कल्याणले किन गरे यस्तो चलखेल ?

कल्याणले किन गरे यस्तो चलखेल ?


kalyan-shrestha

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अनावश्यक रूपमा सताउन सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठको भूमिका रहेको रहस्योद्घाटन भएको छ । सेवानिवृत्त भइसकेपछि पनि न्यायालयको काममा अवाञ्छित चासो राख्ने व्यक्तिका रूपमा समेत चिनिएका कल्याणले आफूलाई अन्तर्राष्ट्रिय अदालतको न्यायाधीशमा सरकारले सिफारिस गरोस् भन्ने चाहेको बुझिएको छ । प्रचण्ड नेतृत्वको सरकार विस्थापित भएर एमाले नेतृत्वमा सरकार गठन हुँदा अन्तर्राष्ट्रिय अदालतका लागि आफ्नो नाम सिफारिस हुनसक्ने विश्वासका आधारमा उनले प्रचण्डविरुद्ध षड्यन्त्र रचेको पाइएको छ ।

समाचारअनुसार ‘अख्तियारप्रमुख लोकमानसिंह कार्कीलाई कुनै तरिकाले पदमुक्त गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले चाहेको र जे भइरहेको छ त्यो प्रचण्ड र देउवाको चाहनाअनुरूप नै भइरहेको’ हो भन्ने सन्देश प्रमुख आयुक्त कार्कीसम्म पु¥याउने काम कल्याण श्रेष्ठबाट भएको थियो । सर्वोच्च अदालतमा कल्याण श्रेष्ठको बलियो पकड कायम रहेको चर्चा हुनु, प्रमुख आयुक्त कार्कीविरुद्ध सम्मानित सर्वोच्च अदालतका केही न्यायाधीश अलिक आक्रामक रूपमा प्रस्तुत हुनु, कल्याण श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र काङ्गे्रस सभापति देउवाविरुद्ध लोकमानसिंह कार्कीलाई भड्काउन दुस्प्रयास गर्नु र कल्याण आफूले अन्तर्राष्ट्रिय अदालतका लागि नेपाल सरकारको सिफारिस खोज्नुलाई एक ठाउँमा जोडेर हेर्दा पछिल्लो लोकमान प्रकरणमा श्रेष्ठको भूमिका स्पष्ट देखिन्छ ।

तर, अब कल्याणको चलखेलबारे प्रचण्ड र देउवादेखि लोकमानसिंह कार्कीसम्म जानकार भइसकेकोले उनको प्रयास असफल हुनसक्ने सम्भावना बढेर गएको छ । कल्याणसँग आफूहरूको नाम बारम्बर जोडिनु अनुपयुक्त हुने सर्वोच्च अदालतका न्यायाधीशहरूले समेत ठान्न थालेको बताइन्छ । न्यायाधीशहरूसमेत सचेत हुन थाले भने कल्याण श्रेष्ठलाई आफ्नो निजी महत्वकाङ्क्षा पूरा गर्न कठिनाइ हुने देखिएको छ । प्रचण्ड, देउवा र लोकमानसिंह कार्कीले खलपात्रको पहिचान गरिसकेकोले कल्याणको चालबाजी सफल हुनेका शङ्का छ । व्यक्तिगत महत्वाकाङ्क्षा पूरा गर्न कल्याणले खेलेको खेलबारे गत सोमबार बेलुका नै सम्बन्धित सबै पक्ष स्पष्ट भएका हुन्, तथापि श्रेष्ठहरूसँग अझै सचेत रहनुपर्ने ठम्याइ उनीहरूको छ ।