मधेसी मन्त्री ‘शो पिस’ मात्र

मधेसी मन्त्री ‘शो पिस’ मात्र


Prabhu Shah

– प्रभु साह (नेता, नेकपा माओवादी केन्द्र)

० नयाँ सरकारले मुलुकको समस्या समाधान गर्नेमा कति आशावादी हुनुहुन्छ तपाईं ?
– नयाँ सरकारको प्रमुख उद्देश्य भनेको संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानको कार्यान्वयन गराउनु हो । खासगरी मधेसी, जनजातिको माग सम्बोधन गर्ने कार्यमा यो सरकारले पनि उदासीनता देखाउने सङ्केत मिलेको छ । जनजाति, मधेसी, महिला, उत्पीडित समुदायको समस्या समाधान गर्नेतर्फ पहलकदमी लेला भन्ने मैले ठानेको थिएँ, तर समस्याको सम्बोधन गर्लाजस्तो देखिएन ।

० प्रचण्डले तपाईंलाई मन्त्री नबनाएको भएर यस्तो ठान्नुभएको हो कि ?
– व्यक्तिगत कुराले अर्थ राख्दैन । मैले जुन वर्ग–समुदायको माग सम्बोधन हुनुपर्ने कुरा गरिरहेको छु, यसमा कोही व्यक्तिविशेष मन्त्री बनेर या नबनेर फरक पर्ने भन्ने होइन । वर्तमान मन्त्रिपरिषद्मा महिलालाई समावेश गर्ने सवालमा जुन रवैया प्रदर्शन गरिएको छ, मधेसीको प्रतिनिधित्वमा जुन लिपापोती भएको छ, यसबाट प्रस्ट हुन्छ कि मूल समस्या हल गर्ने दिशामा वर्तमान सरकार पनि सकारात्मक छैन । शो पिसकोलागि मात्र मधेसीलाई मन्त्री बनाइएको छ हाम्रो पार्टीबाट । यस्तो अनुमान मैले गरेको थिइनँ । मुलुकको यतिबेलाको सङ्कट समाधानका लागि मधेसी, महिलालाई प्राथमिकतामा राखेर अघि बढ्नुपथ्र्यो हाम्रो पार्टीले । यसमा नेतृत्व चुकेको छ ।

० तपाईं मन्त्री नबन्दा मधेसको मुद्दा सम्बोधन हुँदैन भन्ने तपाईंको निष्कर्ष हो ?
– त्यसरी बुझ्न खोज्नु उपयुक्त हुँदैन । तैपनि त्यो समुदायको समस्या हल गर्न तत्पर छौँ भन्ने सन्देश दिन सक्नुपथ्र्यो, त्यो भएन । मधेसी समुदायको माग सम्बोधन गर्ने इन्टेन्सन थियो भने त्यही किसिमले मन्त्रिमण्डलमा प्रतिनिधित्व गराइन्थ्यो होला, महिलाको र जनजातिको सवालमा पनि त्यही भएको छ । यसले त विश्वासको आधार बनेन नि । पार्टीले अङ्गीकार गरेको समानुपातिक, समावेशीको नीतिविपरीत छ मन्त्रीको चयन । विगतमा अन्य सरकारभन्दा पनि पछि हटेजस्तो लाग्यो मलाई त, जब कि अरू सरकारभन्दा यो निकै अग्रगमनकारी देखिनुपर्ने हो । उत्पीडित समुदायलाई आश्वस्त तुल्याउने अवसर पनि त हो नि यो त । आफ्नै पार्टीको नीतिबाट च्यूत भएको देखियो हाम्रो नेतृत्व ।

० तपाईंलाई मन्त्री नदिएको कि नखाएको ?
– देशमा यतिबेला जुन प्रकारको दुईध्रुवीय सङ्कट गहिरिएको छ, यसलाई तोडेर सहमतिको यात्रा सुरु गर्नका लागि मौका पाए म जिम्मेवारी वहन गर्छु भन्ने पक्षमा थिएँ । शो पिसका लागि अर्थात् मन्त्री बनेर झण्डा हल्लाउनकै लागि मन्त्री खाने पक्षमा त म छैन, थिइनँ । पटक–पटक अस्वीकार गरेको हुँ त्यस्तो ओहोदा त ।

