प्रधानमन्त्री पद त्याग नगर्न प्रचण्डमाथि इच्छित दबाब

प्रधानमन्त्री पद त्याग नगर्न प्रचण्डमाथि इच्छित दबाब


देउवालाई छकाउने अन्तिम प्रयास

स्थानीय तहको दोस्रो चरणको चुनाव पनि प्रचण्डकै नेतृत्वमा हुनुपर्ने तर्क एमाले नेतृत्वले गर्दै आएको छ । शेरबहादुर देउवाको नेतृत्वमा चुनाव भए गडबड हुन सक्ने खुल्ला आरोप एमालेले लगाएको छ । एमालेको यस रवैयाले पदमा रहिरहने तीव्र आकाङ्क्षा पालेका प्रचण्डलाई राहत पु¥याएको छ । देउवालाई विश्वास दिलाउन प्रचण्डले मंगलबार बिहान आफ्नो राजिनामा पत्र देखाएर देउवालाई आश्वस्त तुल्याएलगत्तै एमाले नेतृत्वसँग सम्पर्क गरी उनले ‘संसद् अवरुद्ध गरिदिन आग्रह गरेको’ हुन सक्ने स्रोतको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न आनाकानी गरेका छन् । उनले पदबाट राजीनामा दिने र काङ्ग्रेस नेतृत्वमा सरकार गठन गर्न मार्गप्रसस्त गर्ने भनी आफ्ना अधिकारीहरूबाट प्रचार गराएका कारण कुनै पनि दिन प्रधानमन्त्रीले पदबाट राजीनामा दिने विश्वास बढेको थियो । यस किसिमको अभिव्यक्तिबाट सबैभन्दा बढी प्रभावित काङ्ग्रेस सभापति शेरबहादुर देउवा बनेका थिए र अब कुनै पनि क्षण प्रचण्डबाट आफूलाई सत्ता हस्तान्तरण हुनेमा उनले पूर्ण विश्वास गरेका थिए । मङ्गलबार विहान प्रचण्डले आफूले दिन लागेको राजिनामाको लिखित ब्यहोरा देखाएपछि देउवा प्रचण्डले पद त्याग गर्छन् भन्नेमा थप विश्वस्त भएका थिए । तर तीन प्रमुख दलबीच सहमति नबनेका कारण मङ्गलबार प्रधानमन्त्रीको राजिनामा घोषणा हुन सकेन ।

ज्ञातव्य छ, माओवादी अध्यक्ष प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच गत वर्ष आलोपालो प्रधानमन्त्री बन्न लिखित तर गोप्य सम्झौता भएको थियो । सो सम्झौताअनुसार गत चैत मसान्तमा प्रचण्डले पदबाट राजीनामा गरी वैशाख १ गतेदेखि शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नुपर्ने थियो । तर, प्रचण्डले वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति तोकिएको र गोप्य सम्झौतामा पनि स्थानीय निर्वाचन आफ्नै नेतृत्वको सरकारले गराउने भन्ने व्यहोरा उल्लेख भएको तर्क गर्दै देउवालाई एक महिना धैर्य गर्न आग्रह गरेका थिए । देउवाले सदासयतापूर्वक प्रचण्डको उक्त आग्रहलाई सहजै स्वीकार गरे र निर्वाचनको समयसम्म पर्खिए । जब पहिलो चरणको निर्वाचन सम्पन्न भयो त्यसपछि प्रचण्डले चुनाव परिणाम आइसकेपछि राजीनामा गर्ने र संसद्लाई विशेष सम्बोधन गरी सत्ता हस्तान्तरण गर्ने आश्वासन दिए । यसलाई पनि देउवाले विश्वास गरेका हुन् । तर, ९ गते मङ्गलबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद्को बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरेर साँझ ७ बजेको लागि स्थगित गरियो । यस घटनाक्रमले प्रधानमन्त्रीको राजिनामा आउनेमा थप आशङ्का पैदा भयो ।

यस क्रममा सरकारले स्थानीय तहको सङ्ख्या बढाएको भन्दै नेकपा (एमाले)ले संसद्को बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि ७ बजे बेलुकीका लागि तय गरिएको बैठक पनि बस्न सकेन । त्यसपछि प्रधानमन्त्री प्रचण्ड र सभामुख ओनसरी घर्तीले आ–आफ्नो तर्फबाट एमालेसँग अलग–अलग छलफल गरेको तर एमाले सहमतिमा नआएको कारण दर्शाउँदै बुधबार ११ बजे सम्मका लागि संसद् स्थगित गरिएको सूचना जारी गरियो । स्मरणीय के छ भने स्थानीय तहको दोस्रो चरणको चुनाव पनि प्रचण्डकै नेतृत्वमा हुनुपर्ने तर्क एमाले नेतृत्वले गर्दै आएको छ । शेरबहादुर देउवाको नेतृत्वमा चुनाव भए गडबड हुन सक्ने खुल्ला आरोप एमालेले लगाएको छ । एमालेको यस रवैयाले पदमा रहिरहने तीव्र आकाङ्क्षा पालेका प्रचण्डलाई राहत पु¥याएको छ । देउवालाई विश्वास दिलाउन प्रचण्डले मंगलबार बिहान आफ्नो राजिनामा पत्र देखाएर देउवालाई आश्वस्त तुल्याएलगत्तै एमाले नेतृत्वसँग सम्पर्क गरी उनले ‘संसद् अवरुद्ध गरिदिन आग्रह गरेको’ हुन सक्ने स्रोतको भनाई छ ।

