बब्लु गिरोह सक्रिय हुँदा वीरगञ्जवासी त्रसित

बब्लु गिरोह सक्रिय हुँदा वीरगञ्जवासी त्रसित


Bablu

नेपाल र भारतको बिहारमा आपराधिक क्रियाकलाप सञ्चालन गरी आतङ्क मच्चाउँदै आएको कुख्यात बब्लु दुवे गिरोहका सदस्यहरू यतिबेला वीरगञ्जमा सक्रिय रहेको बुझिएको छ । भारत बिहारको मोतिहारी जेलमा कैदीजीवन बिताइरहेका अपराधी दुवेले कारागारबाटै आफ्नो सहयोगी–सञ्जाल फैलाएर वीरगञ्जलाई ट्रान्जिट प्वाइन्ट बनाई आपराधिक क्रियाकलापमा सक्रियता दर्शाएको स्रोतको दाबी छ ।

बब्लुका सहयोगीहरूले बारा र पर्साका बेरोजगार युवालाई विभिन्न प्रलोभन दिएर आफ्नो समूहमा प्रवेश गराई वीरगञ्जका उद्योगी–व्यापारीहरूको गतिविधिबारे सूचना लिने माध्यम तुल्याएका छन् । बेरोजगार युवाहरूलाई अपराधी सदस्यहरूले पकेट मनी भन्दै २०–३० हजार नगद दिने र मदिरा–मासुभात खुवाएर लठ्याउने गरेको स्रोत बताउँछ । स्थानीय ग्रामीण इलाकाका सोझासाधा युवालाई हतियारसमेत दिएर विकृत कर्ममा फसाउन उनीहरू उद्यत् रहेका छन् ।
बताइएअनुसार राजनीतिमा संलग्न कतिपय व्यक्तिले दुवे–गिरोहलाई संरक्षण दिँदै आएका छन् । मोतिहारी जेलबाट सात महिनाअघि मात्र छुटेका पाँडे थरका एक व्यक्तिले बिहारको मेयर चुनावको दुई साताअघि आफ्ना समूहका सदस्यलाई वीरगञ्ज पठाएको र वीरगञ्जका एक ‘नेता’को संरक्षणमा उनकै गाडीमार्फत ती आपराधिक कर्ममा संलग्न सदस्यलाई रक्सौलसम्म पुर्‍याइदिएको बुझिएको छ ।

यसरी भारतीय अपराधीले नेपाली युवालाई आफ्नो समूहमा आकर्षित गर्न थालेबाट वीरगञ्जमा फेरि ठूलै आपराधिक घटना घट्ने त होइन भनी स्थानीय नागरिक त्रसित बन्न पुगेका छन् । केही समयअघि मात्र पनि उद्योगी प्रदीप केडियालाई बब्लु दुवेकै समूहले अपहरण गरेको थियो । केडियाको अपहरण योजना दुवेले मोतिहारी जेलबाटै बनाएको खुलासा भइसकेको छ ।

– अमित साह