फुटबलका एक्ला ‘वृहस्पति’ !

फुटबलका एक्ला ‘वृहस्पति’ !


– श्रीविक्रम भण्डारी

‘फुटबल’ शब्दको उच्चारण गर्दा टासी घलेको नाम छु¥यो भने नेपाली फुटबल अपूरो हुन्छ, अर्थात् तरकारीमा नुन नहालेको भनेजस्तै हो नेपालको फटबलमा टासीको नाम छुट्नु भनेको । खेलाडीको रूपमा होस् या प्रशिक्षक अनि व्यवस्थापक, घलेको नाम अग्रपङ्क्तिमा आउँछ । अझ उनको राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने हो भने घले एक कुसल र सफल समन्वयकर्ता भएको उनको इतिहासले प्रमाणित गर्दछ । घलेले नेपाली फुटबलको समग्र विकास र विस्तारमा गरेको योगदान आफैँमा अतुलनीय र प्रसंशायुक्त छ । फुटबल क्लबको स्थापना होस् या फुटबल एडेकेमीको स्थापना उनको दूरदर्शी सोच आफैँमा तारिफयोग्य छ । आफूले स्थापना गरेको मनाङमस्र्याङ्दी मात्र नभई अन्य क्लब र एकेडेमीको विकास घलेले निभाएको भूमिका आफैँमा चर्चा र उदाहरणको विषय बनेको छ । फुटबलमा आग्रह–पूर्वाग्रहभन्दा पनि सबैलाई समान दृष्टिकोण हेर्ने उनी नेपाली फुटबलमा कहिल्यै विवादमा नपरेका ‘चोखा’ पात्र पनि हुन् । फुटबलमा विवाद होइन, विकास गर्नुपर्छ भन्ने मान्यता राख्ने घले अहिले पनि त्यो कुरामा अडिग छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को उपाध्यक्षको जिम्मेवारी दुईपटक सम्हालिसकेका घले यसपटक फुटबलकै कारण चर्चामा आएका छन् । उनी संस्थापक अध्यक्ष रहेको नेपालको चर्चित ‘ए’ डिभिजन क्लब मनाङमस्र्याङ्दीले घलेलाई आउँदो कात्तिकमा हुने एन्फाको साधारणसभामा अध्यक्षमा उठाउने निर्णय गरेको छ । जसको शङ्खनाद स्वयम् घलेले गत साता गरेका छन् । घलेले आफू एन्फाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै नेपाली फुटबलको कायापलट गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।

सानै उमेरदेखि फुटबलप्रतिको लगाव टासीका लागि बरदान साबित भयो । फुटबलप्रतिको समर्पित भावना, लगनशीलता र अनुशासनले गर्दा उनी छोटो समयमै फुटबलको उत्कृष्ट खेलाडी बन्न सफल भए । ०३१ सालमै ठमेल–११ जस्तो चर्चित क्लबबाट खेल्ने अवसर पाए । त्यसपछि फुटबलको रङ्गमञ्चमा जमेका घलेले पछाडि फर्केर हेर्नुपरेन । उनको उत्कृष्ट प्रदर्शनको तारिफ हुन थाल्यो । परिणाम, तत्कालीन चर्चित ‘ए’ डिभिजनका क्लबहरू एनआरटी, ब्वाइज युनियन र सङ्कटाबाट खेल्ने अवसर प्राप्त गरेका थिए । ब्वाइज युनियन र सङ्कटाबाट खेल्दा उत्कृष्टताको छाप छाड्न नसके पनि एनआरटीमा भने घलेको सफर स्मरणयोग्य र तारिफयोग्य रहेको थियो । यसर्थमा कि घले उक्त क्लबका खेलाडी मात्र नभई व्यवस्थापक पनि थिए । दुई महŒवपूर्ण भूमिका आफैँले निभाएका उनले सो समयमा एनआरटीलाई सहिद स्मारक लिगमा दोस्रो र राष्ट्रिय लिगमा प्रथम बनाउन सफल भएका थिए । त्यस्तै श्रीलङ्कामा सम्पन्न भएको एसियन क्लब च्याम्पियनसिपमा एनआरटीलाई सहभागी गराउँदै माल्दिभ्सविरुद्ध गोल गर्नसमेत सफल भएका थिए ।

