फूलको अपमान

फूलको अपमान


Babita Basnet 3

– बबिता बस्नेत

हिजोआज आफूलाई थिच्ने गरी फूलको माला लगाएर मञ्चमा बसिरहेका या भीडभाडमा हात हल्लाइरहेका मानिसका फोटोहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसस्त देखिन्छन् । कतिपय अवस्थामा गलामा लगाइने फूलको मालाले अनुहारै छोपेका कारण माला पहिरिने को हुन् भनेर नचिनिए पनि पक्कै कुनै दलका नेताजी हुनुपर्छ भन्ने अनुमान लगाउन भने गाह्रो पर्दैन । किनभने कुनै विद्वान्, ज्ञानी वा सामाजिक योद्धालाई हामीकहाँ त्यसरी फूलको मालाले स्वागत गर्ने चलन छैन । नेतालाई कसैले असी किलोको, कसैले सय किलोको माला लगाइदिएका समाचार आउने क्रम धमाधम बढ्दै छ । विभिन्न जिल्लामा यसरी माला लगाइदिनेहरूहरूको प्रतिस्पर्धा नै छ भने पनि हुन्छ । गला भरिएर आँखा र टाउको छोपिउञ्जेल माला लगाउनेको अग्रपङ्क्तिमा शायद प्रधानमन्त्री प्रचण्ड नै पर्नुहुन्छ । प्रधानमन्त्री भएपछि होइन, पहिल्यैदेखि उहाँ मालामय देखिनुहुन्थ्यो । त्यसपछि उहाँकै दलका केही नेताहरूसँगै अहिले त काङ्ग्रेस, एमाले सबै दलमा यो प्रतिस्पर्धा बढ्दो छ ।

कार्यकर्ताले जिल्लामा नेतालाई फूलको मालाले पुरिदिएपछि ‘…लाई यति किलोको माला’ भनेर समाचार आउनु स्वाभाविक नै हो । जसले जहाँ लगाए पनि खासमा ती मालाहरू केका लागि लगाइएका हुन् भन्नेचाहिँ न त लाउनेलाई थाहा हुन्छ न त लगाइदिनेलाई । केपी ओली सरकारका पालामा गृहमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला जाजरकोटमा त्यस्तै गरिएको थियो । आँखाले बाहिर हेर्नै गाह्रो हुने प्रकारको फोटोमा गरिएको प्रतिक्रियामा उनको भनाइ थियो, ‘फूलको माला लगाइदिन चाहनेलाई नलाइदेऊ भन्न पनि अप्ठ्यारो, सबैको लाउँदालाउँदै त्यस्तो हुने रहेछ । त्यसमा मेरो के दोष छ र ?’ हुन पनि यसरी हेर्दा कसले कति किलोको मालाले स्वागत गर्दै छ भन्ने कुरा सम्बन्धित व्यक्तिलाई थाहा हुँदैन । अकस्मातै पाएको स्वागतले मनलाई गद्गद् बनाउँदै गर्दा अनुहार भने मान्छे नै नचिनिने भइसकेको हुन्छ । लाउनेले त लगाइदिइहाले, त्यसप्रकारको स्वागत पाउनलाई आफू सही व्यक्ति हो कि होइन भनेर सम्बन्धित व्यक्तिले आफूलाई ‘रिभ्यु’ गरेजस्तो पनि लाग्दैन ।

नेपाली समाजमा फूलको प्रयोग विभिन्न अवसरमा हुने गरेको छ । दुःखदेखि खुशीसम्म या यसरी भनौँ, विजयोत्सवदेखि शवयात्रासम्म । इन्गेजमेन्टदेखि विवाह हुँदै हनिमुनसम्म । श्रद्धा प्रकट गर्न फूल, खुशी भएको देखाउन फूलकै गुच्छा, प्रेम प्रकट गर्न पनि फूल । श्रद्धादेखि श्रद्धाञ्जलीसम्म फूलकै प्रयोग गर्ने गरिएको छ । मन्दिरमा देउतालाई फूल नै चढाइन्छ, तर भगवान्लाई आजसम्म कसैले पनि पचास या असी किलोको माला चढाएको देखिएको छैन । भगवान्लाई एक थुँगा फूल या एउटा माला चढाउँदा हुन्छ, चढाइने गरिएको छ । हिन्दूहरूका निम्ति फूलको महत्व भगवान् र पूजाआजाले बढाइदिए पनि अन्य सबै धर्मावलम्बीहरूले कुनै न कुनै रूपमा फूलको प्रयोग गर्छन् नै । हिन्दूहरू लास जलाउँछन्, सकिन्छ । आफन्तको लास जमिनमुनि राख्नेहरूको पीडा चिहानका कारण बाँचुन्जेल रहन्छ । जन्मदिन या तिथिहरूमा उनीहरूले चिहानमाथि चढाउने फूलका धेरै गुच्छा आँसुले भिजेका हुन्छन् । तर, मानिस जिउँदै हुँदा फूलले पुर्नेचाहिँ बाहिर त्यति देखिँदैन, जति हामीकहाँ देखिन्छ । फूलको उपहार दिने क्रमको सुरुवात युरोपबाट भए पनि नेताहरूलाई सय किलोको माला भने त्यतातिर लगाइँदैन । हामीकहाँ जसरी फूलको वर्षा हुनका लागि त्यतातिर ठूलै काम गरेको हुनुपर्छ । यहाँजस्तो भाषण गर्न आएकालाई फूलले छोप्ने चलन अरू मुलुकमा शायद छैन । छिमेकी मुलुक भारतमा चाहिँ नेतालाई बडेमानका माला पहिराइदिएको बेलाबेलामा देखिन्छ । वास्तवमा कार्यकर्ताले नेतालाई त्यति धेरै फूलको माला किन लगाइदिएका होलान् ? कार्यकर्ता भनेका पनि त सार्वसाधारण नै त हुन् । प्राध्यापक देवराज दाहालको भनाइमा जनताले नेतालाई लगाइदिने माला फूलको भारी मात्र होइन उत्तरदायित्वको भारी हो । तर, नेताले मालाको थुप्रोलाई उत्तरदायित्वको रूपमा नलिएर आफू ठूलो मान्छे भएकाले जनताले सम्मान गरे भन्ने अर्थमा लिने गरेका छन् । पदमा पुगेपछि मख्ख पर्दापर्दै कतिको त मुलुक र जनताका लागि केही गर्दै नगरी कार्यकाल सकिन्छ ।

