पत्रकार दाहालको पुस्तक प्रधानमन्त्री दाहालद्वारा विमोचन

पत्रकार दाहालको पुस्तक प्रधानमन्त्री दाहालद्वारा विमोचन


bimochan-1

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा सहभागी भएकालाई शान्तिको बढी महत्व हुने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो विचार राखेका हुन् । प्रधानमन्त्रीले १२ बुँदे समझदारीको जगमा भएको परिवर्तनलाई सफल हुन नदिने शक्तिहरू हुन सक्छन्, त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र अझै खतरामुक्त भइनसकेको पनि बताए ।

दाहालले भने, ‘अहिंसात्मक आन्दोलनको नेतृत्व गर्ने गिरिजाबाबु र सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने म एकै ठाउँमा उभिएर शान्ति प्रक्रियामा हस्ताक्षर ग¥यो, हाम्रो यो प्रयोग गान्धीवाद वा माओवाद हो ? वा केही पनि होइन ? खोजी गरौँ ।’ प्रधानमन्त्री दाहालले यस प्रयोगबारेमा चिन्तन र विश्लेषण गर्ने जिम्मा पनि पत्रकार र बुद्धिजीवीहरूलाई जिम्मा लगाए । कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालद्वारा लिखित ‘मेरो पत्रकारिता’ नामक पुस्तकको प्रधानमन्त्री दाहाल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, वरिष्ठ पत्रकारद्वय होमनाथ दाहाल र किशोर नेपालले संयुक्त रुपमा विमोचन गरेका थिए ।

पुस्तक विमोचनपछि सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले नेतृत्व गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा झण्डै १७ हजार नेपालीको ज्यान गएको तर आफूले एक जनालाई पनि एक थप्पड नहानेको र अरुले पनि आफूलाई एक थप्पड पनि हानेको छैन भनेका थिए । उनले गान्धीप्रति श्रदा र सम्मान प्रकट गर्दै आफ्नो जीवनमा गान्धी र माओसेतुङ कुनै न कुनै हिसाबले जोडिएर आउने बताए । दाहालले भने, ‘युद्धमा सहभागी भएकाले मात्रै शान्तिको महत्वलाई राम्ररी बुझेका हुन्छन् ।’

प्रतिष्ठानका मानार्थ अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अहिंसा र सत्यको बाटोमा लागेर नै साम्राज्यवादी अङ्ग्रेजलाई भारतबाट फिर्ता पठाउन गान्धीलाई सफलता मिलेको बताए । निधिले भने– ‘प्रधानमन्त्री पचण्डले हतियार र हिंसाको बाटोबाट ठूलो सशस्त्र आन्दोलन गर्नुभयो र बृहत शान्ति सम्झौता पनि गर्नुभयो, अब प्रचण्डले गान्धीलाई कसरी सम्झनुहुन्छ, यो जिम्मा म उहाँलई नै छाडीदिन्छु ।’

त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि शान्ति प्रक्रियाको एक हस्ताक्षर गर्ने नेताको हैसियतमा आफ्नो धारणा राखेको बताएका थिए ।

दाहालको पत्रकारिता जीवनको समग्र घटनाक्रम, पत्रकारितामा लाग्दाका चुनौतीहरू, राष्ट्रका चर्चित हस्तीहरूसंगको अन्तरंग स्वभाव, अनेक राजनीतिक रहस्यहरूको अनावरण साथै पत्रकारिता सिद्धान्त र व्यवहार ‘मेरो पत्रकारिता’मा समावेश गरिएको छ । दाहालको ४ सय ८२ पृष्ठ रहेको ‘मेरो पत्रकारिता’ मा विभिन्न विषयहरूलाई १५ खण्डमा विभाजन गरिएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को प्रकाशक रहेको ‘मेरो पत्रकारिता’ दाहालको समकालिन पुस्ता र नयाँ पुस्ताका लागि पढ्नैपर्ने पुस्तक रहेको समीक्षकहरूले प्रतिक्रिया दिएका छन् ।

पुरुषेत्तम् दाहाल तीसको दशकमा नेपाली पत्रकारिता प्रवेश गरेका हुन् र ०४६ सालको परिवर्तनपछि रेडियो नेपालको घटना र विचार कार्यक्रमबाट चर्चामा आएका हुन् । प्रतिष्ठानका अध्यक्षसमेत रहेका दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहाल, वरिष्ठ पत्रकार किशोर नेपाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, पूर्वसांसद शोभाकर पराजुली, नेपालका लागि भारतीय राजदूत रन्जित राय, प्रा।डा। रामचन्द्र प्रधान, कांग्रेस नेतृ पुष्पा भुसाल लगायतले गान्धी र अहिंसाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा महेन्द्रनारायण निधि स्मृति स्मारिका चतुर्थ सोपान, प्रा.डा. रामचन्द्र प्रधानद्वारा लिखित तथा शंकर तिवारीद्वारा अनुदित ‘गीता ज्ञान प्रवेशिका’ पुस्तकको पनि विमोचन गरिएको थियो ।