फुटबलको मात घलेको रगतमा यसरी चढ्यो कि उनी यसमा चुर्लुम्म डुबे । परिणाम, ०३३ सालमा मनाङमस्र्याङ्दी क्लबलाई जन्माउन पुगे, संस्थापक अध्यक्ष भएर । खुद प्रशिक्षक भएर टिमलाई सम्हालेका घलेले त्यसपछि क्लबको आधारस्तम्भ खडा गर्न मणि शाह, विराटजंग शाही, अञ्जित बस्नेत, उमेश प्रधान, मुकेश शाही, अमिर लामा, अहजर अधिकारी, पुष्प केसी र दीपक शर्मालगायतका उदीयमान खेलाडीलाई क्लबमा भिœयाउन सफल भएका थिए । घलेको प्रशिक्षणमा मौलाउन पाएका ती युवा खेलाडीले मनाङको स्तरोन्नतिका लागि गरेको प्रदर्शन आफैँमा अकल्पनीय बनेको छ । यसर्थमा कि मनाङले ‘डी’, ‘सी’, ‘बी’ लिगमा लगातार च्याम्पियन बनेर कीर्तिमान कायम गर्दै ‘ए’ डिभिजनको सिढीमा उक्लिएको थियो । त्यस्तै ‘ए’ डिभिजनमा एउटै गोल नखाएर लिग च्याम्पियन बनेर नौलो कीर्तिमान कायमसमेत गरेको थियो । यसपछि मनाङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा धाक जमाउँदै नेपालको नम्बर एक क्लब बन्न सफल भएको इतिहास हाम्रोसामु छ । मनाङको स्थापनासँगै उक्त क्लबलाई शिखरमा पु¥याउन विशेष भूमिका निर्वाह गरेका घलेले आफ्नो जन्माएको सन्तानको रेखदेख र पालनपोषणमा अहिले पनि खुलेर लागेका छन् ।

