मैले पत्नी किन कुटिनँ ?

मैले पत्नी किन कुटिनँ ?


dipaendra-pandey

– दीपेन्द्र पाण्डे

म अध्ययनप्रिय मानिस होइन । मेरो मान्यता यो रहेको छ कि अध्ययनले मानिसको स्वतन्त्रता खुम्चिन्छ । रुटिनबाहिर गएर कहिलेकाहीँअपवादमा अध्ययन गर्ने बानीले मलाई केही प्राप्त नहुँदा पनि केही गुमाउनुपरेकोचाहिँ छैन । अक्सर कसैको उपहारमा प्राप्त हुने किताबले मलाई केही गुन भने लाएकै छ । अचानक त्यस्तै संयोग मिल्दा टेबलमा पल्टिएको किताब ‘सङ्घर्षका पाइला’मा असारे काका ईश्वरीप्रसाद दाहालले नभनिदिनुपर्ने कुरा भनिदिँदा त्यतिबेला चितवनको भीमसेननगर बस्ने पुष्पकमल दाहालले आफ्नी श्रीमती सीता दाहाललाई केवल आठ हजार रुपैयाँको निम्ति छाताको डाँठले कुटेका पङ्क्तिमा नजर पर्दा यी पङ्क्ति लेख्न बाध्य भएँ ।

मूल रूपमा जनजाति र दलितको सहयोगमा क्षेत्री र बाहुनले बृहत् नेपाल निर्माण गरेभन्दा हालका अङ्गीकृत तराईवासीलाई मनपर्ने कुरै भएन । तराईमा बसोबास गर्ने आदिवासीलाई तत्कालीन समयमा राजनीतिक नेतृत्वले मानिस नै नमान्ने वस्तुगत स्थितिलाई अतिरञ्जित गर्ने ध्येय पनि पङ्क्तिकारको होइन । जब देश निर्माण नै कुटपिटबाट गरिएको तीतो इतिहास कीर्तिपुर आइपुग्दा नेपालीले सदाका लागि नबिर्सने गरी स्वीकार गरेकै हुन् ।

कुटपिटमा षड्यन्त्रसमेत मिसाउँदै कुँवरहरूले थापा, पाँडे र बस्नेतलाई तह लगाउँदा शाहहरू १०४ वर्ष राणाको निगाहमा दरबारिया जेल बस्न बाध्य भएको इतिहास पढ्ने मानिसले स्वयम् ३० वर्ष पञ्चायतको कुटपिटमा पर्दै गर्दा नेपाली जनतामा जागेको प्रजातन्त्रको प्रेमले सबै कुटपिटको मुक्ति चाहँदै सडकबाट प्रजातन्त्र स्थापित गरेकै हुन् । अब त कुटपिटबाट सदाको निम्ति मुक्त भइयो भन्ने नेपाली सोचमा ग्रहण लाग्दा ०४८ देखि ०५१ सम्म प्रजातन्त्रको आवरणमा गिरिजाको नेतृत्वमा पञ्चायती भूतलाई कुटपिटमार्फत फेरि जगाइयो ।

ठूलाले सानालाई, धनीले गरिबलाई, मालिकले मजदुरलाई, सरकारले जनतालाई, लोग्नेले स्वास्नीलाई (नेपाली समाजले प्रयोग गर्ने बीभत्स शब्द स्वास्नीमान्छे) कुटपिट गरेको बच्चैदेखि देखेका पुष्पकमलले ०५१ सालमा पत्नी कुटे । मानिसले किन कुटपिटको सहारा लिन्छ ? जवाफ खोज्दा अनेक सवाल जन्मिने खतरालाई बिट मार्दै पुष्पकमलको पत्नीकुटाइमा मात्र ध्यान केन्द्रित गर्दा नितान्त आफ्नो कमजोरी लुकाउन मानिस आफ्ना पत्नी कुट्छन् भन्ने निचोडमा पुग्न सकिन्छ । आफूसँगैको वामपन्थी साथीहरू राजनीतिको मूलधारमा प्रवेश गरेको आँखाअगाडि घुम्न थालेपछि क्रान्तिको भूतले सताइएका पुष्पकमल मनले क्रान्ति गर्ने निर्णय गर्न पुग्यो । तर, पार्टीनिर्णयअनुसार आफ्नो हिस्सामा परेको आठ हजार बुझाउन नसक्ने उनको हैसियतमा जग्गा बेच्न नमान्ने सीता दाहालको सतिसाले निर्णयले पत्नी कुट्न बाध्य भएको असारे काकाको लेखाइले तत्कालीन अवस्थाको पुष्पकमल दाहालको सांस्कृतिक, वैचारिक र आर्थिक अवस्था झल्किन्छ ।

सुरुवात नै निम्न वैचारिक चिन्तनबाट भएको तत्कालीन माओवादी–कुटपिट पुष्पकमल र सीतामा मात्र सीमित हुने कुरै थिएन । आत्मालोचना र माफीबाट सुरु गरिएको कुटपिटे युद्धले पुष्पकमल र सीताको मनमा लुकेको द्रव्यमोह (धन, जग्गा र सुन) भीमसेननगरदेखि लाजिम्पाट दरबारको यात्राले हिन्दी फिल्मको कहानीजस्तै बनाउ“छ । धन जोड्नकै निम्ति कुटपिटको सहारामा फिल्मी शैलीकै चन्दाआतङ्क भोग्ने मानिसहरू पुष्पकमल नामको फिल्मबाट वाक्कदिक्क भएकै हुन् । देशका तमाम व्यवसाय टाट पल्टने केवल पुष्पकमल व्यवसायले रेकर्ड तोड्ने पुष्पकमल विरासतले लाजिम्पाट दरबारमा बसेर अवैध कालोधनको खोजतलास गर्नु ०५१ सालदेखिकै सुनियोजित द्रव्यमोहको लक्ष्य थियो भन्ने कुरा अब शङ्काको विषयवस्तु नै रहेन ।

अन्तमा, सोझा र निर्दोष जनतालाई रुमानी सपना देखाउँदै आठ हजारका लागि श्रीमती सीतालाई पिट्दै सुरु गरिएको पुष्पकमल–ध्वंशले देशको आर्थिक क्षतिमार्फत आफ्नो ढुकुटी भर्न सफल पुष्पकमलको लक्ष्य सबैले बुझ्दै गर्दा सोही ध्वंशको कारणले आज खाडी मुलुकमा पसिना बेच्न बाध्य युवाहरू भन्दै छन्, ‘यदि ०५१ सालमै पत्नी कुट्न सकेको भए म पनि आज कुनै न कुनै दरबारको मालिक हुने थिएँ। प्रधानमन्त्री नै नभए पनि मन्त्री त पक्कै हुने थिएँ।’ आज पुष्पकमल–सीताको आर्थिक छलाङ हेर्दा आफैंले आफैंलाई बार–बार प्रश्न गर्छु, ‘मैले पत्नी किन कुटिनँ?