राजदूतद्वारा शिलान्यास र उद्घाटन

राजदूतद्वारा शिलान्यास र उद्घाटन


क्याम्पस भवन निर्माणका लागि भारतीय सहयोग

12-pr-news-pic

कास्की लेखनाथस्थित श्री सरस्वतीटीका उच्च माध्यमिक विद्यालय र पोखरास्थित श्री गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नयाँ बन्ने भवनको नेपालका लागि भारतीय राजदूत रणजित रायले शिलान्यास गर्नुभएको छ । ती दुवै आयोजना साना विकास आयोजनाअन्तर्गत भारत सरकारको सात करोड ८१ लाख पचास हजार आर्थिक सहयोगमा सम्पन्न हुन लागेका हुन् । स्तरीय पढाइका लागि कहलिएको सरस्वतीटीका उमावि सीमान्तकृत वर्गका छात्रछात्रालाई शैक्षिक सेवा उपलब्ध गराउनसमेत कहलिएको छ । यति मात्र नभई मानसिक विकासमा समस्या देखिएका बालबालिकालाई समेत यस विद्यालयमा प्राथमिक तहमा अध्यापन गराइने कारण यो विद्यालय जिल्लामा विशेष प्रतिष्ठित छ । यस्तै, करिब चार सय विद्यार्थीमध्ये ८० प्रतिशत छात्रा अध्ययनरत रहेको गुप्तेश्वर बहुमुखी क्याम्पस पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एक सामुदायिक क्याम्पस हो, जसले न्यून शुल्कमा विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ ।
यसैगरी, उदयपुरको नारद आदर्श शिक्षा क्याम्पसको भवन निर्माणमा मित्रराष्ट्र भारतले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, उदयपुरका स्थानीय विकास अधिकारी पीताम्बर अधिकारी र क्याम्पसका प्रिन्सिपल ध्रुवराज राईबीच गत साता सहयोग उपलब्ध गराउने र परिचालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त क्याम्पसको नयाँ भवन निर्माणका लागि भारत सरकारले नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत साना विकास परियोजना कार्यक्रम शीर्षकमा तीन करोड दुई लाख ९० हजार सहयोग उपलब्ध गराउँदै छ ।

सन् १९७१ मा माध्यमिक विद्यालयको रूपमा स्थापना भई सन् २००३ मा क्याम्पसमा स्तरोन्नति भएको नारद आदर्श शिक्षा क्याम्पसमा शिक्षा तथा मानविकीमा तीनवर्षे स्नातक कोर्सका साथै प्लस टु अध्ययनरत करिब सात सय ७० विद्यार्थी अध्ययनरत छन् । विधिवत् तवरले भारत सरकारसमक्ष अनुरोध भएपछि क्याम्पस भवन निर्माणका लागि सहयोग उपलब्ध गराइएको र नयाँ भवन निर्माणपछि छात्रछात्रा तथा शिक्षकले अझ सुविधासहित पठनपाठन कार्य अघि बढाउन सक्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ । पन्ध्र महिनाभित्र सम्पन्न हुने गरी क्याम्पस भवन निर्माण थालनी गरिएको पनि बताइएको छ ।

12-pr-udaypur

यसअघि उदयपुरमा भारत सरकारको सहयोगमा ६ करोड ६१ लाख लगानीका पाँचवटा विभिन्न परियोजना सम्पन्न भइसकेका र थप दुई परियोजना निर्माणाधीन रहेका छन् । जिल्लाको स्वास्थ्य सेवामा टेवा पुगोस् भन्ने उद्देश्यले दशवटा एम्बुलेन्स पनि मित्रराष्ट्र भारतले उदयपुरलाई उपलब्ध गराएको छ भने भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत हालसम्म पाँच सय ३३ वटा विभिन्न ठूला–साना परियोजनामा भारतले नेपाललाई सहयोग उपलब्ध गराएको छ, जसको कुल लगानी लगभग ७६ अर्ब रहेको बताइन्छ ।

यसैबीच, नेपालका लागि भारतीय राजदूत रणजित रायले मुस्ताङमा भारतीय सहयोगमा निर्माण भएको परियोजनाको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । मुस्ताङ (लोमाङथाङ)को पाँचदिने भ्रमणका क्रममा राजदूत रायले भारतीय सहयोगमा निर्माणाधीन परियोजनाको अवलोकन गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मुस्ताङ यात्राका क्रममा टुकुचे, कागबेनी र झारकोटमा भारतीय सहयोगमा निर्मित परियोजनाहरूको राजदूत रायले उद्घाटन गर्नुभयो । चार करोड ४३ लाख ९० हजार भारतीय सहयोगमा निर्माण भएको टुकुचेस्थित योगेन्द्र उमाविको दुईतले भवन, तीन करोड सात लाख २० हजार सहयोगमा बनेको कागबेनीस्थित कालीगण्डकी नदीमा नदी तालिम कार्यस्थल र मुक्तिनाथको झारकोटमा ५२ लाख ८० हजारमा जीर्णोद्धार गरिएको सामुदायिक सभाहलको राजदूत रायले उद्घाटन गर्नुभएको हो । यसैगरी राजदूत रायले एक करोड तीन लाख भारतीय सहयोगमा पुराना गाउँमा निर्माण भएको खानेपानी आयोजनाको पनि उद्घाटन गर्नुभएको छ । यस खानेपानी आयोजनाबाट रानीपौवा र पुराना गाउँका बासिन्दालाई शुद्ध खानेपानीको आपूर्ति हुने बताइएको छ ।

गोर्खा सैनिक परिवारलाई सहयोग घोषणा

12-pr-pic-2

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राकेश शर्माले नेपालको भ्रमण गरी एक लाख २४ निवृतिभरण पाउने भारतीय सेनामा बसेका गोर्खाली सेनाका परिवारसँग भेटघाट गरेका छन् । सेप्टेम्बर ५ देखि १० सेप्टेम्बरसम्म नेपाल रहेका जनरल शर्माले सैनिक सेवामा रहँदा जीवन गुमाउने गोर्खा सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै भूकम्पपीडित ६ हजार आठ सय ३२ गोर्खा सैनिक परिवारलाई प्रतिपरिवार तीन लाख २० हजार नगद सहयोग गर्ने घोषणासमेत गरेका छन् । कुल २१ करोड ८६ लाख खर्च आउने यस सहयोग घोषणालाई मित्रराष्ट्र भारतले ‘गोर्खा सैनिकका लागि सानो सहयोग’ भनेको छ । नेपालमा बसोबास गर्ने पूर्वगोर्खा सैनिकले करिब ४० अर्ब नेपाली रुपैयाँ निवृत्तिभरणको रूपमा पाउने गरेका छन् । नेपाल भ्रमणका क्रममा लेफ्टिनेन्ट जनरल शर्माले पोखरा र धरानको भ्रमण गरेका थिए ।