दोस्रो चरणको चुनाव : ठूला दलका निम्ति फलामको च्युरा

दोस्रो चरणको चुनाव : ठूला दलका निम्ति फलामको च्युरा


amardeep-moktan

■ अमरदीप मोक्तान

यही जेठ ३१ गते हुने स्थानीय तह दोस्रो चरणको चुनाव तयारी उत्कर्षमा छ । तराइ–मधेशका बहुसङ्ख्यक मतदाता लोकतन्त्रको महापर्वरूपी चुनावमा भाग लिन आतुर छन् । दोस्रो चरणको चुनावमा सहभागी हुन मधेसी दलद्वारा प्रस्तावित गरिएका मागमध्ये स्थानीय तह थप्ने एजेण्डाको विषयमा सरकारले २३ वटा स्थानीय तह थप्ने निर्णय गरेपछि तराइ–मधेशमा चुनाव हुने माहोल बनेको अनुभूति गरिएको छ । नेपाल लोकतान्त्रिक पार्टी (गच्छेदार) र सङ्घीय समाजवादी फोरम (उपेन्द्र यादव)ले प्रथम चरणको चुनावमा सहभागी भएर केही गाउँपालिका र वडामा विजय हासिल गरी खाता खोलेका छन् भने तिनले दोस्रो चरणको चुनावमा भाग लिने स्पष्ट छ । महन्थ ठाकुर, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालद्वारा मागप्रति लिएको अडानले चुनाव नहोला भन्ने सन्देह थियो, तर सरकारबाट स्थानीय तह थप्ने निर्णय आएबाट त्यो बाधा पनि हटेको छ । समग्रमा चुनाव हुने–नहुनेबारे भन्नुपर्दा यदि कुनै ठूलै घटना भए मात्र, अन्यथा अब दोस्रो चरणको चुनाव हुनेमा लगभग सहमति बनिसकेको प्रतीत हुन्छ ।

प्रथम चरणको चुनावमा एमाले अग्रपङ्क्तिमा देखिए पनि एमालेको राजनैतिक भविष्यका लागि त्यो परिणाम सन्तोषप्रद होइन र त्यो एमालेले पनि स्वीकार गरेको छ । प्रथम चरणको चुनावमा एमालेले जति राम्रो परिणामको आशा गरेको थियो त्यो परिणाम आएन । प्रथम चरणको चुनावमा तेस्रो भए तापनि वास्तवमा लाभको स्थितिमा माओवादी नै देखियो । दोस्रो चरणको नगर तथा गाउँपालिका चुनाव परिणामले नेपालका ठुला राजनीतिक पार्टीहरूको भाग्यको फैसला गर्नेछ । दोस्रो चरणको चुनाव किन महत्वपूर्ण छ भने दोस्रो चरणको चुनाव हुने भनिएको प्रदेश १ र ७ मा एमाले, काङ्ग्रेस बलियो स्थितिमा छ भने २ र ५ मा काङ्ग्रेस, एमाले, माओवादी पार्टीबाहेकका राजनीतिक दल नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी तराई, मधेशको भूभागमा मजबुत स्थितिमा छन् ।

दोस्रो चरणको चुनावमा जातीय समीकरणको कुरा गर्दा पहाडी (छेत्री, बाहुन, आदिवासी), मधेशी, थारु, मुसलमान, दलित मतदाता निर्णायक हुने छन् र कुन पार्टीले उल्लेखित मतदातालाई आफ्नो पक्षमा ल्याउन र कतिसम्म रिझाउन सक्ने हुन् त्यो हेर्न बाँकी छ । दोस्रो चरणको चुनावमा काङ्ग्रेस एमाले माओवादीलाई चुनौती दिने नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये नेपाल लोकतान्त्रिक फोरमको साङ्गठनिक बनावट छेत्री–बाहुन, आदिवासी, थारु, मुसलमान दलितलाई सम्मानजनक स्थानमा स्थापित गरेको हुनाले र गच्छेदार स्वयम् पनि थारु आदिवासी भएको हुनाले सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको अपेक्षा मजबुत स्थितिमा देखिएको छ ।