फुटबलमा गरेको योगदानको कदरस्वरूप सन् १९८४ मा टासी घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को उपाध्यक्षमा मनोनीत भए । त्यसको एक वर्षपछि भएको निर्वाचनमा घले उपाध्यक्षमा निर्वाचित भएर फुटबलसँगको आफ्नो साइनोलाई अझ प्रगाढ पारेका थिए । लगातार दुई कार्यकाल एन्फाको उपाध्यक्षको जिम्मेवारी सम्हालेका घलेले सोही अवधिमा एसियन फुटबल महासङ्घ (एएफसी)को टेक्निकल कमिटीको सदस्यसमेत बन्न सफल भएका थिए । उनको उक्त कार्यकाल चार वर्षको थियो । एएफसीमा देखाएको कार्यकुशलताले घलेलाई नयाँ उचाइमा पु¥याएको थियो । परिणाम, नेपालमा आयोजना भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा (साफ)मा दशरथ रंगशाला मर्मत र व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी घलेले पाएका थिए । त्यसबेला उनले दशरथ रंगशालालाई दुलहीजस्तै बनाउनुको साथै अन्तर्राष्ट्रियस्तरको खेलमैदानसमेत तयार पारेका थिए । यही कार्यकुशलताको सम्मान गर्दै तत्कालीन श्री ५ को सरकारले घलेलाई गोर्खा दक्षिण बाहु पदक प्रदान गरेको थियो । त्यस्तै, घलेले आठौँ साफमा राष्ट्रिय फुटबल टिमले लगाएको जर्सीको डिजाइन खुद आफैँले गरेका थिए । नेपाली राष्ट्रिय झण्डाको रङ्गलाई प्रतिनिधित्व गर्ने रातो र नीलो रङ्गको उक्त जर्सीको चर्चा हिजो जति थियो आज पनि त्यति नै छ ।
व्यवस्थापन पक्षमा अब्बल साबित हुँदै आफ्नो प्रभाव र धाक जमाउँदै गएका घलेले त्यसपछि एकपछि अर्को राष्ट्रिय जिम्मेवारी पाएका थिए । त्यसमा एन्फा कम्प्लेक्सको निर्माणको जिम्मेवारी आफैँमा अवसर र चुनौतीको रूपमा घलेलाई प्राप्त भएको थियो । तर, आत्मविश्वासी घलेले उक्त जिम्मेवारी उत्कृष्ट रूपमा समयमै सम्पन्न गरेर सबैलाई आश्चर्यचकित पारेका थिए । पछि एन्फा युथ एकेडेमी र जापान युथ प्रोजेक्टको अध्यक्ष र संयोजक भई नेपालमा फुटबलको विकासका लागि ग्रासरुटदेखि नै लागेका थिए । जसमा १२ वर्षमुनिका ४० जना खेलाडीको सहभागिता रहको थियो । विजय गुरुङ त्यसका प्रतिनिधि पात्र हुन् जो अहिलेसम्म पनि सक्रिय रूपमा फुटबल खेलिरहेका छन् । एन्फा कम्प्लेक्सको निर्माणसँगै एन्फा एकेडेमी कुशलतापूर्वक सञ्चालन गरेपछि घलेलाई पोखराको साहारा क्लबले सञ्चालन गरेको साहारा फुटबल एकेडेमीको सल्लाहकारमा नियुक्ति गरेको थियो । पछि यही साहारा क्लबले अनिल गुरुङजस्ता नेपालका चर्चित स्ट्राइकरलाई जन्माउन सफल भएको थियो ।

घले कोरियन फुटबलको स्टाइल र मोडलप्रति ज्यादै आकर्षित छन् । उनी नेपाली फुटबलको ढाँचालाई पनि कोरियन स्टाइल र मोडलमा बदल्न चाहन्छन् । यसको उदाहरण उनको कोरियन फुटबलसँगको सम्बन्ध र कोरियन प्रशिक्षकलाई मात्र छनोट गर्नुले पनि यसको पुष्टि गर्छ । नेपालको राष्ट्रिय फुटबल टिमलाई २२ महिना आफ्नै होटेलमा राखेर घलेले कोरियन प्रशिक्षकबाट प्रशिक्षण गराएका थिए । त्यस्तै, मनाङमस्र्याङ्दी क्लबका लागि तीनपटक विश्वकप फुटबल खेलिसकेका ली थाई ऊलाई प्रशिक्षकको रूपमा भिœयाएर अहम् भूमिका निभाएका थिए । नेपाली फुटबल र घलेको कोरियन मोडलको सपना आफँैमा उत्कृष्ट भएकाले भविष्यमा यसले सार्थकता पाउने कुरामा विश्वास गर्न सकिन्छ । सम्बन्ध नै सबैभन्दा ठूलो हतियार हो । सम्बन्धले फुटबलको विकास मात्र नभई आपसी कटुतालाई प्रेममा समेत बदल्न सकिन्छ भन्ने उदारहण घलेले प्रस्तुत गरिसकेका छन् । विवादको दलदलमा भासिँदै गएको फुटबललाई बचाउन गणेश थापा र गीता राणाको झगडामा फुटबललाई बचाउन उनले जुन भूमिका निर्वाह गरेका थिए त्यो आज पनि फुटबल खेलाडी र पदाधिकारीको मानसपटलमा ताजै छ । त्यसबेला थापा र राणाका गरी दुईवटा राष्ट्रिय फुटबल टिम थिए । एकले अर्कालाई फुटेको आँखाले देख्न नसक्ने अवस्थामा समेत घलेले दुवै पक्षबीच समन्वय गरेर विश्वकप छनोट चरणमा नेपाली खेलाडीलाई खेलाउन सफल भएका थिए । जसको तारिफ हिजो पनि भएको थियो, आज पनि भइरहेको छ र भोलि पनि हुनेछ । तसर्थ अहिले फुटबलको एक्लो वृहस्पतिका रूपमा टासी घलेको उदय भएको हो भन्दा अतिसयोक्ति नहोला ।

