यसरी सम्पन्न भयो आठौँ लघुकथा दिवस

यसरी सम्पन्न भयो आठौँ लघुकथा दिवस


8 Laghukatha

आफ्नो स्थापनाको दिन पारेर लघुकथा समाजले आठौँ लघुकथा दिवस मनाएको छ । लघुकथा दिवसको अवसरमा सर्वनाममा आयोजित कार्यक्रममा वरिष्ठ लघुकथाकार विनय कसजूलाई लघुकथा लेखनमा विगत चार दशकदेखि सक्रिय रही विशेष योगदान दिएबापत पद्मा–रामचन्द्र लघुकथा सम्मानद्वारा सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा. मोहनराज शर्माले रु. १० हजार एक सय एक नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो । लघुकथा समाजको स्मारिकाको (चौथो अङ्क) समेत विमोचन गरिएको कार्यक्रमका प्रमुख अतिथि प्रा. मोहनराज शर्माले लघुकथालेखनमा प्रचुर विकास भएको चर्चा गर्दै अबका दिनमा लघुकथा अझै परिष्कृत र दिप्तीमय हुनुपर्ने बताउनुभयो । शर्माले लघुकथाले झिल्को दिने, कुनै सन्देश दिनुपर्ने बताउनुभयो ।

सम्मानित व्यक्तित्व विनय कसजूले आफूले कुनै–कुनै सामाजिक घटनाबाट प्रभावित भएर लघुकथा लेख्ने गरेको बताउनुभयो भने लघुकथाका क्षेत्रमा सैद्धान्तिक चर्चा–परिचर्चा र समालोचना गर्दै आउनुभएका समालोचक डा. लक्ष्मणप्रसाद गौतमले लघुकथा चुट्किला हुनबाट बच्नुपर्ने सुझाव दिनुभयो । समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहआयोजक संस्था सर्वनामका प्रमुख एवम् साहित्यकार अशेष मल्ल, लघुकथा विषयमा विद्यावारिधि गर्दै गरेका शोधार्थी तथा पुरस्कारका संस्थापक पुष्करराज भट्ट, तुलसीहरि कोइरालाले लघुकथाका विषयमा बोलेका थिए । कार्यक्रमकै सिलसिलामा सम्मानित लघुकथाकार विनय कसजूद्वारा लिखित एम्बुलेन्सको देश शीर्षकको लघुकथा सर्वनामका कलाकारहरूले मञ्चन गरेका थिए ।

आठौँ लघुकथा दिवसको त्रिदिवसीय कार्यक्रमको अन्तिम दिन लघुकथा वाचनको कार्यक्रम थियो । ज्ञानेश्वर मैतीदेवीमा सम्पन्न कार्यक्रममा नेपाली साहित्यिक क्षेत्रका वरिष्ठतम् व्यक्तित्वहरूले आ–आफ्ना लघुकथा वाचन गरेका थिए । समाजका अध्यक्ष श्रीओम श्रेष्ठद्वारा सञ्चालित अनौपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले समाजको यस कार्यको प्रसंशा गर्दै विरुपाक्षको देश शीर्षकको आफ्नो लघुकथा वाचन गरेका थिए । यसैगरी कार्यक्रमका अर्का अतिथि वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेल तथा नाट्यकर्मी अशेष मल्लले पनि लघुकथा वाचन गरेका थिए । कार्यक्रममा प्राज्ञ मातृका पोखरेल, ओममणि शर्मा, श्रीराम राई, सिन्धु गौतम, नारायण तिवारी, गोपाल अश्क, राजेश खनाल, सुषमा मानन्धर, तुलसीहरि कोइराला, सुमन सौरभले आ–आफ्ना लघुकथा वाचन गरे । वाचन गरिएका लघुकथामाथि सावित्री कक्षपति मल्ल, डा. लक्ष्मणप्रसाद गौतम र प्राज्ञ मातृका पोखरेलले समीक्षात्मक टिप्पणी गरेका थिए ।