० कानुनमन्त्री दिन लागेको भएर असन्तुष्ट बनेको तपाईं ?
– यदि कानुन मन्त्रालय महत्त्वपूर्ण मानिएको थियो भने पार्टीले अजयशंकर नायकलाई जिम्मा लगाउँथ्यो होला त ? यसको मतलब झरा टार्नकै लागि मात्र नायकलाई कानुनमन्त्री बनाएको भन्ने त प्रस्टै छ नि । कानुन मन्त्रालयलाई पार्टीले महत्त्व दिएको भए त कानुन बुझेका, कानुनी शास्त्रमा विद्वता हासिल गरेका हाम्रा पार्टीमा कति नेता थिए–थिए, तिनलाई बनाउँथे होलान् नि । शंकर नायकलाई त कानुनी ज्ञान पनि छैन । त्यसैले यसरी ‘खाए खा नखाए घिच’ जस्तो गरेकाले मैले अस्वीकार गरेकै हुँ ।

० पार्टीले दिएको जिम्मेवारी अस्वीकार गरेर असन्तुष्टिलाई सार्वजनिक गर्दा त पार्टीलाई अप्ठ्यारो पर्ला नि ?
– जिम्मेवारी पनि कसलाई कहाँ कतिबेला दिने भन्ने हुन्छ नि † मधेसीलाई मन्त्री बनाएको देखाउन कानुनमन्त्री बनाएर झारा टारिएको जसले पनि बुझेको छ । यो कुरा मैले बोल्दैमा अप्ठ्यारो पर्ने भन्ने कुरै आउँदैन । बरु नेतृत्वले आफ्नो कमी–कमजोरी मनन गर्न पाउँछ । जनजाति, महिलालाई मन्त्री नै नदिने अनि एउटा मधेसीलाई शो पिसको मन्त्री बनाएपछि यस्तो संवेदनशील अवस्थामा ठीक भयो भनी कसरी भनुँ त म । मधेसी समुदायप्रति विश्वास थियो भने महत्त्वपूर्ण मन्त्रालय दिनुपथ्र्यो । जस्तो कि नेपाली काङ्ग्रेसले मधेसी नेता विमलेन्द्र निधिलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयकै जिम्मेवारी सुम्पियो । यसरी आफ्नो पार्टीको तर्फबाट सरकारकै नेतृत्व दिएर काङ्ग्रेसले मधेसी समुदायप्रति विश्वास दर्शायो । यसैमा हाम्रो पार्टीचाहिँ चुक्यो । कि त जिम्मेवारी दिन हामीसँग उपयुक्त या खुवी भएका पात्र नै छैन भन्नुपर्‍यो, होइन भने विश्वास नै नगरिएको, हेपेको त ठान्नुपर्‍यो नि अब । मेरो बुझाइमा यो शुभसङ्केत होइन ।

म माओवादी पार्टीको एउटा जिम्मेवार केन्द्रीय नेताको तहमा छु, सचिवालय सदस्य छु । पार्टीभित्र विभिन्न मुद्दामा बहस र विवाद हुँदा कहिले प्रचण्डसँग छु त कहिले विरोधमा छु । मुद्दा हेरेर ठीक–बेठीक विचार गरी पक्ष या विपक्षमा आफूलाई उभ्याउने हो, कुनै नेताविशेषको विरोध या समर्थन होइन । यो सरकार बनाउने बेलामा प्रचण्डजीलाई ज्यानै छोडेर मैले साथ दिएँ, किनकि विगतको ओली नेतृत्वको सरकारबाट मधेसको मुद्दा हल हुन सक्दैन, केपी ओलीसँग गएर पार्टीले गल्ती गर्‍यो, बरु काङ्ग्रेससँग मिले समस्या समाधानमा बल पुग्छ भन्ने मान्यता राखी लड्दै आएको व्यक्ति हुँ म । अनि, यसरी प्रचण्डलाई साथ दिँदा बाबुरामको मान्छे नहुने, अहिले जायज इस्युमा विरोध प्रकट गर्दाचाहिँ बाबुरामको मान्छे ठहरिने ?

Prabhu Shah 2

० तपाईंले स्थानीय विकास मन्त्रालय माग्नुभएको थियो भन्ने सुनिन्छ, हो ?
– वर्तमान सरकारले प्राथमिकता दिएको या दिनुपर्ने एउटा विषयमा स्थानीय निकायको चुनाव पनि पर्दछ । स्थानीय निकायको संरचनामा ठूलो विभेद र विवाद पनि चलिरहेको छ । यदि मैले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएमा विभेद–विवाद अन्त्य र विश्वासको वातावरण बनाउन सहयोग पुग्थ्यो, मैले उपयुक्त भूमिका निर्वाह गर्थें भन्ने लागेकै हो मलाई । तर, म मन्त्री नै हुनुपर्छ भनेर भन्न त कहिल्यै पनि गएको थिइनँ । जसले सम्भावित मन्त्रीको रूपमा नाम प्रकाशित गरे या गराए, उनैलाई थाहा होला स्थानीय विकासमन्त्रीको रूपमा मलाई किन चर्चामा ल्याइयो ।