Tasi Ghale

भावी योजना र प्रतिबद्धता
– नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालालगायत पाँच विकास क्षेत्रमा अवस्थित पोखरा, वीरगन्ज, विराटनगर, धनगढी र नेपालगन्जका रंगशालालाई तत्काल पुनर्निर्माण गरी राष्ट्रिय लिग फुटबल प्रतियोगिता एक वर्षमा सञ्चालन गर्ने ।
– ५० हजार क्षमता भएको रंगशालाको निर्माणका लागि स्थानको पहिचान भइसकेको र क्याबिनेटबाट पास गराउन पहल गर्ने ।
– राष्ट्रिय फुटबल टिमलाई स्वदेशी र विदेशी प्रशिक्षकको व्यवस्था गरी दक्षिण एसियाको नम्बर एक टोली बनाउने र विगतमा सञ्चालन हुँदै आएको एन्फा कप अन्तर्राष्ट्रिय फुटबल कपलाई निरन्तर सञ्चालन गर्ने ।
– पाँचै विकास क्षेत्रमा युथ एकेडेमी स्थापना गरी महिला तथा पुरुष युथ प्रोजेक्ट सञ्चालन गर्ने ।
– राष्ट्रिय लिग खेल्ने प्रत्येक क्लबलाई प्रायोजनको व्यवस्था गर्ने ।
– वार्षिक कार्यक्रमअन्तर्गत अनुशासित र उत्कृष्ट खेलाडी, प्रशिक्षक निर्णायक, क्लब र जिल्लाहरूलाई छनोट गरी विशेष पुरस्कार प्रदान गर्ने ।

टासीको निर्विरोध हुने सम्भावना

आफूलाई एन्फाको नायक भन्नेहरू कोठे राजनीति गर्दै झिँगेदाउ हान्नमा व्यस्त रहेका बेला एन्फाका पूर्वउपाध्यक्ष टासी घलेले अध्यक्ष पदको उम्मेदवारको घोषणा गरेर फुटबलमा नौलो तरङ्ग उत्पन्न गरिदिएका छन् । घलेको घोषणासँगै एन्फाको साधारणसभाको चर्चा पनि चुलिएको छ । यसअघि एन्फाको भावी अध्यक्षमा एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा छिरिङ र प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नाम चर्चामा आए पनि उनीहरूले अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारीको घोषणा नगर्दा कतै घले निर्विरोध अध्यक्ष बन्ने त होइनन् ? प्रश्न खडा भएको छ । प्राप्त जानकारीका अनुसार घलेले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरेपछि अन्य पदाधिकारीका लागि चुनौती खडा भएको हो । साथै घलेले उम्मेदवारी दिएपछि उनीविरुद्ध उम्मेदवारी दिने कि नदिने भन्ने अन्योलमा परेको जानकारीमा आएको छ ।

यतिवेला फुटबलसँग प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सरोकार राख्नेहरूले एन्फामा परिवर्तन चाहेको प्रस्ट रूपमा देखिएको छ । उनीहरू एन्फामा नयाँ अनुहार देख्न चाहन्छन् । त्यसको लागि साम, दाम, दण्ड, भेद चारै नीतिको अवलम्बन गर्दै २० वर्षे तानाशाही समाप्त गर्ने योजनामा अहिले फुटबलका शुभचिन्तकहरू लागिपरेका छन् । जसको नेतृत्व अहिले टासी घलेले गर्दै आएको पनि सुनिनमा आएको छ । एन्फाको आगामी नेतृत्वको चर्चा गर्दा अहिले घले अग्रपङ्क्तिमा देखिएका छन् । जिल्ला र काठमाडौंका ‘ए’, ‘बी’, र ‘सी’ डिभिजनका क्लबहरूको मनस्थिति हेर्दा घलेको समर्थनमा लहर आएको जस्तै देखिएको छ । पुरानो अनुभव, राम्रो खेलाडी, उत्कृष्ट व्यवस्थापक र स्तरीय प्रशिक्षकका कारण घले अहिले एन्फाका लागि पहिलो च्वाइस बनेका हुन् । अझ उनको पब्लिक रिलेसन र व्यापारिक ब्याकग्राउन्डले घलेलाई एन्फाको बलियो उम्मेदवार बनाएको छ । तसर्थ टासीलाई अन्य पदाधिकारी साथ दिएर भने अन्यथा मानिनेछैन ।

