‘त्यस्ता’ प्रचण्डले सकेनन्, ‘यस्ता’ले के गर्लान् ?

‘त्यस्ता’ प्रचण्डले सकेनन्, ‘यस्ता’ले के गर्लान् ?


Deva Prakash Tripathi
– देवप्रकाश त्रिपाठी

कुनै पनि सरकार गठन भएका दिनदेखि नेपालमा अधिकांश नेपालीले प्रकट गर्ने जिज्ञाशा नवगठित सरकारको आयुका विषयलाई लिएर हुने गर्दछ । उता प्रधानमन्त्रीले शपथ लिँदै गर्दा यता सडकमा मानिसले प्रश्न गर्न थालिसकेका हुन्छन्, ‘यो सरकार अब कहिलेसम्म चल्न सक्ला ?’

तर, प्रचण्डको नेतृत्वमा बन्ने भनिएको नयाँ सरकारको आयु सरकार नजन्मँदै निश्चित भइसकेको छ । अब बन्ने सरकारको नेतृत्व नौ महिनासम्म कायम रहनेछ । यदि कांग्रेस सभापति शेरबहादुर देउवाले तत्काल प्रधानमन्त्री बन्ने इच्छा राखेनन् भने या देउवामाथि पार्टीभित्रै पर्नसक्ने दबाबले उनलाई प्रभावित गर्न सकेन भने माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चितप्राय: छ । अति वामपन्थी पृष्ठभूमिका प्रचण्ड दक्षिणपन्थी भनिने कांग्रेसलाई वैशाखी बनाएर प्रधानमन्त्री बन्नु र प्रजातन्त्रवादको मुख्य रक्षक ठान्ने कांग्रेसले आफ्ना हजारौँ कार्यकर्ताको देह–विनासक प्रचण्डलाई शिरमा राखेर राजनीतिक यात्रा तय गर्नु इतिहासको आफैँमा रोचक सन्दर्भ हुन् । ब्वाँसो र हरिण नारिएर सुरु हुन लागेको यो ‘खेत जोताइ’ कसका निम्ति कति फलदायी हुने हो जानकारीका निम्ति केही साता या महिना प्रतीक्षा गर्नुपर्ने हुन्छ । सम्भावित प्रधानमन्त्री प्रचण्ड र उनको नेतृत्वको सम्भावित सरकारका बारेमा अहिलेदेखि नै नकारात्मक टीका–टिप्पणी गर्नु परिपक्वताको द्योतक होइन । तर, पहिले ‘बाघ’ प्रचण्ड र अहिलेका ‘लुमडी’ प्रचण्ड तथा उनको अवस्था एवम् सम्भाव्यताबारे चर्चा गर्नुलाई अवाञ्छित मान्न सकिँदैन । ‘बाघ’ प्रचण्डले के गरेका थिए र ‘लुमडी’मा रूपान्तरित प्रचण्डबाट कति काम हुनसक्ला त्यसबारे सङ्क्षिप्त विवेचनाको प्रयास यहाँ गरिएको छ ।

हिजो जतिबेला (वि.सं. २०६५ मा) प्रचण्ड प्रधानमन्त्री बनेका थिए, त्यसबेला मुलुक माओवादीमय बनेको थियो । माओवादप्रति जनतामा आशा र त्रासको भाव उच्च ‘फ्रिक्वेन्सी’मा थियो, प्रचण्डलाई चुनौती दिनु त्यसताक एक बहादुरीपूर्ण कार्य मानिन्थ्यो । मानिस मात्र होइन, हावा, रूख पात र जीव, जनावर पनि प्रचण्डको भावनाविपरीत चल्न खोज्दैनन् झैँ भान हुन्थ्यो त्यसताक । एउटा खुँखार तानाशाहले कठोर निरङ्कुश शासन व्यवस्थाको बलमा पैदा गर्न सक्ने त्रास प्रचण्डले लोकतन्त्रकै आवरणभित्र सृष्टि गरेका थिए । पार्क चुङ ही या ली क्वान युजस्तै देश निर्माणको दृष्टि, नीति, कार्यक्रम र प्रतिबद्धता भइदिएको भए प्रचण्डले उक्त समयको उच्चतम उपयोग गर्न सक्थे । जनताको चाहना र माग धेरै कठिन र दुर्लभ प्रकृतिका थिएनन्, छैनन् । कर्मचारी प्रशासनबाट सजिलै र समयमै सेवा उपलब्ध होस्, बिरामी पर्दा उपचार गर्न पाइयोस्, सडक या हवाईयात्रा सहज, सरल र सुविधायुक्त भइदेओस्, महँगीमाथि नियन्त्रण कायम होस्, विकास निर्माणका काम सहज ढङ्गले अघि बढुन्, कर्मचारी प्रशासन र उच्च राजनीतिक तहबाट हुने भ्रष्टाचार र घुसखोरीमा लगाम लागोस्, रोजगारीको अवसर प्राप्त होस्, गरिखान पाउने वातावरण बनाइयोस् र देशको राष्ट्रियता तथा राष्ट्रिय एकता सुदृढ होस् भन्नेबाहेक अर्को कुनै चाहना जनतामा थिएन, छैन ।