त्यसो त राजनीतिमा फूलको नाम दिएर अभियान नभएकोचाहिँ होइन । सन् १९५६ मा माओले चीनमा चलाएको ‘हन्ड्रेड फ्लावर मुभमेन्ट’ले चीनको राजनीतिक इतिहासमा ठूलो महत्व राख्छ । अभियानको नाम फ्लावर अर्थात् फूलसँग सम्बद्ध भए पनि फूलको भौतिक उपस्थिति नभएर बौद्धिक व्यक्तित्वहरूलाई एक ठाउँ ल्याउनका लागि उक्त अभियान सफल भएको मानिन्छ । हामीकहाँ चाहिँ फूलको मालाको सम्मान स्वयम् माला लगाउनेहरूबाट हुन सकेको छैन । जनताले लगाइदिएको फूलको सम्मानका लागि सम्बन्धित ठाउँ या मुलुकलाई हित हुने कुनै न कुनै काम गर्नुपर्ने हो, तर त्यस्तो खासै पाइएको छैन ।

फूलको मालाको सन्दर्भमा मानिसको मनोविज्ञान बुझ्नै नसक्ने प्रकारको देखिन्छ । मुलुकको जुनसुकै कुनामा पुगे पनि हामीकहाँ अहिले सबैभन्दा बढी नकारात्मक टिप्पणी गरिने भनेको नेतालाई नै हो । अचम्म त के भने नेताहरू जिल्ला जाँदा फूलका गुच्छा र माला बोकेर स्वागत गर्न आउने पनि तिनै मानिस हुन्छन् जो अरू बेला तिनैलाई भरमार गाली गरिरहेका हुन्छन् । कुनै पनि नेताले मलाई यति किलोको माला चाहियो भनेर भन्दैनन्, तर मालाको तयारी गर्ने तिनै कार्यकर्ता हुन् जो अरू बेला हाम्रा नेताको कामै छैन या नेताहरू यस्ता उस्ता भनेर टिप्पणी गर्ने गर्छन् । एकपटक धनगढीमा त्यस्तै भयो । एउटा राजनीतिक दलसँग आबद्ध व्यक्ति अर्को दलका नेतालाई मजाले गाली गरिरहेका थिए । होटेलको कम्पाउन्डमा गफ गरिरहँदा जब ती नेता संयोगवश काठमाडौंबाट उनको अगाडि टुप्लुक्क आइपुगे, तिनलाई के गरुँ कसो गरुँ जस्तो भयो र त्यही होटेलहातामै फूलेको फूल टिपेर हातमा दिँदै बडो आदरभावका साथ सम्मान प्रकट गरे । उक्त दृश्यबाट आश्चर्यचकित यो पङ्क्तिकारले नेताजी गएपछि ‘तपाईंको कुरा गराई र व्यवहार त फरक भयो नि ?’ भन्दा ‘होइन हामीकहाँ यस्तै चलन छ’ भने । आँखैअगाडि ती सुन्दर फूलहरूको अपमान मात्र होइन हत्या नै भएझैँ लाग्यो । कसैलाई फूल दिने भनेको त सम्मानका लागि हो । मनमा अर्कै कुरा राखेर हातमा फूल दिनुको के अर्थ हुन्छ र ? देउतालाई एउटै फूल काफी हुन्छ, जति चढाइन्छ श्रद्धाले चढाइन्छ । सय किलोको मालामा कसैको तस्बिर हेर्दा त्यसमा श्रद्धाभन्दा बढी स्वार्थ मिसिएको झैँ देखिन्छ । जसलाई चढाए पनि फूल सम्मानका लागि हो । बिनाप्रयोजन र योगदान कसैलाई खै कति–कति किलोको माला लगाएर कृपया फूलको अपमान नगरौँ ।