० तपाईं स्वयम्ले प्रचण्डसँग स्थानीय विकासमन्त्री बनाइदिन आग्रह गरेको चर्चा तपाईंको पार्टीभित्रै पनि चलेको थियो त ?
– यसरी मैले भनेको कुरा सही होइन, बरु मलाई कानुन मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गर्नेहरूलाई मैले जवाफ दिएको थिएँ कि कानुनमन्त्री बन्ने मलाई रुचि छैन, त्यससम्बन्धीको ज्ञान पनि खास छैन, तर स्थानीय विकासमन्त्रीको जिम्मेवारी मिलेमाचाहिँ म विशेष काम गरी देखाउन सक्नेछु । अनौपचारिक छलफलमा भएको कुरा यत्ति हो ।

० माओवादी केन्द्रमा प्रचण्डले जे चाह्यो त्यही चल्छ, त्यही हुन्छ हो कि ?
– जुन पार्टीमा पनि अन्तिम निर्णय त शीर्ष नेतृत्वले नै गर्ने त हो नि । तर, त्यो निर्णय नीतिगत, सैद्धान्तिक जगमा टेकेर गर्नुपर्छ भन्ने मेरो आग्रह हो । हाम्रो पार्टीले तय गरेको नीति–मान्यताबाट च्यूत हुन खोजेजस्तो देखिएकाले यसरी चिन्ता व्यक्त गर्नुपरेको हो ।

० मन्त्रीको सङ्ख्या त विस्तार हुन बाँकी नै छ नि, तपाईंलाई अझै देलान् नि त जिम्मेवारी ?
– कुनै प्रभु साह भन्ने व्यक्तिलाई मन्त्री बनाइनु या नबनाइनुको सवाल होइन यो । अजयशंकर नायकलाई राम्रो या महत्त्वपूर्ण मन्त्रालय दिएको भए म खुसी हुन्थेँ होला । अर्को कुरा कानुन मन्त्रालय त्यस्तो इम्पोर्टेन्ट थियो भने कानुन पढेर–बुझेर आएका ब्राह्मण समुदायकै नेताहरू थिए हाम्रो दलमा, उहाँहरूलाई नै पठाइदिएको भए हुन्थ्यो नि ।

० किन तपाईंहरू मन्त्रीको भागबन्डामा यसरी लफडा गरिरहनुभएको छ, यो सरकारमा गएर गर्न सक्नेचाहिँ के हो र ?
– हो, यस्तै तालले हो भने यो सरकारले पनि केही गर्न सक्दैन । देशमा अहिले यस्तो असमझदारी बढेको छ, असन्तुष्टि छ । असन्तुष्ट पक्षलाई विश्वासमा लिएर मुलुकलाई अघि बढाउन सक्नु, निकास दिनु नै यतिबेलाको प्रमुख प्राथमिकता, चुनौती र दायित्व पनि हो । त्यसैले असन्तुष्ट समुदायलाई विश्वासमा लिने गरी क्याबिनेट विस्तार गर्नुपथ्र्यो, हाम्रो दल यसमा चुकेकै हो । मधेसी, महिला र जनजातिलाई उपेक्षा गरेकै देखियो, यसलाई सुधार गरी अघि बढ्नुको विकल्प देख्दिनँ म ।

० महिलालाई मन्त्री बनाउनचाहिँ तपाईंको पार्टीभित्र के अप्ठ्यारो रहेछ, केही बुझ्नुभएको छ ?
– यही त म छक्क परिरहेको छु । हाम्रो पार्टीमा मन्त्रीको जिम्मेवारी निर्वाह गर्न सक्ने एक–एक प्रतिभाशाली महिला व्यक्तित्वहरू हुनुहुन्छ । जनजातिबाट पनि हुनुहुन्छ । मधेसीबाटै पनि एकसेएक छन् । प्रभु साहको कुरा होइन, नायकलाई नै राम्रो मन्त्रालय छानेर दिन किन सकिएन ? ओनसरी घर्ती सभामुख हुनुहुन्छ, उहाँसरह या उहाँभन्दा पनि बढी क्षमता भएका थुप्रै महिला नेतृहरू हुुनुहुन्छ, उहाँहरूलाई मन्त्री बनाएको भए हुन्थ्यो । त्यसैले हिजो बनाएको नीति–मान्यताबाट च्यूत हुँदै हाम्रो पार्टी फेरि ब्रह्मणवादतिर फर्किन खोजेको हो कि भन्ने आशङ्का मेरो मनमा पैदा भएको छ यो मन्त्रिपरिषद् विस्तारको तरिकाले ।

