‘मल्टी ट्यालेन्ट’की धनी तृष्णा

‘मल्टी ट्यालेन्ट’की धनी तृष्णा


tirsana-budhathoki

नेपालको मोडलिङ, सिने तथा कला क्षेत्रप्रति थोरै मात्र पनि रुचि राख्नेका निम्ति पनि तृष्णा बुढाथोकी अपरिचित नाम होइन । सामाजिक सञ्जालमा समेत छाएका उनका ‘बोल्ड’ तस्बिरहरूका कारण आम मानिसबीच उनी चासो र चर्चाको पात्र बन्न पुगेकी छिन् । कला क्षेत्रमा वर्षौं बिताएका कलाकर्मीलाई भन्दा तृष्णालाई चिन्नेहरूको जमात बढ्दो छ । लगभग एक दशक अघि मात्र राजधानी छिरेर जीवन–सङ्घर्षमा होमिएकी यी युवती किन यसरी चर्चाको पात्र बन्न पुगिन् त ?

आफूलाई बहुमुखी प्रतिभाका धनी मान्ने तृष्णा मूलतः गीति–भिडिओमा मोडलिङको काम गर्दागर्दै चर्चामा आएकी युवती हुन् । सानैदेखि सफल नारीको पहिचान बनाउने धोको साँचेकी उनका अर्धनग्न तस्बिरहरू जताततै छाउन पुगेका छन् । यिनै साहसी तस्बिरकै कारण आफू चर्चामा आएको स्वीकार गरे पनि अरुले ठानेझैँ सस्तो र तल्लो स्तरको मोडल÷कलाकार आफू नरहेको उनको दाबी छ । गाउँमा घाँस काट्दै हिँडेको बेलैदेखि आफूमा नाम कमाउने धोको जागेको बताउने तृष्णा खासमा मेडिसिन पढ्ने धोको लिएर ०६१ सालमा राजधानी छिरेकी थिइन् । पढाईमा सुरुदेखि नै अब्बल भए पनि परिवन्दले चाहेको विषयमा अध्ययन गर्ने उनको धोको पूरा भएन । एसएलसी पास गरी राजधानी आउँदा कलाकार बन्ने सोच नभए पनि पहिचान बनाउने महत्वाकाङ्क्षाले विस्तारै कला क्षेत्रतर्फ तान्यो उनलाई ।

बुबा प्रहरी सेवामा रहेका, काकाहरू कोही आर्मी कोही डक्टर, हजुरबुबा उस जमानामा कहलिएका गाउँका काजी हुनाले खानदानको हिसाबले पनि तृष्णाले गलत कर्म गर्नु नहुने दबाब थियो । परिवारको इज्जत राख्नुपर्छ भन्ने मान्यता अझै पनि उनमा छ । तर आफूले मोडलिङका क्रममा खिचाएका ‘ग्ल्यामरर्स’ तस्बिरकै कारण उनलाई अर्कै दृष्टिले हेर्ने गरिएको छ । यसमा उनको कुनै गुनासो भने छैन ।
आफ्ना बाबुले दुई श्रीमती बिहे गरेको कारण बाल्यकाल सुखद् नरहेको खुलासा गर्दै तृष्णा भन्छिन्, ‘काठमाडौं आएपछि पहिलोपटक सानीआमाको घरमा बसेर ‘कुछ कुछ होता हे’ नामक हिन्दी फिल्म हेर्दैगर्दा बहिनीले बुबासँग ‘रानी मुखर्जीको भ्वाइस त कति सेक्सी छ हैन त ड्याडी ?’ भनी प्रश्न गरेको सुन्दा म छक्क परेँ । त्यस्तो शब्द बाबासँग कसरी व्यक्त गर्न सकेको भनेर म जिल्लिएको थिएँ । तर उल्टै बाबाले त मलाई नै इङ्गित गरेर यो पाखेलाई त हिन्दी पनि आउँदैन, यसले केही जानेबुझेकी छैन भन्दै खिल्ली उडाउनुभयो । त्यो कुरा मेरो मनमा च्वास्स बिझ्यो । बाबाले नराम्रो हिसाबले नभने पनि पिन्च प¥यो, मनमा गड्यो । अनि यो ड्याडीको अघिल्तिर कलाकार बनेरै देखाइदिन्छु भन्ने भाव त्यतिबेलै जाग्यो ।’