यतिबेला एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ गणेश थापाको इसारामा उम्मेदवारी दिन लागेको कसैबाट छिपेको छैन । उनी फुटबलका भन्दा थापाका आधिकारिक उम्मेदवार हुन् भन्दा अतिसयोक्ति नहोला । थापाले एन्फामा गरेका कर्तुतको ढाकछोप गर्न उनीबाहेक लायक उम्मेदवार अर्को हुन पनि सक्तैन । त्यसैले श्रेष्ठलाई थापाले टपक्क टिपेर कावा अध्यक्ष बनाएका पक्कै होइनन् । यतिबेला पर्ख र हेरको रणनीति रहेका थापाले श्रेष्ठ कमजोर देखिए कर्मा छिरिङलाई आफ्नो उम्मेदवार बनाए अन्यथा मान्नुपर्ने छैन । कर्माले आफूलाई काङ्ग्रेसको उम्मेदवार भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा थापाको कुरा कत्तिको खालान् त्यो भन्न सकिने अवस्था छैन । तर, नरेन्द्र श्रेष्ठको आत्मविश्वास हेर्दा कर्माले आफूलाई साथ दिने कुरामा उनी ढुक्क छन् । यहाँ बागमतीमा पानी धेरै बगिसकेको अवस्था छ । थापाका हनुमानहरूले एन्फामा राज गरेको अहिले दुई दशक बितिसकेको छ । यस्तो अवस्थामा थापालाई एन्फाबाट लखेट्न महिनौँ पसिना बगाएका कर्माले श्रेष्ठलाई साथ दिलान् भनेर रक्तिभर पनि सोच्न सकिँदैन । त्यसभन्दा थापाका मतियारहरूलाई एन्फाबाट लखेट्न घलेलाई साथ नदेलान् भन्न सकिँदैन ।

पूर्वफुटबल खेलाडी तथा वर्तमान अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञान शर्माले पनि एन्फाको अध्यक्षमा उम्मेदवारी दिने प्रतिबद्धता जाहेर गरिसकेका छन् । घलेको उम्मेदवारीभन्दा पहिले उनको नाम नै अग्रपङ्क्तिमा थियो । तर, घलेले उम्मेदवारी घोषणा गरेपछि शर्मा अप्ठ्यारोमा परेका छन् । साथीविरुद्ध उम्मेदवारी दिने कि साथीलाई सघाउने अहिले उनका लागि चुनौती बनेको छ । हार र जितभन्दा पनि एन्फाको नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ भन्ने मान्यता राख्ने शर्मालाई भोलि थापाले सहयोग गर्न सक्ने सम्भावना पनि उत्तिकै छ । खेलाडी र प्रहरीमा क्लिन छवि भएका शर्मा अब टासी र कर्मालाई साथ लिएर अगाडि बढ्छन् कि एन्फामा आमूल परिवर्तनका लागि कृष्ण बनेर देखापर्छन् त्यो प्रतीक्षाको विषय बनेको छ । र पनि अहिले एकजनाले घोषणा गरे पनि अन्य उम्मेदवार अनसिनमा छन् । उनीहरूको घोषणासँगै एन्फामा घम्साघम्सी हुने प्रायः निश्चित छ ।