मीटर छ बत्ति आउँदैन, धारो छ पानी छैन, ट्याक्सीमा मीटर छ तर चलाउँदैन

मीटर छ बत्ति आउँदैन, धारो छ पानी छैन, ट्याक्सीमा मीटर छ तर चलाउँदैन


kathmandu-नरेन्द्र बस्नेत, लन्डनबाट
हाम्रो नेपालीमा एउटा भनाइ छ “आकाशतिर थुक्यो आफ्नै मुखमा छिटा” भने झैं आफ्नै देशको बारेमा लेख्नुपर्दा आफैलाई खल्लो लाग्नु स्वभाविक नै हो, तर नलेख्दा पनि मनको ब्यथा कसलाई पोख्ने ? आखिर लेखेर पनि हुने त केही हैन, केवल आत्मसन्तुष्टि मात्र । नेपाली जनताहरुले दैनिक रुपमा भोग्दै आइरहेका केही समस्याहरुमध्य पानी, बत्ति र सवारी साधनहरु पनि अग्र पंक्तिमा पर्दछन् । सरकारी पक्ष्यबाट नै हुने गरेका कमीकमजोरीका अगाडि व्यक्ति तथा संस्थाहरुद्वारा गरिने कमजोरीहरु प्राय गौण नै हुने गर्दछन् । तर आफू पनि गल्ती गर्ने र अरुलाई पनि नियन्त्रण नगर्ने हो भने देशको स्थिति कस्तो हुन्छ सहजै अनुमान गर्न सकिन्छ, जुन भइरहेको पनि छ ।

load-sheddingलोड सेडिङका कारण चाहेको बेलामा बत्ति बाल्न नपाउनु र खानेपानीका अभावका कारण धाराको वरिपरी रित्ता भाँडाकुँडाको लाम लगाउनुलाई नेपाली जनताहरुले सहज रुपमा लिन थालिसकेका छन् । तर भाडामा चलाइने सार्वजनिक सवारी साधनहरुमा नियन्त्रण गर्न नसक्नु सरकारको निकै ठूलो कमजोरी सावित भएकोछ । हुन त यस्ता विषयमा प्रशस्त नियम कानून पनि नबनेका हैनन् र कारवाही पनि नभएका हैनन, तर कार्यान्वयनको फितलोपन र कार्यकर्ताको स्वबिवेकले गर्दा यस्ता कार्य गर्नेलाई निरुत्साहित गर्नुको सट्टा झन् प्रोत्साहित गरेको छ । बाटोमा ट्राफिक प्रहरीले सवारी साधनलाई चेकजाँच गर्नका लागि रोक्यो भने सबैले भन्ने गर्दछन् कि दशैं आउन लागेको छ अनि त्यसैले गाडीवालालाई दुख दिन्छन् । हुन् त ट्राफिक प्रहरीले आफ्नो ड्युटी गरिराखेको छ जुन जनताकै हितको लागि हो तर पनि हावा नचली पात पक्कै हल्लिंदैन । ट्राफिक प्रहरीसँग गोप्य रुपमा हुने गरेका आर्थिक कारोबारले नै यस्ता कुराहरु उठ्ने गर्दछन् । एकजनाको गल्तीले राम्रो काम गर्ने सबैलाई असर पुर्याई राखेको हुन्छ ।

taxiट्याक्सी चढ्न गयो भने प्रायजसो सबैसंग दशैंमा भेडा च्यांग्राको मोलमोलाई गरे जस्तै मोलतोल गर्नुपर्छ । सरकारद्वारा जडान गरिएको मीटर र निर्धारण गरिएको भाडामा उनीहरु जान तयार हुँदैनन् । नेपालीलाई नै ठग्ने प्रवृत्ति बसेका यस्ता चालक र सवारी साधनद्वारा थुप्रै पर्यटकहरुले सास्ती खेप्दै आइरहेका छन् । काठमान्डौ गौशालाबाट नयाँ बानेश्वर जान लाग्दा बा २ ज ६३१ नम्बरको ट्याक्सीले मिटरमा जान अस्वीकार गर्दै दुई सय रुपैयाँ माग्यो जबकि उक्त दूरीमा मिटरमा जाने हो भने एक सयभन्दा पनि कम भाडा लाग्ने गर्दछ । यो त एउटा उदाहरण मात्र हो यस्ता घटनाहरु दैनिक रुपमा निरन्तर दोहोरिरहन्छन् । नियम कानून हुँदाहुँदै पनि त्यसको बाध्यात्मक रुपमा पालना गर्नुपर्छ भन्ने उनीहरुले ठान्दैनन् । सार्वजनिक सवारी साधनले गरेका ब्यबहारको बारेमा सरकार पनि अनभिज्ञ नभएको भने होइन ।

केही दिनअघि मात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो भेष बदलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचालित ट्याक्सीमाथि गरेको छड्के परिक्षणबाट नै स्पष्ट हुन्छ कि ट्याक्सी सेवाले कत्तिको ठगिरहेका छन् भनेर । हरेक क्षेत्रमा भइरहेका यस प्रकारका गतिविधिहरुलाई अनुगमन गर्ने हो र निष्पक्ष्यका साथ् कारबाही गर्ने हो भने पक्कै पनि सुधार हुनेछ । तर यहाँ अनुगमनकर्ता नै आर्थिक प्रलोभनमा परेर त्यस्ता व्यक्तिहरुलाई प्रोत्साहित गरिरहेका छन् भने कारबाही प्रक्रिया र फितलो कार्यान्वयन विधिले पनि उनीहरुलाई अरु हौसला प्राप्त भएको छ । घुस दिने र लिने दुबै अपराधी नै भए जस्तै यस्ता कार्यमा संलग्न भएको खण्डमा सबैले सम्बन्धित निकायमा उजुरी दिने बानी बसाल्ने हो र त्यस्ता व्यक्तिलाई अनिवार्य रुपमा सजायको भागीदार बनाउने हो भने पक्कै पनि यस्ता घटनाक्रमहरु कम हुँदै जानेछन् । सेवा लिने र दिने दुवै दोहोरो तथा समान हुनुपर्छ तर सेवा गरेवापत तोकिएको भन्दा बढी सेवा कसैले लिन खोज्दछ भने त्यो गैरकानूनी सावित हुनेछ । तोकिएको सेवा र शर्त मन्जुर गरिसकेपछि त्यसलाई उलंघन गर्नु भनेको नै नियम कानूनको उलंघन गर्नु हो । यस्ता क्षेत्रहरुमा नियमित अनुगमन गरी अनियमितता हटाउनु सरकार तथा सम्बन्धित निकायको दायित्व हुने भएकाले यसतर्फ ध्यान पुर्याउनु जरुरी हुनेछ ।

nepal-most-beautiful-places-in-the-worldहाल नेपालमा भइरहेको मापसे (मादक पदार्थ सेवन ) चेक जांचसम्बन्धी कार्यलाई एउटा उदाहरणीय कार्यको रुपमा लिन सकिन्छ । हुन् त यसमा पनि कतिपय कमी कमजोरीहरु नभएका भने हैनन् तर यस कार्यले दुर्घटना लगायतका अन्य थुप्रै सामाजिक क्रियाकलापहरुलाई केही हदसम्म नियन्त्रण गर्न सफल भएको छ । छड्के जांचभन्दा पनि नियमित रुपमा गरिने अनुगमनले सबैलाई नियम कानूनको दायरामा ल्याउन सम्भव हुने छ, जसको लागि सरकार तथा सम्बन्धित निकायले एकपटक ध्यान पुर्याउने कि ?

Pictures are taken from the Net.