भाषाको भाँडभैलोमाथि कानुन व्यवसायीको रोष

भाषाको भाँडभैलोमाथि कानुन व्यवसायीको रोष


नेपाली भाषामा भाँडभैलो ल्याउन वर्णविन्यास र लिपिलाई नै समाप्त पार्ने रहस्यपूर्ण षड्यन्त्रप्रति कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठानले गम्भीर आपत्ति प्रकट गरेको छ । नेपाली भाषाको ३५ प्रतिशत हिस्साको लेख्य र कथ्य दुवै माध्यमद्वारा नेपाली भाषालाई निरन्तर चलायमान गर्ने वर्गमा दह्रिएका कानुन व्यवसायीहरूले ‘निर्विवाद नेपाली वर्णविन्यास र देवनागरी लिपिलाई किन विवादित बनाइयो ?’ भन्ने शीर्षकमा आयोजित अन्तर–विमर्श कार्यक्रममा औँला उठाएर प्रतिबद्धता गरे, ‘नेपाली भाषालाई मास्न गोप्य रूपमा हुने कुनै पनि किसिमका बेइमानीलाई सचेत कानुन व्यवसायीहरू मूकदर्शक बनेर हेरिरहने छैनन् ।’
बार एसोसिएसनको सभाकक्षमा आयोजित अन्तर–विमर्श कार्यक्रममा नेपाली भाषा बचाऊँ अभियानका संयोजक डा. बलदेव गाउँले, त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्राडा देवीप्रसाद गौतम, भाषाविद् शरच्चन्द्र वस्ती, शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, भाषासेवी चूडामणि गौतम, साहित्यकार हरि अधिकारीलगायत वक्ताले नेपाली भाषाको वर्णविन्यास र लिपिलाई नै समाप्त पार्न पदवियोग, संयुक्त वर्णमाथि प्रहार, आगन्तुक शब्दमाथि व्यापक विकृति र लेख्य मानकलाई कथ्यअनुरूप लैजाने अवैज्ञानिक एवम् अव्यावहारिक कार्यप्रति समस्त नेपालीहरू जागरुक हुनुपर्ने अनिवार्यतालाई औँल्याए । वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको सो कार्यक्रममा नेपाली भाषा बचाऊँ अभियानका सहसंयोजक एवम् प्रतिष्ठानका अध्यक्ष रामेश्वर राउत मातृदासले नेपाली भाषाको हत्या गर्न अनधिकृत र नियोजित ढङ्गले षड्यन्त्र भएको दाबी गर्दै जीवन हत्केलामा राखेर वाणीवागेश्वरीको सेवा र सम्मानमा आफूहरू समर्पित रहेको दाबी गरे ।

baladev-gaunle