‘म साइको छु तर म सोझी र सिम्पल युवती हुँ,’ भन्ने तृष्णालाई कलाकारितामा कसरी लाग्ने, कसलाई समात्ने केही जानकारी थिएन । उनले मार्केटिङ फिल्डमा काम सुरु गरिन् । त्यो पेशाले उनलाई जनसम्पर्कमा ठूलो मद्दत पु¥यायो । उनकै शब्दमा उनी बोल्न सक्ने र काठमाडौंमा नहराउने भइन् । उनी भन्छिन्, ‘सुरुमा कलाकार बन्न कोसिस गर्दा एउटा फटाहा मानिसको फेला परेँ । मेरो सोखको गल्तीले त्यहाँ पैसा पनि फस्यो । फ्रस्टेसन आउन लाग्यो र ठमेलमा कोल्ड स्टोर समेत खोलेँ । विदेश जाने विषयमा कुरा नमिलेपछि न्युरोडमा कफी सप खोलेँ । त्यसपछि रुद्र कुईंकेल नामका दाइले स्वरुपराज आचार्यको ‘वर्षौंपछि भेट भो आज सराव पिउन जाउँ’ भन्ने गीतमा स्क्रिन प्ले गराउन लैजानुभयो । यसरी मेरो मोडलिङ क्षेत्रमा प्रवेश भयो । पोखरामा सुटिङ गरियो, तीन हजार पारिश्रमिक पनि पाएँ । त्यो गीतमा म अत्यन्त राम्री र ग्ल्यामरर्स देखिएकी छु ।’

‘गोप्य अङ्ग प्रदर्शनमा बोल्ड भन्छन्, तर म एक्साइटेड भएर गरिएका गल्ती हुन् ती । तथापि म अरुले ठानेजस्तो भल्गर होइन, गलत पात्र होइन । मिडियामा त्यसरी आउनु बेग्लै कुरा हो । म दुःख पाएर जिरोबाट उठेकी नारी हुँ । अब बेग्लै रूपमा प्रस्तुत हुने सोच छ । मोडल प्रोफाइल भएकोले ग्ल्यामर मोडल हुँदाहुँदै पनि कलाकारिताबाटै समाजसेवा पनि गर्छु ।’

डेढ सय जति भिडियोमा तृष्णाले काम गरिसकिन् । दुई–तीनवटा फिचर फिल्म पनि उनले खेलेकी छिन्, सहनायिकको रूपमा । जसरी पनि सफल हुन्छु भन्ने आत्मविश्वास बोकेकी उनी कोहीसामु झुक्न चाहन्नन् । पैसा कमाएर आफैले फिचर फिल्म निर्माण गरी नायिका बन्ने धोको छ उनको, तर कसैको कब्जामा परेर या तल परेर नायिका बन्ने चाहना छैन उनलाई । आफ्ना ग्ल्यामरर्स तस्बिर हेरेर आफूबारे नराम्रो धारणा बनाउनेहरूप्रति उनको कुनै गुनासो छैन, किनकि उनी ठान्छिन्, स्तरीय कलाप्रेमीले उनको स्तर बुझेको छ । प्रियङ्का कार्की र रेखा थापाहरूले जे गरे पनि पाच्य हुने हामीजस्ताले हट सुट दिँदा हेपिने अवस्था यहाँ छ भन्दै तृष्णा गुनासो गर्छिन् । आफूले कुनै नाङ्गा तस्बिर नखिचाएको बरु क्यामेराको कमालले त्यस्तो देखाएको उनको दाबी छ ।
हालै आफ्नै आवाजमा उनले एक गीति एलबम पनि निकालेकी छिन् । ‘नाच्छु छमछम’ नामक एलबममा कतिपय गीत उनी आफैले लेखेकी छिन् भने कुनैमा त उनकै कम्पोजसमेत छ । आफू एक सरल नेपाली नारी भएको दाबी गर्ने उनले भजन पनि गाएकी छिन् । डान्स, मोडलिङ, गायन, अभिनय कुनैको कुनै पनि औपचारिक तालिम लिएको छैन, आफ्नै रुचि र क्षमताले बनेको उनको कथन छ ।

समाजले जे भने पनि आमाबुबाको पूर्ण साथ–समर्थन रहेकोले कला क्षेत्रबाटै आफू केही गरि देखाउन तृष्णा दृढ छिन् । उनी भन्छिन्, ‘कलाकारहरू शरीरको धन्दा गर्ने पनि हुन्छन् भनिन्छ, त्यो त कमजोरले गर्ने धन्दा हो । म जस्तो स्ट्रोङ व्यक्तिले त्यस्तो धन्दा कहिल्यै गर्दिनँ । गर्नेलाई पनि छोड्दिनँ । कतिपयले तृष्णा एउटी हट एण्ड सेक्सी केटी हो यो, यसलाई काम पनि दिने मस्ती पनि लिने भन्ने सोच राख्नेहरू पनि यहाँ छन्, तर तृष्णालाई छुन सक्ने दम भएका कोही छैनन् । मेरो विशेषता नै यही हो । तृष्णा छाडा केटी भनेर कसैले बुझेका छन् भने त्यो निम्नकोटीको व्यक्ति हो । त्यस्तालाई म केयर गर्दिनँ । लुकीलुकी छाडा फिल्म हेर्ने अनि गाली गर्ने प्रवृत्तिका ढोँगी मानिसलाई केही भन्नु छैन मलाई । मलाई स्तरीय मानिसले मात्र बुझ्छन् । मेरा फ्यानहरू युएसए, युकेमा छन्, तिनले मलाई पोजेटिभ बुझेका छन् । साउदी कतारमा बस्नेले मात्र गाली गर्ने हुन्, तिनले गाली गरेर मलाई चित्त दुख्दैन ।’
tirsana-budhathoki