पाँच वर्षभित्रै काठमाडौंमा मेट्रो रेल चलाउनेछु

पाँच वर्षभित्रै काठमाडौंमा मेट्रो रेल चलाउनेछु


rajuraj-joshi 2

– राजुराज जोशी
(काठमाडौं महानगरका नेपाली काङ्ग्रेसबाट मेयरका प्रत्याशी)

० तपाईं काठमाडौं महानगरको मेयरको उम्मेदवार बन्नुभएको छ, काठमाडौंका समस्या कस्ता–कस्ता छन्, समाधान कसरी हुन्छन् ?
– काठमाडौंको सबैभन्दा ठूलो समस्या भनेको अहिले धुलो हो । मैले शपथग्रहण गरेको दिनदेखि नै काठमाडौंलाई धुलोमुक्त बनाउने अभियानको सुरुवात गर्नेछु । अर्काे समस्या भनेको ट्राफिक जाम हो । ट्राफिक समस्याले अहिले काठमाडौंवासीले सबैभन्दा ठूलो हैरानी खेप्नु परिरहेको छ । दुई–तीन वर्षअघि बनाएको बाटो अहिले साँघुरो भइसक्यो, बाटो ठूलो बनाएर मात्र ट्राफिक व्यवस्थापन हुनेवाला छैन, त्यसैले मेट्रो रेल र फ्लाईओभर बाटो अनिवार्य छ । यो काम एकैचोटिमा सम्भव छैन, त्यसैले म निर्वाचित भइसकेर शपथको भोलिपल्टदेखि नै यो कामको सुरुवात भएर पाँच वर्षभित्रमा जनतालाई जसरी पनि फ्लाईओभर रोड र मेट्रो रेलमा हि“डाउने मैले वचन दिएको छु । योसँगै सामुदायिक विद्यालयको व्यवस्थापनको कुरा पनि अहिले काठमाडौंमा समस्या छन् । यी सरकारी विद्यालयलाई एकीकृत गर्ने, अहिले धेरै सरकारी विद्यालय भूकम्पले भत्काएका छन् । विद्यार्थी छैनन्, काम गर्ने मान्छे पठाउँछन् । विद्यार्थी नभएका विद्यालयलाई एकीकृत गरेर त्यस्ता ठाउँमा पार्कहरू बनाउने लक्ष्यसहित जस्तो काठमाडौंको ३२ वटै वडाहरूमा सार्वजनिक पार्क बनाउने मेरो अवधारणा छ । त्यस्ता सम्भावित ठाउँ धरै छन् । खासगरी विभिन्न विद्यालय एकीकृत गरेर पाँच–सात हजार विद्यार्थी पढ्न मिल्ने एउटा नमुना विद्यालय निर्माण गर्न सकिन्छ । त्यससँगै भूकम्पले भत्काएका घरहरू निर्माणका लागि सरकारले २५ लाख ऋण चार प्रतिशत ब्याजमा बैंकलाई दिनु भनेको छ । त्यो पैसा यो सहरभित्र भएका भूकम्पपीडित जनताले पाइराखेका छैनन् । कहीँ बाटो छैन भनेर ऋण दिन आनाकानी गरिएको छ, कहीँ आम्दानीको स्रोत छैन भनेर । त्यही भएर ती पीडितलाई पैसा दिनुप¥यो र उनीहरूले घर बनाउन पाउनुप¥यो । प्रत्येक नागरिकले घर बनाएर बस्न पाउनुपर्छ । भूकम्पपीडितको आफ्नो घर छैन, सुकुम्बासीजस्तो भइराखेका छन् । त्यो सबै पत्ता लगाएर नेपाल सरकारले वा स्थानीय सरकार भनौँ महानगरले ती नागरिकलाई बस्न पाउने आवासको व्यवस्था गर्नेछौँ ।

