देउवालाई भारतमा विशेष निमन्त्रणा

देउवालाई भारतमा विशेष निमन्त्रणा


deuwa

नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवा यही कात्तिक १९ गते शुक्रबार भारतको भ्रमणमा जानुहुने भएको छ । भारतीय जनता पार्टीका नेता राममाधव संलग्न रहनुभएको संस्था इण्डिया फाउन्डेसनद्वारा गोवामा आयोजना गरिने गोष्ठीमा विशेष वक्ताका रूपमा सहभागी हुन उहाँ भारत जान लाग्नुभएको हो । गोवाबाट देउवा नयाँदिल्ली पुग्नुहुने र त्यहाँ रहँदा उहाँले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुहुने बुझिएको छ । सभापति देउवाले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा आयोजना हुने एक विशेष समारोहलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ । उक्त विश्वविद्यालयमा हरेक वर्ष ‘नेहरू मेमोरियल लेक्चर’ कार्यक्रम हुँदै आएको छ र त्यहाँ विश्वका ठूलाठूला नेताहरूलाई नेहरू र समसामयिक विषयबारे प्रवचनका निम्ति आमन्त्रण गर्ने गरिन्छ । यस वर्ष उक्त अवसर काङ्गे्रस सभापति देउवालाई प्राप्त भएको छ । देउवा कात्तिक २३ गते स्वदेश फर्कनुहुनेछ ।

खड्का खुले

khum-Bhadur-Khadka 33

नेपाली काङ्गे्रसका प्रभावशाली नेता खुमबहादुर खड्काले पार्टी केन्द्रीय कार्यसमितिको चालू बैठकमा लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीले ल्याएको महाअभियोग प्रस्तावको पक्षमा नेपाली कांग्रेस जान नहुने विचार प्रकट गर्नुभएको छ । मंगलबार (कात्तिक ९ गते) को बैठकमा खड्काले सर्वोच्च अदालतमा कार्कीबारेको मुद्दा विचाराधीन रहेको अवस्थामा अदालतलाई उपेक्षा गर्दै किन महाअभियोग प्रस्ताव आयो भनी प्रश्न उठाउनुभएको थियो । उहाँको भनाइ छ, ‘महाभियोगको प्रस्ताव एनजीओ–आईएनजीओको खेल हो, यसमा एमालेको राजनीतिक चालबाजी छ, कांग्रेस फस्नुहुँदैन, महाअभियोगको विपक्षमा दृढतापूर्वक उभिनुपर्दछ ।’ नेता खड्काले प्रमुख आयुक्त कार्कीको योग्यतामाथि प्रश्न उठाउनेहरूलाई कटाक्ष गर्दै भन्नुभयो, ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश नै सरकारप्रमुख भएका बेला कार्कीको नियुक्ति भएको हो । यदि छानबिन र अनुसन्धान गर्ने हो भने खिलराज रेग्मीमाथि पनि गर्नुपर्ने हुन्छ ।’

बैठकमा नेता खड्काले राज्यको उच्च पदमा अङ्गीकृत नागरिकले मौका पाउनु नहुने र प्रदेशहरूको सीमाङ्कनमा सुधार गर्न सकिने धारणा पनि प्रकट गर्नुभएको थियो । उहाँले काङ्गे्रसमा हिन्दूराष्ट्र हुनुपर्छ भन्ने र धर्मनिरपेक्षता हुनुपर्छ भन्ने पक्षमा पनि साथीहरू रहेको उल्लेख गर्दै भन्नुभयो, ‘महासमितिको बैठक बोलाएर यसको टुङ्गो लगाइनुपर्छ । होइन भने हिन्दूराष्ट्र स्थापनाको निम्ति देशव्यापी सङ्घर्षको तयारीमा हामी आफैँ लाग्नेछौँ ।’ खड्काले सबैको मातृभाषाको संरक्षण गर्नुपर्ने बताउँदै नेपाली भाषालाई नै सरकारी कामकाजको भाषामा कायम राख्नुपर्ने’ स्पष्ट गर्नुभयो ।
मंगलबारको बैठकमा काङ्गे्रसका जुझारु युवा नेता एवम् मन्त्री शङ्कर भण्डारीले पनि काङ्गे्रस एमालेको पछि लाग्न नहुने र महाअभियोगको पक्षमा जान नहुने विचार प्रस्तुत गर्नुभएको थियो ।