दुर्घटनामा पर्नुअघि खुशी थिए घिमिरे

दुर्घटनामा पर्नुअघि खुशी थिए घिमिरे


madhav-ghimire

नेपाल र भारतबीचको सम्बन्धलाई ‘सुदृढ’ बनाउन विशिष्ट भूमिका निर्वाह गर्नुहुने पूर्वपरराष्ट्र एवम् गृहमन्त्री माधव घिमिरे सवारी दुर्घटनामा परेपछि सिङ्गै मुलुक स्तब्ध भएको छ । एक समयका मुख्यसचिव घिमिरे परराष्ट्र र गृहमन्त्री रहँदा उहाँले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन अन्तर्राष्ट्रिय मुद्दाहरूमा समान धारणा बनाउने ‘आइडिया ओरिजिनेट’ गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्यमा मित्रराष्ट्र भारतलाई समर्थन गर्ने प्रतिबद्धता पनि उहाँकै कार्यकालमा जाहेर भएको थियो । घिमिरेले छिमेकी मित्रराष्ट्रको सुरक्षा संवेदनशिलतालाई हेरी दुई देशबीचको सीमारेखाबाट पाँच किलोमिटर भित्र (नेपालतर्फ) सम्म ठूलो लगानीका तारेहोटेल र क्यासिनोजस्ता मनोरञ्जनात्मक तर विवादास्पद व्यवसाय गर्न नपाउने व्यवस्था पनि गरिदिनुभएको छ । उहाँकै कार्यकालमा भएको निर्णयअनुसार सीमाक्षेत्रमा ठूलो लगानीका होटेल खोल्न चाहने नेपालीले आफ्नो योजनास्थल परिवर्तन गरी सीमाबाट पाँच किलोमिटरभित्र सुरक्षित गरेका पनि छन् ।

गत आइतबार अपराह्न आफैँले चलाएको गाडी त्रिशूलीमा खस्नुअघि घिमिरे मुक्तिनाथ दर्शनका लागि मुस्ताङबाट आउनुभएको थियो । मुस्ताङको जोमसोममा भारतीय राजदूत रनजित रेसँगै चिया पिएर बाटो लाग्नुभएका घिमिरेले दमौली पार गरेपछि ‘मनकामनासम्म आफूले गाडी चलाउने’ बताएर चालकलाई गाडी रोक्न लगाउनुभएको थियो । यात्रा अवधिमा गीत गाउँदै, रोचक गफ र हँसिठट्टा गर्दै आउनुभएका घिमिरेले चलाउनुभएको गाडी मनकामना आइपुग्नुभन्दा केही सय मिटर अगाडि त्रिशूलीमा खसेको थियो । आफ्नो अगाडि रहेको गाडीलाई ओभरटेक गरेर अघि बढ्दा विपरीत दिशाबाट अर्को गाडी आफैँतर्फ आइरहेको देखेपछि गाडीलाई आफ्नो लेन (बायाँतर्फ) मा लैजाने क्रममा अनियन्त्रित भई सडकबाट खसेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । घिमिरेसँगै उहाँकी माता र भाइहरूले समेत दुर्घटनामा ज्यान गुमाएका छन् ।