० तपाईंले ट्राफिक व्यवस्थापनको लागि पाँच वर्षभित्र मेट्रो रेल बनाउने भन्नुभयो, ज्यादा नै महत्वाकाङ्क्षी कुरा भएन ?
– पहिलो कुरा मेट्रोको मालिक नै जनतालाई बनाउने हो । विदेशबाट आउने, सरकारको र महानगरको सोर्स त छँदै छ । त्यसमा थप महानगरका जनतालाई सेयर बेच्ने हो । यसबाट मेट्रोको मालिक नै जनतालाई बनाउने जसले गर्दा संरक्षण सम्वद्र्धन पनि हुन्छ । भविष्यमा यसबाट ठूलो लाभ पनि हुन्छ । एउटा बैंकले ऋण दिँदा २० देखि २५ अर्ब फाइदा हुन्छ भने यसमा ६ सय अर्बको योजना त योजना आयोगले बनाइसकेको छ । महानगरभित्र त त्यति मात्र नभएर महत्वाकाङ्क्षी योजना अगाडि सार्नैपर्ने हुन्छ, यदि त्यसो भएन भने विकास हुनै सक्दैन । त्योभन्दा पनि मलाई यो महानगरमा मेट्रो चलेको हेर्ने आफैँलाई ठूलो रहर हो । विदेशमा मेट्रो चढ्यो आफ्नो देशमा चाहिँ आउदा हुन्न । अर्को भनेको हाम्रोको पार्टीको लक्ष्य आर्थिक उन्नतिचाहिँ डबल डिजिट पु¥याउनेछ । यसो भयो भने हरेक मान्छेसँग पैसा हुन्छ । हरेक मान्छेसँग पैसा भएपछि उनीहरू सबैको एउटा घर र गाडीको सौख हुन्छ । त्यसले गर्दा गाडी कसैले रोक्न सकिँदैन । गाडी रोक्न पनि नसक्ने अनि बाटो पनि हरेक वर्ष बढाउँदा पनि साँघुरो हुन्छ । न्युयोर्क, युरोप र टोकियोमा मान्छेले आफ्नो गाडी घरमै पार्क गरेर राखेको हुन्छ, मान्छेलाई पुग्नुपर्ने गन्तव्यमा त समयमै पुग्नुुप¥यो त्यतिखेर मानिसहरू मेट्रो चढेर जान्छन् । मेरो भविष्यका योजना पनि यिनै हुन्, समयमै गन्तव्यमा पुग्नुपर्ने कुनै पनि मान्छेले ट्राफिक जामको सास्ती झेल्नु नपरोस् ।

० काठमाडौं भनेको धेरै सांस्कृतिक सम्पदाहरू भएको ठाउँ हो, यी सम्पदासँग काठमाडौंवासीको इतिहास जोडिएको छ । यसको संरक्षणबारे केही सोच्नुभएको छैन ?
– हो, सम्पदाहरूको कुरा पनि छ । सम्पदा भूकम्पपछि कुनै पनि बनेका छैनन्, त्यसलाई पनि बनाउनुप¥यो । काष्ठमण्डपको निर्माण पहिलो नम्बरमा राखेको छु । मेरो विजयसँगै पहिलो काम काष्ठमण्डपबाट सुरु गर्ने वचनबद्धता व्यक्त गर्छु । पुरातत्वले यसको नक्सापास गरेको छ । पुरातत्व विभाग पनि सरकारअन्तर्गतकै हो । यदि सरकारले निर्माण गरेन भने पनि महानगरले एउटा विभाग खडा गरेर हामी अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माणका लागि अघि बढ्नेछौँ । काठमाडौंका जुन परम्परागत कल्चर छन् त्यसलाई प्रमोट गर्दै अघि बढ्नेछु । प्रायः पर्यटक नेपालीको अनुहार हेर्न त आउने होइनन् । उनीहरू नेपालका सम्पदा र कल्चर हेर्न आउँछन् । नेपालको सुन्दरता, अझ भनौँ काठमाडौंको सुन्दरता, यहाँको संस्कृति र सम्पदाहरू हेर्न आउँछन् । त्यसैले यो सुन्दरता जोगाउन हामीले सरकारी स्तरबाट नै काम गर्नुपर्छ । मैले सम्पदा निर्माण मात्र होइन, अबको पाँच वर्षभित्रमा काठमाडौंं महानगरभित्र फ्री वाइफाईको अवधारणा पनि अघि सारेको छु । अहिले हामी १४–१५ सय रुपैयाँ तिरेर वाइफाई जोड्नुपर्ने अवस्थामा छौँ । यसो ग¥यो भने युवा विद्यार्थीका लागि अन्तर्राष्ट्रिय कनेक्सन गर्न र ग्लोबलाइजेसनका लागि सहज हुन्छ । हामीले महानगरजस्तो ठाउँमा फ्री गर्न सक्यौँ भने एकैचोटिमा भन्दा पनि चरणबद्ध रूपमा पाँच वर्षभित्रमा ३२ वटै वडामा वाइफाई फ्री गर्नेछौँ । त्यसैगरी वर्षमा २० हजार युवाहरूलाई आईटी सेक्टरमा दक्षहरूलाई रोजगारीको अवसर सिर्जना गराउनेछौँ ।

