मन्त्री र सदस्यसचिवबीच कसियो लगनगाँठो

मन्त्री र सदस्यसचिवबीच कसियो लगनगाँठो


Shree bikram Bhandari 4

– श्रीविक्रम भण्डारी

हिजो जे भएको थियो, आज त्यही दोहोरिने कुरामा खेलक्षेत्रका सवै विश्वस्त थिए । सरकार परिवर्तनपछिको अड्कल थियो त्यो । विगतको प्रवृत्ति दोहोर्‍याउन नेकपा माओवादी केन्द्रका कार्यकर्ताले ठूलो खेल खेल्ने कोसिस गरेका थिए । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीको कान फुक्नेहरूले विगत पुनरावृत्ति गराउन साँच्चै न्वारानदेखिको बल लगाए । खेलकुदको वर्तमान अवस्थाबारे नानाथरी कुरा गर्दै मन्त्री श्रीपालीको कान तिनले भरेका थिए । राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई हटाएर राखेप कब्जा गर्नुपर्ने तिनको सुझाव थियो । यो मुलुकमा पछिल्लोपटक घटेको राजनीतिक घटनाक्रमपछि खेलकुदमा भित्री रूपमा खेलिएको खेलको सानो परिदृश्य मात्रै हो । पर्दापछाडिको खेल योभन्दा घातक र सनसनीपूर्ण थियो । तर, माओवादी केन्द्र र एमालेका वरिष्ठ नेताहरूको सुझबुझ र सहकार्यले खेलकुदमा जुन अप्रिय घटना घट्न लागेको थियो त्यो अहिले टरेको छ । राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा पनि आपसी सहकार्य र मेलमिलापबाट खेलकुदको समग्र विकासका लागि अघि बढ्ने कुरामा सहमति भएको छ ।

सरकार परिवर्तन, त्यसमाथि खेलकुद मन्त्रालय माओवादीको भागमा परेपछि खेलकुदमा नौलो तरङ्ग उत्पन्न हुनु स्वाभाविकै थियो । त्यसमाथि सदस्यसचिव परिवर्तनको हल्ला र कसरतले खेलकुदमा दश रेक्टरको भूकम्प गएको थियो । सदस्यसचिवको अनुपस्थितिमा त्यसबेला सचिवालयका कर्मचारीको मुहार साँच्चिकै हेर्नलायक बनेको थियो । उनीहरूलाई आफूले खाइपाई गर्दै आएको कुरा छुट्ने सन्त्रासले पिरोलेको थियो । भित्री चलखेल हेर्दा त्यसलाई अन्यथा मान्न सकिने अवस्था पनि थिएन । यसर्थमा कि एमालेको पालामा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सदस्यसचिव युवराज लामालाई दिएको सकस आफैँमा यसको उदाहरण बनेको थियो । त्यसैले पनि खेलकुदमा परिवर्तनको सङ्केत देखिएको थियो । सकेसम्म सदस्यसचिव विष्टलाई राजीनामा गर्न लगाउने नगरे मन्त्रिपरिषद्को निर्णयबाट हटाउने अभियानको खेलमा माओवादी केन्द्रका कार्यकर्ता लागेका थिए । तर, आफँैले खनेको खाल्डोमा परेको माओवादीलाई सदस्यसचिव हटाउन त्यति सजिलो भने थिएन । यसर्थमा कि चार वर्षको नजिर खुद माओवादी आफैँले राखेको थियो । जसले गर्दा सरकार परिवर्तनसँगै सदस्यसचिव परिवर्तन हुने संस्कार र परम्परा अहिले समाप्त भएको छ । त्यसमाथि सर्वोच्चको निषेधाज्ञा लिएका विष्टमाथि कुनै कारबाही चलाउँदा सर्वोच्चसमेत अपहेलना हुने भएको हुँदा मन्त्री श्रीपालीले विष्टलाई चलाएर खेलकुदमा विवाद निम्त्याउनुभन्दा नचलाउनु नै सही ठानेका थिए । त्यसपछि आफ्ना कार्यकर्ताको चाहनामाथि कुठाराघात गर्दै श्रीपालीले सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

Bista-Shreepali

कम्युनिस्ट भए पनि विपरीत ध्रुवका एमाले र माओवादीको मिलन आफँैमा कल्पनाबाहिरको कुरा थियो । किनकि नेपालका कम्युनिस्टहरू जुट्नुमा भन्दा फुट्नुमा विश्वास राख्छन् । अन्यथा नेपालजस्तो सानो मुलुकमा दर्जनौँ वामपन्थी पार्टी कदापि गठन हुने थिएनन् । यस तीतो सत्यको अगाडि एमाले र माओवादीको मित्रता र सहकार्य आफैँमा प्रश्नचिह्नको घेरामा परेको थियो । कसैले पनि न्याउरीमुसा र सर्पबीचको मित्रतालाई आत्मसात् गरेका थिएनन् । तर, अहिले नेपाली खेलकुद जगत्मा आठौँ आश्चर्य भएको छ । एमालेका सदस्यसचिव केशवकुमार विष्ट र माओवादीका खेलकुदमन्त्री दलजित श्रीपालीबचि समग्र खेलकुदको विकासका लागि सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । खेलकुदको विकास र आमुल परिवर्तनका लागि सहकार्य गरेका दुवैले खेलकुदको विधान, ऐन र कानुनको पालना गरेर एक–अर्काको सहयोगीको रूपमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेको पनि बुझिनमा आएको छ । नेपालकै इतिहासमा पहिलोपटक फरक राजनीतिक दलको मन्त्री र सदस्यसचिवबीच भएको यो सहमति कहिलेसम्म टिक्ला त्यो आफ्नै ठाउँमा भए पनि यसले खेलकुदमा सकारात्मक सन्देश दिन भने सफल भएको छ । जसले गर्दा खेलकुदलाई विवादमा पार्दै आफ्नो व्यक्तिगत दुनो सोझ्याउँदै आएकाहरू भ्यागुतोझैँ उत्तानो परेका छन् । दलीय स्वार्थ र शक्तिको आडमा खेलकुदलाई बलिको बोका बनाउँदै खेलकुदको हुर्मत लिने कार्य गर्दै आएकाहरू यो घटनापछि पुन: दुलोमा पस्न बाध्य भएका छन् ।

