल्याण हुँदोरहेछ । रोगीहरूका अनुभवले यसै भन्छन् । बेढङ्गे खानेकुराको चर्चा गर्दा नेपालको सन्दर्भमा रक्सी नामको झोल पदार्थको चर्चा गरिएन भने बिनागोलरक्षकको फुटबल म्याचजस्तो हुन जान्छ । त्यसकारण रक्सीको चर्चा अनिवार्य छ ।

नेपालमा हिजोआज रक्सी जताततै पाइन्छ । दूध, चामल र पिठो किन्न लाइनमा उभिनुपर्छ, तर रक्सी किन्न लाइनमा बस्नुपर्दैन, जतततै पाइन्छ । यहाँसम्म कि सगरमाथाको चुचुरो उक्लिनेले पनि गोजीमा हालेर टुप्पैमा पुर्‍याउँछ अर्थात् रक्सी सगरमाथाको चुचुरोमा पनि पाइन्छ । सुगम गाउँबस्ती र सहरमा नपाइने कुरै भएन । रक्सी कसले खान्छ र कसले खाँदैन भन्नै परेन । त्यो झोल प्राय: सबैले घुट्क्याउँछन् । यो झोल नेपाली रक्सीप्रेमीहरूको मुटु र किड्नी बिगार्न एक नम्बर कारणको रूपमा देखापरेको छ । तर, नेपाल सरकार जनतालाई रक्सी नखाऊ वा अड्कलेर खाऊ भन्दैन । बरु रक्सी उत्पादनका लागि अनुमतिपत्र दिएर राजस्व सङ्कलन गर्छ र उत्पादकलाई भन्छ, ‘रक्सी बेच, जनताको स्वास्थ्य बिगारेर फरक पर्दैन, सरकारलाई रक्सी उत्पादन गरेर बेचेबापत करको रूपमा पैसा भने तिर ।’

यसरी रक्सीलगायत खान नहुने बस्तु खाएर, खानुपर्ने बेलामा नखाएर वा धेरै खाएर, वा ठीक समयमा नखाएर नेपाली अधिकांश अनेकअनेक रोगका सिकार भइरहेका छन् । यसका लागि मुख्य जिम्मेवार सरकार हो । अहिलेको सरकार मात्रै होइन, कुरा राणा सरकारदेखि सुरु हुन्छ र जिम्मेवार ती सबै हुन् जसले राणाको नाममा शासन गरे, पञ्चायतको नाममा शासन गरे, बहुदल र भद्रगोल गणतन्त्रमा जस–जसले शासन गरे ती सबै जिम्मेवार छन् नेपाली जनताको स्वास्थ्य बिगार्न । यिनले सजाय पाउनुपर्छ भने आफूलाई जान्नेसुन्ने ठान्ने, तर देशलाई अप्ठ्यारो परेका बखत मद्दत गर्नु त परै जाओस् विदेश पलायन भएर ‘नेपाल त खत्तम छ’ भन्दै मातृभूमिको उपेक्षा गरेर विदेशमा रमाउनेहरू पनि दोषी छन् साथमा तिनका अभिभावकहरू जो सन्तानलाई नेपालबाट पलायन हुन हौसला दिन्छन् तिनीहरू पनि दोषी छन् । दोषीहरू जो–जो छन् तिनले सजाय पाउनैपर्छ । आउने दिनमा युवा र खासगरी मुलुकलाई माया गर्ने नेतृत्वपङ्क्तिले सरकार हाँक्नेछन् त्यतिबेला नेपाली ज्यान सखाप पार्न रोग निम्त्याउने खानेकुरामा बन्देज लगाउने छन् भने के खाने र के नखाने, कति खाने विषयमा पनि सरकारी तवरबाटै जानकारीमूलक सन्देश फैलाउनेछन् । त्यतिन्जेलसम्म धैर्यधारण गर्नेबाहेक नेपाली जनतासँग कुनै नयाँ विकल्प छैन, छँदै छैन । तर, यदि सरकारले यो समस्या समाधानमा केही नयाँ ढाँचाकाँचा ल्यायो भनेचाहिँ बगेको खोलो फर्किएछ भन्नचाहिँ कसैले कन्जुस्याइँ नगर्दा हुन्छ ।