दोस्रो चरणको चुनाव हुने भनिएका प्रदेशहरूको जनसङ्ख्या तथ्याङ्कमा प्रथमतः पहाडी छेत्री–बाहुन पर्दछन् भने दोस्रोमा थारुलगायत पहाडी–आदिवासी दोस्रोमा पर्दछन् । त्यस्तै, तेस्रो, चौथो, पाँचौमा क्रमशः मधेशी, मुसलमान र दलित पर्छन् । दोस्रो चरणको नगर र गाउँपालिका चुनावमा जतिसुकै विश्लेषण गरिए तापनि उल्लेखित चुनावमा जातीय जनसङ्ख्या र समीकरणले महत्वपूर्ण खेल खेल्ने छ । अधिकांशजसो क्षत्री–बाहुन मत एमाले काङ्ग्रेस र माओवादी बाँडिने छन् भने अधिकांश थारुलगायतका आदिवासी र केही प्रतिशत मुसलमान, दलित मत नेपाल लोकतान्त्रिक पार्टी (गच्छेदार)मा जाने, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भएको हुनाले अधिकांश यादव मतदाता आकर्षित हुने छन्, साथै केही पहाडी आदिवाशी, मुसलमान, दलित मत पनि आकर्षित हुने छन् । त्यस्तैगरी राष्ट्रिय जनता पार्टीको पक्षमा तराई मधेशका अधिकांश मधेसी सवर्ण, बनियाँ र केही मुसलमान, दलित यादव मतदाताको मत आकर्षित हुने छ ।

विजयकुमार गच्छेदार, उपेन्द्र यादव, महन्थ ठाकुरलगायतका नेताहरू मोर्चा बनाएर चुनाव लड्ने चर्चा सुनिएको छ । दोस्रो चरणको चुनावअघि नेपाल लोकतान्त्रिक फोरम (गच्छेदार) सङ्घीय समाजवादी फोरम (उपेन्द्र यादव) र राष्ट्रिय जनता पार्टीले कार्यगत एकता, मोर्चा अथवा गठबन्धन बनाएर चुनावमा सहभागी भए निःसन्देह उल्लेखित पार्टी काङ्ग्रेस, एमाले, माओवादी जस्तै नेपालको राजनीतिमा उदीयमान शक्तिको रुपमा स्थापित हुने छन् र गाउँपालिका–नगरपालिका चुनाव लगत्तै हुने प्रदेश तथा केन्द्रको चुनामा काङ्ग्रेस, एमाले, माओवादीका लागि ठूलो चुनौती सावित हुने छन् ।

यदि दोस्रो चरणको चुनावमा नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीमा मोर्चा अथवा गठबन्धन नभएको अवस्थामा साङ्गठनिक संरचना र जातीय समीकरण अनुसार उल्लेखित तीन पार्टीमध्ये नेपाल लोकतान्त्रिक फोरमले राम्रो प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ । यशोदाकुमारी लामा नेतृत्वको दलित जनजाती पार्टी नेपाल, शिवलाल थापा मगर नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र गोपाल दहित नेतृत्वको थरुहट तराइ पार्टी र विजयकुमार गच्छेदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)को एकीकरणपश्चात नयाँ नामकरण र नयाँ संरचनासहित निर्माण भएको ‘नेपाल लोकतान्त्रिक फोरम’ जातीय समीकरणअनुसार मजबुत बनेको छ । यशोदाकुमारी लामा २ नम्बर प्रदेशको भएको र २ नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्म थारु आदिवासीपश्चात तामाङ समुदायको जनसङ्ख्या बाहुल्य रहेको, त्यस्तैगरी राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा ५ नम्बर प्रदेशको भएको र नवलपरासीदेखि बर्दियासम्ममा थारुपश्चात मगर समुदाय जनसंख्याको बाहुल्यता रहेको आदिवासी समुदाय रहेको र गोपाल दहित नेतृत्वको पार्टी थरुहट तराई पार्टीको नवलपरासीदेखि कैलाली कन्चनपुरसम्मका थारु समुदायमा राम्रो पहुँच र प्रभाव भएको कारणले गर्दा विजय गच्छेदार नेतृत्वको ‘नेपाल लोकतान्त्रिक फोरम’ दोस्रो चरणको चुनावमा आफ्नो बलबुतामा तराई मधेशको ठुलो राजनीतिक शक्ति बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

दोस्रो चरणको चुनावमा काङ्ग्रेस, एमाले, माओवादीले तराई मधेसका थारुलगायतका आदिवासी, मधेसी, मुसलमान, दलित र उपेक्षित वर्गलाई आफ्नो पक्षमा मतदान गराउन कस्तो प्रकारको रणनीति र ब्युह रचना गर्ने हुन् हेर्न बाँकी छ । दोस्रो चरणको चुनाव विगतजस्तो त्यति सजिलो छैन मतदाताहरू कति सचेत एवम् सजग छन्, त्यो प्रथम चरणको चुनावमा सावित भइसकेको छ । मतदाताहरू एमाले, काङ्ग्रेस, माओवादीलगायत पार्टीहरूका भोट बैंक बन्नुभन्दा पनि असल र उपेक्षितको पक्षमा मतदान गर्न उत्सुक छन् । अन्तमा यति मात्र भन्न सकिन्छ, दोस्रो चरणको चुनाव राष्ट्रिय पार्टीको पदवी भिरेका एमाले, काङ्ग्रेस, माओवादीका लागि फलामको च्युरा सावित हुनेवाला छ ।