राजीनामा आएपछि देउवाद्वारा प्रचण्डको तारिफ

राजीनामा आएपछि देउवाद्वारा प्रचण्डको तारिफ


deuwa-prachanda 2

प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका रुपमा प्रचण्डको कार्यकाल उपलब्धिपूर्ण भएको ठहरसाथ प्रचण्डको उच्च प्रशंसा गरेका छन् । आफ्नो प्रेस वक्तव्यमा सभापति देउवाले भनेका छन्-

‘नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) बीच मूलतः नेपालको संविधानको स्वीकार्यता विस्तार गर्न, स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गरी संविधान कार्यान्वयन गर्न तथा मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धि तर्फ लैजाने उद्देश्यका साथ राजनीतिक सहमति भई वर्तमान सरकार गठन भएको हो ।’

‘सरकार गठन भएको दश महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम भएको छ । १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न भएको छ । सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गरेको छ । यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुचारु भएका हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धी प्राप्त भएको छ ।’

‘यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाइँ दिन चाहन्छु । यस उपलब्धीका लागि सहयोग गर्ने सबै राजनीतिक दलहरु र सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) बीच भएको सहमति अनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।’

‘नेपाली कांग्रेस र नेकपा माओवादी )केन्द्र) बीच भएको राजनीतिक सहमति अनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

यसैबीच, प्रचण्डलाई प्रधानमन्त्री ओहदामा कायम रहन आग्रह गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएर स्थितिलाई झन् अन्योलपूर्ण बनाएको टिप्पणी गरेको छ । बुधबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीको राजीनामाले स्थिति झन् अन्योलग्रस्त भएको निष्कर्ष निकाल्दै असन्तोष प्रकट गरेको हो ।

एमालेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको, तत्कालै संसदमा सरकारको नीति तथा कार्यक्रम र बार्षिक बजेट पेस गर्नुपर्ने साथै हाम्रो पार्टीले संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गरिरहेको बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ । ‘हाम्रो पार्टी स्थानीय तहको पूर्वनिर्धारित संख्या र सीमाभित्र रहेर आगामी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न जोडदार माग गर्दै यसका लागि सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गर्दछ ।’