बिरानो देशबाट

बिरानो देशबाट


basanta

■ वसन्त ढुङ्गाना (यात्री)

छु म एक बिरानो भेषमा
गर्मीले भत्भताउने खाडीको देशमा
यी फलामे डन्डीवरिपरिका
लाग्छ, मेरै गाउँले मलाई सरापेका
यो अँध्यारो खोरको भित्तामा
छट्पटाएका मेरा ती सपना
लाग्छ, त्यही पुरानो घर रिसाएको
लाग्छ, बुढीआमाको आँसुले छोएको

आएथेँ यो मुलुकमा
बोकेर थुप्रै सपना
घर खेत बन्धकी राखेर
बुवाको काँधलाई आराम दिएर
आमाको पीडालाई मलम लगाई
सुखी जीवनको स्वाद चखाई
उनलाई आफ्नो बनाउने आसमा
यी मीठा सपनालाई जीवन दिने वाचामा
परदेसिएको मेरो सपना आज खरानी भो
बिरानो देशमा दुःख नै मेरो सिरानी भो

सम्झिँदा ती मीठा क्षण साथीभाइसँग
फलामे खोरका पालेदाइले झस्काउँछन्
प्यारी सानीलाई सपनामै अँगाल्छु त
अरबी बुटको प्रहार बर्सिदिन्छ
गाउँका यादले दुःख भुलाउन खोज्छु
फलामे बारको आवाजले अँठ्याउँछ
प्यारो नेपालको भावमा बहकिन्छु त
विदेशी पिसाचले तर्साउँछ
लाग्छ म त अब ज्युँदो लास भएँ
टुक्रिएका सपनै सपनाको रास भएँ

हे आमाबुवा
यो छोरोलाई माफ गर्दिनु
ती सबै मीठा सपना भत्किइसके
परिस्थितिको दासी भई म आफैँमा बिलाइसकेँ
लास मेरो देख्न पाएमा नरोई बिदा गर्दिनु
त्यो चिसो देहलाई चन्द्र सूर्यले ढाकिदिनु
त्यो रातो रापमा हेर्नु
देशभक्तिको ज्वाला दन्किनेछ
त्यो तातो खरानीमा छाम्नु
नेपालको माया छरपस्ट हुनेछ
अस्तु बगाउँदा बागमती हेर्नु
तिनका आँखामा मोती हुनेछन्
तर पनि आमा तिमी नरुनु
त्यो खरानीको वेगमा पनि
मेरो देशभक्तिको भाव झल्किनेछ
प्यारो नेपालप्रतिको प्रेम टल्किनेछ ।
– पोकली, ओखलढुंगा