पूर्वराजाबाट सुनौलो घ्याम्पो दान

पूर्वराजाबाट सुनौलो घ्याम्पो दान


पूर्वराजा पैदलै भीमसेनस्थान पुग्ने

ex king gyanendra

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले करिब पचास लाख रुपैयाँको लागतमा निर्माण गरिदिनुभएको विशाल घ्याम्पोको प्राण प्रतिष्ठा असोज १६ गते एक भव्य समारोहबीच गरिने भएको छ । प्रत्येक वर्ष लाग्ने पचली भैरवको जात्रामा राजासँग खड्ग साट्ने र हरेक बाह्र वर्षमा घ्याम्पो फेर्ने परम्परा रहिआएकोमा १५ वर्षअघि तात्कालिक राजाले घ्याम्पो फेरिदिनुभएको थियो । १२ वर्ष बितेको तीन वर्षपछिसम्म पनि घ्याम्पो फेरिने व्यवस्था कसैले नगरिदिएपछि पूर्वराजा ज्ञानेन्द्र आफैँले सो कार्य गरिदिन लाग्नुभएको हो । राजसंस्था नरहेकोले प्रत्येक १२ वर्षमा घ्याम्पो बदलिने कार्य भविष्यमा नहुनसक्छ भन्दै पूर्वराजा ज्ञानेन्द्रले सयौँ वर्षसम्म फेरिरहन नपर्ने गरी तामाको घ्याम्पो निर्माण गर्न लगाउनुभएको र घ्याम्पोमा सुनको जलप लगाइएको जानकारी प्राप्त हुन आएको छ ।

उक्त घ्याम्पो अहिले काठमाडौं भीमसेनस्थानमा लगेर राखिएको छ र घ्याम्पोको संरक्षण थकुजुजु जयराम मल्लले गरिरहनुभएको छ । घटस्थापनाको भोलिपल्ट बिहान ११ बजे पूर्व श्री ५ ले काठमाडौं गणेशस्थानमा गई गणेशको पूजाआजा गर्नुहुने र गणेशस्थानबाट भीमसेनस्थानसम्म पैदल हिँडी त्यहाँ राखिएको विशाल घ्याम्पोको प्राणप्रतिष्ठा समारोहमा सहभागी जनाउनुहुने बताइएको छ । पूर्वराजाले भीमसेनस्थानमा पनि पूजाआजा गर्नुहुने बुझिएको छ ।

घ्याम्पो फेरिएको १२ वर्षपछि (तीन वर्षअघि) खड्गसिद्धि जात्राको आयोजना हुँदा तात्कालिक राष्ट्रपति डा. रामवरण यादवले राजाले झैँ खड्ग साट्ने इच्छा सम्बन्धित गुठियारहरूसँग राखेका थिए । डा. यादवले अनेकौँ प्रयास गर्दा पनि थुकुजुजु जयराम मल्ल र भरत मालीलगायतका गुठियारहरू यादवमार्फत खड्ग साट्न तयार भएनन् । हनुमानढोकामा रहेको खड्ग मल्ल र माली आफैँले साटेका थिए । तर, क्षतिग्रस्त बनेको घ्याम्पो फेर्न गरिएको प्रयासमा भने गुठियारहरू सफल हुन सकेनन् । त्यसैबीच पूर्व श्री ५ समक्ष यस कुराको जानकारी गराइएपछि आकर्षक घ्याम्पो र घ्याम्पो राख्नका निम्ति सुन्दर खट उहाँले आफ्नै खर्चमा निर्माण गरिदिनुभएको बुझिएको छ । यो वर्षको सिद्धि जात्रामा राजाद्वारा खड्ग साट्ने कार्य हुने हो या होइन सो भने बुझ्न सकिएको छैन । वि.सं. २०५८ सालमा राजा भएको वर्ष उहाँले घ्याम्पो फेरिदिनुका साथै खड्गसमेत साटिदिनुभएको थियो ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार आगामी कात्तिक ४ गते काठमाडौंमा आरम्भ हुने सनातनी हिन्दूहरूको विराट सम्मेलनको एक भव्य समारोहबीच पूर्व श्री ५ महाराजाधिराजबाट समुद्घाटन हुने भएको छ । नेपाललाई सनातनी हिन्दूराष्ट्र बनाउने उद्देश्यबाट विश्व हिन्दू महासङ्घद्वारा आयोजना गरिने उक्त समारोहमा विश्वका करिब चार दर्जन मुलुकका हिन्दू प्रतिनिधिहरूले सहभागिता जनाउने बुझिएको छ । पशुपति बनकालीमा हुने उद्घाटन समारोहमा सहभागिता जनाउन भारतबाट शङ्कराचार्य, विभिन्न धर्माधिकारी, राजनीतिमा समेत सशक्त भूमिका निर्वाह गर्दै आउनुभएका योगी आदित्यनाथ र सत्पालजी महाराजसमेतको आगमन हुने आयोजकहरूले जनाएका छन् । यो समारोहपछि नेपाललाई हिन्दूराष्ट्र बनाउन निर्णायक दबाब पैदा हुने विश्वास गरिएको छ ।