Deuwa-Prachanda 9

यसबाहेक, प्रधानमन्त्री प्रचण्डमाथि दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब पर्न थालेको थियो । भर्खरै सरकारमा सामेल भएका राजनीतिक दलहरू, काङ्ग्रेसका कतिपय नेताहरू र मधेसकेन्द्रित समूहहरूबाट समेत प्रचण्डलाई तत्कार पद त्याग नगर्न ‘दबाब’ भइरहेको बुझिन्छ । तर, यस्तो दबाब प्रचण्डको इच्छाभन्दा बाहिरको नभएको भने स्वतः बुझ्न सकिन्छ । सरकारको नीति तथा कार्यक्रम ल्याउन तयार हुनु र पूर्ण बजेट ल्याउने तयारी गर्नुले पनि प्रचण्ड तत्काल पद छोड्ने मानसिकतामा नभएको देखाउँछ । यदि उनी पद छोड्ने मानसिकतामा रहेको भए नयाँ नेतृत्वलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अवसर दिन सक्थे । जसले पद छोड्ने हो उसैले वर्ष दिनका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरा आफैँमा हास्यास्पद हुन सक्छ । तर, प्रचण्डले यति नबुझेर वा दुनियाँलाई हसाउनका लागि मात्रै राजीनामा दिनुअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको भनेर मान्न सकिने अवस्था छैन ।

दोस्रो चरणको निर्वाचन देखाएर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, त्यसपछि पूर्ण बजेट ल्याउने, त्यसैबीच दोस्रो चरणको निर्वाचन पनि सम्पन्न गर्ने र त्यसपछि बजेट पारित भइसकेपछि मात्र सरकार छोड्ने कुरा प्रचण्डले गर्न थाले भने आश्चर्य मान्नुपर्ने छैन । पहिलोपटक प्रधानमन्त्री रहेका बेला ‘सेनापति प्रकरण’मा पदबाट राजीनामा दिनुलाई गम्भीर भूलका रूपमा विश्लेषण गर्ने प्रचण्डले पुनः ‘पद त्याग्ने भूल’ नगर्ने उनकै निकटवर्तीहरूले पनि बताउन थालेका छन् । त्यसैले एउटा बाध्यात्मक र निर्णायक अवस्थामा मात्रै प्रचण्डले पद त्याग गर्ने र शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न सक्ने सम्भावना देखिएको छ ।

यसरी प्रचण्डले भुलाउने र छलाउने गर्न थालेपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवा भने सकसमा परेका छन् । एक त प्रचण्डले सत्ता हस्तान्तरणको मिति लम्ब्याउँदै गएको र अर्को प्रचण्डसँग आलोपालो प्रधानमन्त्री बन्ने भनी सम्झौता भएको जानकारी काङ्ग्रेस पार्टीलाई नगराएकोले पनि देउवा सकसमा परेका हुन् । गत वर्ष प्रचण्डसँग भएको भनिएको गोप्य सम्झौताबारे नेपाली काङ्ग्रेस पार्टी जानकार नरहेको हुँदा हल्ला–चर्चाकै भरमा काङ्ग्रेसले ‘उक्त सम्झौता’को स्वामित्व लिने सम्भावना देखिएको छैन । देउवाप्रतिको असन्तुष्टि पार्टीभित्र बढ्दै गएको परिप्रेक्ष्यमा उनका आकाङ्क्षाहरूलाई पार्टीले जस्ताको त्यस्तै अनुमोदन गर्ने विश्वास गर्न सकिन्न । विमलेन्द्र निधि र डा. शेखर कोइरालालगायत काङ्ग्रेसभित्रै पनि एकाथरी शक्ति आफ्ने पार्टीको नेतृत्वमा सरकार गठन गर्न नहतारिने स्थितिमा रहेको हुँदा त्यसको लाभ अन्ततः प्रचण्डलाई नै पुग्ने देखिन्छ । घटनाक्रमहरूले विद्यमान गठबन्धन जोगाउने, तर सरकारको नेतृत्व तत्काल नबदल्ने प्रयास भइरहेको देखाउँछ ।

प्रचण्डलाई सरकारमा निरन्तरताको लागि एमालेबाट पनि प्रस्ताव नभएको होइन । उनी एमालेको समर्थन लिएर भए पनि अघि बढ्न नचाहने स्वभावका व्यक्ति पनि होइनन् । तर, जुन पृष्ठभूमिमा जो–जसको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको छ त्यसलाई तोडेर जाने स्वतन्त्र हैसियतमा पनि प्रचण्ड छैनन् । त्यसैले सत्ता गठबन्धनमै सङ्कट आउने र त्यसले एमाले मात्रलाई लाभ पु¥याउने स्थिति उत्पन्न हुन खोजेमा प्रचण्डबाट शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण हुन सम्भव छ । र, त्यस्तो अवस्था आगामी कुनै पनि दिन कुनै पनि क्षण आउन सक्ने देखिन्छ ।