० तपाईं त डा. बाबुराम भट्टराईसँग निकट रहेको व्यक्ति, प्राविधिक कारणले मात्र अहिले प्रचण्डसँग हुनुहुन्छ, भविष्यमा हुने चुनावसम्ममा भट्टराईतिरै लाग्ने आशङ्का गरेर पो प्रचण्डले तपाईंलाई मन्त्री नबनाउनुभएको हो कि ?
– यदि यस्तो हो भने त यो सबभन्दा बढी विडम्बनापूर्ण हुन पुग्छ । म माओवादी पार्टीको एउटा जिम्मेवार केन्द्रीय नेताको तहमा छु, सचिवालय सदस्य छु । पार्टीभित्र विभिन्न मुद्दामा बहस र विवाद हुँदा कहिले प्रचण्डसँग छु त कहिले विरोधमा छु । मुद्दा हेरेर ठीक–बेठीक विचार गरी पक्ष या विपक्षमा आफूलाई उभ्याउने हो, कुनै नेताविशेषको विरोध या समर्थन होइन । यो सरकार बनाउने बेलामा प्रचण्डजीलाई ज्यानै छोडेर मैले साथ दिएँ, किनकि विगतको ओली नेतृत्वको सरकारबाट मधेसको मुद्दा हल हुन सक्दैन, केपी ओलीसँग गएर पार्टीले गल्ती गर्‍यो, बरु काङ्ग्रेससँग मिले समस्या समाधानमा बल पुग्छ भन्ने मान्यता राखी लड्दै आएको व्यक्ति हुँ म । अनि, यसरी प्रचण्डलाई साथ दिँदा बाबुरामको मान्छे नहुने, अहिले जायज इस्युमा विरोध प्रकट गर्दाचाहिँ बाबुरामको मान्छे ठहरिने ?

० भविष्यमा त तपाईं नयाँशक्तिमै जानुहुन्छ भन्ने चर्चा गरिँदोरहेछ नि त पार्टीभित्र ?

– अनुमान लगाउन जसलाई पनि छुट छ । तपाईं के अनुमान गर्नुहुन्छ– त्यो रोक्ने क्षमता कसले राख्न सक्छ र ? जहाँसम्म म भविष्यमा कहाँ रहुँला या नरहुँला भन्ने सवाल छ, यसमा म के तर्क गर्न चाहन्छु भने हाम्रै अध्यक्षलाई आँखा चिम्लेर सघाउने साथीहरू पनि को कहाँ पुगेका छन्, हिजो को कहाँ थियो आज कहाँ छ, अध्यक्षसँग लड्ने मान्छे अहिले प्रचण्डसँग हुनुहुन्छ । यो त समयले ठेगान लगाउने कुरा हो । तसर्थ, यसरी भविष्यवाणी गर्नु उचित हुँदैन । म अहिले पार्टीमा छु र पार्टीले सुधार गर्नुपर्ने मामलामा सुधार हुनुपर्ने मुद्दा उठाइरहेको छु । पार्टीले उचित बाटो समातेर हिँड्नुपर्छ भनी भन्नु पार्टी नै परित्याग गरी अर्को दलमा जान खोज्नु हो भन्न मिल्छ र ? मेरोबारेमा कसैले कुनै भ्रम फैलाइरहनु आवश्यक छैन । यस पार्टीको जनयुद्धकालीन एक क्याडर हुँ म पनि । आफ्नो क्षमताअनुसार पसिना बगाउँदै आइएको छ । पार्टीले नै मलाई या कुनै पनि नेता–कार्यकर्तालाई कसरी डोर्‍याउनुपर्छ– डोर्‍याउँछ, सहिदको रगत–पसिनाबाट बनेको यस पार्टीलाई सही दिशामा डोर्‍याउँदै मुलुकको हित गर्न लागिरहने हो, मेराबारे कसैले चिन्ता र भ्रम पालिरहनुपर्दैन ।

० अन्त्यमा, संविधान संशोधन गरी मधेसको मुद्दा सम्बोधन गर्न यो सरकार सफल होला ?
– गर्न सक्नैपर्छ, नगरी हुँदैन । देश र जनताको अपेक्षा पनि यही हो कि सहमति र सहकार्यबाट अघि बढेर ज्वलन्त समस्याहरूको समाधान गर्नुपर्छ । सरकारमाथि यो दायित्व छ । त्यसैले त हामी भनिरहेका छौँ कि असन्तुष्ट र आन्दोलित पक्षलाई विश्वासमा लिनका लागि सरकारले एक–एक कदम सोचसमझका साथ चाल्नुपर्छ । यो अवसर हो, अवसर चुकाउन हुँदैन ।