० यत्रो उम्मेदवारहरूमध्येबाट काठमाडौं महानगरका जनताले तपाईंलाई नै भोट किन दिने ?
– राजनीतिक रूपमा हामी त्यो पार्टीको उम्मेदवार हौँ जुन पार्टी नेपालको गौरव हो । काङ्ग्रेस पार्टी भनेको नेपालको गौरव हो । २००७ सालमा काङ्ग्रेसको अगुवाइमा राणा गयो । २०४६ सालमा सर्वमान्य नेता गणेशमान सिंहले जनआन्दोलनको नेतृत्व गर्नुभयो, राजासँग वार्ता भयो, पञ्चायत गयो । ०६२÷६३ हाम्रो तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रचण्ड मिल्नुभो, राजतन्त्र गयो । यो मुलुकमा पाँच वर्षसम्म कम्युनिस्टहरूले संविधानसभा चलाए, तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभाको निर्वाचन भयो र नेपाली काङ्ग्रेस पहिलो पार्टी बन्न सफल भयो । नेपाली काङ्ग्रेसका तत्कालीन सभाति सुशील कोइराला प्रधानमन्त्री बन्नुभो र उहाँले संविधान बनाउनुभो । अर्को कुरा, हामी जे भनिराख्या छौँ– राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, हामी त्यसमा दृढ छौँ ।

० राष्ट्रिय रूपमा दोस्रो र चौथो शक्ति (एमाले–राप्रपा) बीच तालमेल भएको छ, तपाईंहरू सिंगल हुनुहुन्छ नि ?
– विचार, सिद्धान्त, आदर्श केही पनि मिल्न नसक्ने अझ भनौँ नदीका दुई किनाराजस्तो विचार र सिद्धान्त भएका राजनीतिक शक्तिबीचमा एलाइन्स गर्नु भनेकै हार स्वीकार गर्नु हो । हार्ने मनस्थितिले गर्दा नै उनीहरूले एलाइन्स गरेको हो । त्यो पनि कुनै सैद्धान्तिक आधार नभएको एलाइन्स हो । एउटा कम्युनिस्ट जसले राजतन्त्र मान्दैन, जसले धर्मलाई अफिम भन्छ । अर्कोतिर राजतन्त्र र हिन्दूराष्ट्र मान्ने पार्टी । त्यसकारण यो एलाइन्स हुनै नसक्ने खालको छ । पहिलो कुरा त उनीहरू हार्छु भन्ने मनस्थितिमा पुगेर नै एलाइन्स भएको हो । त्यसकारण यो अपवित्र गठबन्धन हो, यसले काङ्ग्रेसलाई केही असर गर्दैन । अर्को त्यो गठबन्धनले महिला उम्मेदवार बनाउनैपर्ने संवैधानिक व्यवस्थालाई कुल्चेको छ । नेपाली काङ्ग्रेसले के परिकल्पना ग¥यो भने महिलालाई पनि अगाडि बढाउनुपर्छ एउटा पुरुष र एउटा महिलालाई भने तर उनीहरूको अपवित्र गठबन्धनले के ग¥यो भनेदेखि मेयर भइसकेको मान्छेलाई पनि उपमेयरमा र दुइटै पुरुष महिलाविरोधी गठबन्धनको रूपमा देखिन्छ । संविधान पनि उल्लङ्घन भयो, संविधानलाई कताकता कार्यान्वयन हुन नदिने खेल खेलिरहेको देखिन्छ ।

० तपाईंले यति बेलासम्म जनप्रतिनिधिका रूपमा काम गर्नुभएको छैन । एकैपटक महानगरको मेयरको उम्मेदवार बन्नुभयो, कसरी ?
– मैले बहुदलीय व्यवस्थापछिको पहिलो स्थानीय निर्वाचन हुँदा नै ०४९ सालमा काठमाडौंको मेयरमा दाबी गरेको थिएँ । त्यो बेलामा काठमाडौंमा पीएल सिंहजस्तो सिनियर आउनुभयो । अनि म पछि हटेँ । त्यसबेला मलाई उपमेयर बन्न भनेको थियो पार्टीले । तर, मेरो इच्छा अरू केही होइन एकपटक काठमाडौंको मेयर बन्ने भन्ने थियो । खासमा म लोप्रोफाइलमा रहन रुचाउँछु, तर महानगरपालिकाका जनताबीच मजति अरू कोही पुगेका छैनन् । महानगर कसरी चलाउनुपर्छ भन्ने योजना मसँग छ । अहिलेसम्म कुनै पद नलिनु पनि मेरो योग्यता हो । ०६४ सालमा सभासद् उठ्ने कि भन्ने कुरा भएको हो, तर मैले मेयर नै उठ्छु भनेर सांसदको टिकट हापेको हुँ ।

० भाइ मन्त्री दाइ मेयर भन्ने पनि आरोप छ नि ?
– भाइ मन्त्री भएको छ । त्यो मात्रै होइन, ऊ पार्टीको केन्द्रीय सदस्य पनि हो । उसको छुट्टै राजनीतिक पृष्ठभूमि छ । मेरो अलग्गै छ । म ०४९ सालमा मेयर हुन खोजेँ । पीएल दाइजस्तो सिनियर आएपछि मैले छोडेँे । नवीन्द्रराज उपमेयर भए । यसमा परिवारको कुनै प्रसङ्ग छैन ।