भूकम्प पीडितको कथा व्यथाले भरिएको नाटक ‘समय दृश्य’ बेलायतमा मन्चन

भूकम्प पीडितको कथा व्यथाले भरिएको नाटक ‘समय दृश्य’ बेलायतमा मन्चन


IMG_6565लन्डन, यही अप्रिल २३ तारिखका दिन रेडिंगस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटि सेन्टरमा भूकम्प पीडितहरुको कथाव्यथामा आधारित नाटक ‘समय दृश्य’ को मन्चन गरिएको थियो । नेपाल पत्रकार माहासंघ यूके शाखाका अध्यक्ष्य नरेश खपांगीको प्रमुख आतिथ्यमा मन्चन गरिएको उक्त नाटक फस्ट एजुकेट नेपालको प्रस्तुति तथा इन्टरनेशनल नेप्लिज आर्टिष्ट सोसाइटीको सहयोगमा प्रस्तुत गरिएको थियो । भक्त स्यांगतानको लेखन, तेन्जी लामा पाख्रिनको निर्माण प्रस्तुति रहेको उक्त नाटकलाई पुराना तथा अनुभवी नेपाली रंगकर्मी तथा निर्देशक सनम कुमार बैरागले निर्देशन गरेका हुन् । करिव तीन महिनाको अथक प्रयास र कडा मिहिनेतपछी प्रदर्शन गरिएको उक्त नाटकलाई दर्शकहरुले निकै रुचाएका थिए । नेपालमा भूकम्प गएको एक वर्ष पुगेको अवसर पारेर मन्चन गरिएको उक्त दिन सेक्सपियरको ४ सयौं जन्मोत्सव परेको थियो भने नाटक समय दृश्यका निर्देशक सनम कुमार बैरागको पनि जन्मदिन परेको थियो । बेलायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको यस नाटकमा ज्यासंग लिंगदेन, दीपक गुरुङ, प्रसुना कंडेल, सुरेश श्रेष्ठ, ओमकार अधिकारी, दुर्गा गुरुङ, जानु काम्वांग लिंग्देन, रोशन राइ, अन्जु, सुस्मिता, गङ्गा, अलिसा जस्ता कालाकारहरुले जोडदार अभिनय गरेका थिए ।

natakगत वर्ष नेपालमा गएको विनासकारी भूकम्पको सेरोफेरोमा आधारित नाटक ‘समय दृश्य’ ले भूकम्प गएदेखि अहिलेसम्मको अवस्थाको यथार्थ चित्रणलाइ करिब एक घण्टा १० मिनेटमा प्रस्तुत गरेको थियो । भूकम्पमा ज्यान गुमाएका आफन्त, नवबिबाहित दम्पति एक्लिदाको पीडा, टुहुरा सन्तान र सन्तानको पीडाले छटपटिएको दृश्य र चित्कारले सबै दर्शकहरुलाई भक्कानो छोड्न बाध्य गराएको थियो । आकाशमा हेलिकप्टर उडेको देख्दा राहत आयो कि भनेर खुशी हुदाको आशा निराशामा परिवर्तन हुँदादेखि राहत लुट्ने, गाउँका ठूला ठालू भनाउँदाहरुको ईशारामा राहत वितरण हुने, राहत वितरणमा जानेहरुमाथि गरिने दुर्व्यबहार, राहतको नाउँमा सेल्फी खिचेर आफूलाई समाजसेवी ठान्ने, अनि सरकारी पक्ष्यबाट भएका कमी कमजोरीहरु जस्ता कुकृत्यहरुलाई नाटकले यथार्थ रुपमा चित्रण गर्ने प्रयास गरेकोछ । भूकम्प गएलगतै आफ्नो टिमका साथमा भूकम्प प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष्य अनुभव बटुलेकी बेलायतमा नरसिंग सेवामा कार्यरत प्रसुना कंडेलले राहत वितरण तथा स्वास्थ्य उपचारको लागि जाँदाको कठिनाइलाई प्रस्तुत गरेकी थिइन् । स्वदेश तथा मातृभूमिप्रति सबैले एकजुट भएर अघि बढ्नुपर्ने, फुटेर होइन जुटेर अनि एकापसमा सहयोग र सद्भावका साथ हामी एक हौँ र हुनुपर्छ भन्ने नाटकको मुख्य आशय रहेकोछ । नेपालमा जस्तो नाटक तयार गर्न सजिलो नभएकोले यस नाटक तयार गर्नलाई धेरै मिहिनेत गर्नुपरेको निर्देशक सनम कुमार बरागको धारणा रहेकोछ । नेपालका ग्रामिण क्षेत्रका बालबालिकाहरुको शिक्ष्या स्वास्थ्य एवं गाँस, बास, कपासमा सहयोग पुर्याउने उद्देश्यले उक्त नाटक तयार गरिएको र अझै अन्य विभिन्न स्थानमा पनि उक्त नाटक मन्चन गरिने लक्ष्य रहेको तेन्जी लामा पाख्रिनले बताएकाछन ।

नाटकको प्रारम्भमा भूकम्प पीडितको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । प्रमुख अतिथिको तर्फबाट पत्रकार महासंघ बेलायतका अध्यक्ष्य नरेश खपांगीले नाटकले आफूलाई छोएको र भूकम्प पीडितको नाममा भएका विकृति र दुर्दशाको बारेमा सफल चित्रण गरेको र कलाकारहरुको भूमिका पनि अत्यन्त राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए । त्यस्तै गरी निर्माता तेन्जी लामा पाख्रिन र निर्देशक सनम कुमार बैरागले पनि निकै मिहिनेतका साथ ३ महिना लामो अथक प्रयासपछि नाटक प्रदर्शन गरेको भन्दै कलाकारहरुको मिहिनेत, लगनशीलताको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।
-नरेन्द्र बस्नेत