बारा–पर्साबाट जाली नोटको कारोबार

बारा–पर्साबाट जाली नोटको कारोबार


सुरक्षा निकाय चुस्त रहँदा सुस्ताएको ठानिएको भारतीय जाली नोटको कारोबार बारा–पर्सामा पुनः व्यापक मात्रामा हुन थालेको बुझिएको छ । जाली नोटका कारोबारीले भरियामार्फत बारा र पर्सासँग जोडिएको बिहार (भारत)को नाकाबाट नक्कली भारतीय रुपैयाँको कारोबार गरिरहेका स्रोतको दाबी छ । जाली नोट पाकिस्तान, बंगलादेशबाट हवाईमार्ग हुँदै नेपाल भित्र्याइने र काठमाडौंबाट बारा र पर्साको नाकाबाट भारत छिराइने सूत्र बताउँछ । सडकमार्गबाट भारतको रक्सौल, आदापुर, मोतीहारीसम्म भरियाले जाली नोट पु¥याउने गरेका छन् । यसरी जाली नोट भारत पु¥याएबापत कारोबारी–भरियाले ६० प्रतिशत हिस्सा प्राप्त गर्ने पनि सूत्रको दाबी छ ।

केही वर्षदेखि वीरगञ्जमा प्रहरी प्रशासनले जाली नोटका कारोबारीलाई धमाधाम पक्राउ गर्न थालेपछि कारोबार बन्दप्रायः रहेको थियो । तर, पुनः जाली नोटको कारोबार सुचारु हुनुमा केले भूमिका खेलेको हो, रहस्यको विषय बनेको छ । वीरगञ्ज नाकाबाट मात्रै करोडौँको जाली नोट कारोबार भइरहेको र यस अवैध धन्दामा वीरगञ्जका केही राजनीतिक दलका कार्यकर्ता र व्यापारीको पनि हात रहेको बताइन्छ ।

हाकिममाथि हातपात
bishnu-koirala

वीरगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालामाथि कार्यकक्षमै प्रशासकीय अधिकृत रामदयाल यादवले हातपात गरेको घटना अझै सेलाउन सकेको छैन । आफूमातहतका कर्मचारीले नाकमै ताकेर मुक्का हान्दा रगतपच्छे बन्न पुगेका कोइरालाले आफूमाथि एक्कासि यसरी किन प्रहार गरियो भन्ने बुझ्न नसकिएको अभिव्यक्ति दिएर घटनालाई रहस्यमयी बनाउन खोजे पनि उक्त घटना घट्नुमा विगत केही समयदेखि कर्मचारीबीच चुलिएको विवाद नै कारकतत्व रहेको बुझिएको छ ।

बताइएअनुसार कार्यकारी अधिकृतका रूपमा वीरगञ्ज उपमहानगरपालिकामा आएपछि विष्णु कोइरालाले करारमा केही कर्मचारी भर्ती गरेका थिए । उनले आफूपक्षधर करारका चालक रमेश गुप्ता र सुशील दासको तलब दश हजारबाट बढाएर १५ हजार पु¥याएका र सोसम्बन्धी निर्णयमा हस्ताक्षर गर्न यादवलाई समेत निर्देशन दिएका थिए । तर, आफूमाथि अनावश्यक दबाब दिइएको भन्दै यादवले हस्ताक्षर नगरेपछि तलब बढाइएका कर्मचारीहरू उनीप्रति खनिए । यसरी आफूमाथि करारका चालक उठाएर विरोध गराएको भन्दै यादवले कार्यकारी अधिकृतमाथि हात हालेको सहजै अनुमान गर्न सकिन्छ । यसरी आफ्नै हाकिममाथि आक्रमण गरी नाक फुटाइदिने यादव फरार छन्, तर उनलाई उपमहानगरपालिकाले निलम्बित गरेको छ ।
– अमित साह