रेखाले देखाइन् मायाको लक्षण

रेखाले देखाइन् मायाको लक्षण


Rekha Thapa

माया बसेकै हो त तिमीसँग ?
कसरी आफैंलाई विश्वास दिलाऊँ ?
न प्रेमपत्र, न एसएमएस
न त फूल नै पाएको छु
तर पनि किन हो किन
मैले मेरो सपना
सधैँ तिमीसँगै सजाएको छु ।

०००

न म ऊसँग बोल्छु … न ऊ नै मसँग …।।
तर पनि किन यतै धेरै मन पर्छ मलाई ऊ ?।।

०००

प्रेम थाहा नपाई हुन्छ, प्रेम मनबाट हुन्छ
प्रेम जिन्दगी साट्नका लागि हुन्छ…, दुनियाँ ढाँट्नका लागि होइन ।।।

फेसबुकमार्फत ‘श्रावण… द सेसन्स अफ ग्रिन, सेसन अफ लभ’ भन्दै साउन महिनाको स्वागत गरेकी अभिनेत्री रेखा थापा त्यसयता निकै प्रेमिल देखिँदै आएकी छिन् । माथि उद्धृत उनका पछिल्ला फेसबुक स्ट्याटसले यही दर्शाइरहेको छ कि उनी कसैको प्रेममा पल्लवित हुँदै छिन् । हुन पनि फिल्म निर्माता छवि ओझासँगको दश वर्ष लामो वैवाहिक जीवन अन्तत: ‘उनसँग मेरो विवाह भएकै होइन, मैले त अपरिपक्व उमेरमा छविजीबाट अभिभावकत्व लिएकी मात्र हुँ’ भन्ने तर्क तोड्नुपर्ने परिस्थिति निर्माण भएपछि रेखामा पक्कै पनि एकखालको एक्लोपन, उदासी छाएकै हुनुपर्छ । तथापि, उमेर छिप्पिसके पनि उनको सुन्दरता र ग्ल्यामरमा लठ्ठिनेहरूको कमीचाहिँ छैन । यस्तोमा रेखाको चञ्चल मन गुलावी प्रेमको खोजीमा भौँतारिनु अस्वाभाविक छैन र रेखाजस्ती सेलेब्रिटीले एक्लो जीवन बाँच्ने प्राक्टिस गर्नु उपयुक्त पनि छैन भन्ने प्रशंसक नेपाली सिनेक्षेत्रमा बग्रेल्ती नै भेटिन्छन् । यसक्रममा रेखाका पूर्वपति छवि ओझाले शिल्पा पोखरेल नामक सुन्दरीलाई रेखाकै स्थान दिलाउने अव्यक्त उद्देश्यसहित सिनेमामा पदार्पण गराएका र उनैसँग विवाहको सुरसमेत कसेको हल्ला चल्न भ्यायो, तर यसबारे रेखाबाट खासै प्रतिक्रिया वा टिप्पणी सुन्न पाइएन । बरु छविजीको उत्तरोत्तर उन्नति र भलो नै होस् भन्ने सार्वजनिक अभिव्यक्ति दिनचाहिँ कन्जुस्याइँ गरिनन् रेखाले । हल्ला जे चले पनि शिल्पाले अरू नै कुनै उमेरमिल्दो जीवनसाथी रोजिसकेकी गाइँगुइँ सुनिएको छ भने यता रेखाचाहिँ फेसबुकमार्फत आफू कसैको प्रेममा परेको आभास दिलाउन तल्लीन छिन् । यदि यो अनुमान सत्य ठहरिएछ भने रेखाकै मुखबाट छिट्टै तथ्य उजागर पनि त भइहाल्ला कि रेखाले आफ्नो भावी जीवनको रेखाङ्कन कसरी गर्न लागेकी रहिछिन्…?।