सदस्यसचिवलाई फ्याँकी राखेपमा कब्जा जमाउने र त्यसपछि अवैधानिक नेपाल ओलम्पिक कमिटीलाई सिध्याउने रणनीतिमा लागेको माओवादीको एक गुट श्रीपाली र विष्टबीच भएको सम्झौतापछि अहिले तिलमिलाउन पुगेको छ । उनीहरूको रणनीतिको विरुद्धमा खुद मन्त्री श्रीपाली दिवारको रूपमा देखिएपछि उनीहरूको यस्तो बुरा हालत भएको बुझिनमा आएको छ । श्रीपालीले माओवादीको सदस्यसचिव हुँदाको विवाद पुन: नदोहोरिने प्रतिबद्धतासमेत सार्वजनिक रूपमा जाहेर गरिसकेका छन् । त्यसैले रियो ओलम्पिकका सेभ द मिसन विष्टलाई मन्त्री श्रीपालीले स्वागत गर्न हतार नगर्न भन्दै आफ्नो जिम्मेवारी पूरा गरेर मात्र स्वदेश फर्कनसमेत भनेका थिए । परिणाम अहिले विष्ट स्वदेश फर्किसकेपछि उनीहरूको पहिलो भेटघाट नै अविस्मरणीय बनेको छ । दुवैले एक–अर्काको सहयोगी बनेर खेलकुदको विकास र विवादप्रति लड्ने प्रतिबद्धता जाहेर गरेका छन् । मन्त्रीसँगको भेटपछि सदस्यसचिव विष्टले मन्त्रीलाई गुमराहमा राख्ने कोसिस गरिएको थियो, तर त्यो अहिले मन्त्रीको विवेकका कारण तुहिन पुगेको बताएका छन् । माओवादीको भ्रातृ सङ्गठनका पदाधिकारी र कार्यकर्ताले आफूलाई हटाएर माओवादीको सदस्यसचिव बनाउने कुरामा मन्त्रीलाई दबाब दिएको खुलासासमेत गरेका छन् । खेलकुद यथार्थ र वास्तविकतालाई निकै नजिकबाट नियाल्दै आएका मन्त्री श्रीपालीले खेलकुदमा विवादभन्दा विकासको जरुरी भएको भन्दै खेलकुदमा अनावश्यक राजनीति गर्नुभन्दा खेलकुदको विकासका लागि सहकार्य गरेर अगाडि बढ्न ती पदाधिकारीलाई आग्रह गरेको बुझिनमा आएको छ ।

यसरी अहिले मन्त्री श्रीपाली र सदस्यसचिवबीच लगनगाँठो कसिएको छ । दुवैले राजनीतिक चलखेलभन्दा विवादरहित खेलकुदको कल्पना गरेका छन् । राजनीतिक आग्रह र पूर्वाग्रहलाई थान्को लगाउँदै खेलकुदमा गरिने राजनीतिको फोहोरी खेलको अन्त्य गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् । तर, विगतमा एमालेका खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले माओवादीका सदस्यसचिव युवराज लामाविरुद्ध लगाएको नाकाबन्दी मन्त्री श्रीपालीले बिर्सिए पनि अन्य पदाधिकारी र कार्यकर्ताले सहजै बिर्सिएलान् भन्न सकिँदैन । तसर्थ खेलकुदको समग्र विकासका लागि भएको सहकार्य आफैँमा उत्तम, उदाहरणीय र परिणाममुखी भए पनि यो कति दीर्घजीवी होला त्यो अहम् बनेको छ । यसर्थमा कि सरकार परिवर्तनसँगै एमाले, माओवादीको कटाक्षको शुभारम्भ भइसकेको छ । एकले अर्कालाई हिलो छ्याप्ने कार्य भइसकेको छ । यस्तो जटिल अवस्थामा मन्त्री र सदस्यसचिवबीच कसिएको लगनगाँठो अझ कस्सिन्छ कि तान्दातान्दै टुट्छ त्यो हेर्नलायक भएको छ । युद्ध र राजनीतिमा सबै कुरा जायज हुन्छ, यसमा दुईमत छैन । अहिले खेलकुद पनि राजनीतिबाट अछुतो छैन । यदि भविष्यमा दलीय स्वार्थ र दबाबमा अहिले गाँसिएको लगनगाँठो टुट्यो भने त्यसलाई अन्यथा मानिनेछैन । अग्निलाई साक्षी राखी शुभमुहूर्तमा गाँसिएको लगनगाँठो त टुट्न सक्छ भने दुई फरक राजनीतिक दलको मन चिसियो भने जे पनि हुनसक्छ । लगनगाँठो त के फलामकै साङ्लो पनि चुँडिन सक्छ । त्यसैले अहिले जे भएको छ ठीक भएको छ, भविष्य के होला भनेर बिनाकारण टाउको नदुखाउनु नै वेश होला ।