तर, प्रचण्डले त्यसबेला जनताका उल्लिखित इच्छा सम्बोधन गर्ने तत्परता लिएनन्, लडाकुको रूपमा रहेका आफ्ना कार्यकर्ताको व्यवस्थापनलाई उनले उच्च प्राथमिकतामा राखे, कथित शान्तिप्रक्रियालाई ‘सार्थक निष्कर्षमा’ पुर्‍याउने भन्दाभन्दै उनले नौ महिना गुजारे र प्रधानसेनापतिसँग निहुँ खोज्न थालेपछि आफैँ सत्ताबाट बाहिरिए । देशको समय धेरैजसो प्रधानमन्त्रीले जसरी बर्बाद गरेका थिए त्यसैगरी प्रचण्डले पनि अवश्य समय बर्बाद गरेका हुन् । सत्ताच्युत भएपछिका करिब आठ वर्षमा प्रचण्ड भारी वर्षाको पानीले भिजाएको बिरालो प्रतीत भइसकेका छन् । काम गर्न सक्नेहरू तीन महिना मात्र पदीय जिम्मेवारीमा रहे भने पनि ‘देवशमशेर’ बन्न सक्छन्, क्षमताविहीनहरू सातपटक प्रधानमन्त्री बने पनि ‘भीमशमशेर’भन्दा माथिल्लो दर्जाका प्रमाणित हुन सक्दैनन् । काम गर्न सक्नेका निम्ति नौ महिना थोरै थिएन, तर ‘बाघ’जस्तो महसुस हुने प्रचण्डले नौ महिना इतिहासमा अङ्कित हुने कुनै गुन लगाउन सकेनन् ।

Prachanda

प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई प्राप्त भएकोभन्दा सुदृढ र सहज अवस्था प्रचण्डका सामु उपस्थित थियो । गिरिजाप्रसादले त्यसबेला एमालेजस्तो केटौले समूहलाई प्रमुख प्रतिपक्षीको रूपमा व्यहोर्नुपरेको थियो, पार्टीभित्र आफूभन्दा वरिष्ठ नेताहरूबाट प्राप्त सुझावलाई पनि उनी ‘गनगन’का रूपमा बुझ्थे र अवरोध पैदा भएको ठान्थे । प्रजातन्त्र पुनर्वहाली हुँदा पराजित हुन पुगेको पक्षले त गिरिजाप्रसादको असफलताका निम्ति पशुपतिनाथको भाकल गर्ने नै भए । गिरिजाप्रसाद स्वयम्मा मुलुकलाई ‘आवश्यक त्रास’ पैदा गर्ने सामथ्र्य थिएन । तर, वि.सं. २०६५ का प्रचण्डलाई २०४८ को गिरिजाप्रसादलाई भन्दा सहज एवम् अनुकूल अवस्था पैदा भएको थियो । माओवादीको राजनीतिक, वैचारिक एवम् सैद्धान्तिक एजेण्डा स्वीकार गर्ने कांग्रेस पार्टीलाई प्रचण्डले प्रमुख प्रतिपक्षको रूपमा पाएका थिए । त्यसताक माओवादीलाई बिझ्ने प्रकारको भूमिका कुनै पनि प्रकारले कांग्रेसबाट भएन ।

त्यस्तै एमालेलगायत अन्य प्रमुख राजनीतिक समूहहरूको साथ प्रचण्डलाई थियो । दुवैतिरका छिमेकी मित्रराष्ट्रहरूको साथ र सद्भाव पनि प्रचण्डलाई थियो । एमालेलगायत अन्य दल तथा तिनका नेतागण प्रचण्डसँगको मित्रवत् सम्बन्धमा गौरव महसुस गर्ने गर्दथे । त्यसताक माओवादी पार्टी राजकन्याको विवाहमा आएको बारात (जन्ती) जस्तो भान हुन्थ्यो भने प्रचण्डचाहिँ राजकुमारीलाई पत्नी बनाउने सौभाग्यप्राप्त ‘दुलाहाराजा’झैँ आकर्षणका केन्द्रबिन्दु थिए । आफ्ना समर्थक एवम् कार्यकर्तालाई घरबारविहीन बनाएको र हजारौँ कार्यकर्ताको प्राणहरण गरेको पृष्ठभूमिलाई पूरै बिर्सिएर कांग्रेसले जब प्रचण्डलाई अति उच्च महत्त्व दियो, त्यसपछि अरू कुनै राजनीतिक समूहले प्रचण्ड र माओवादीलाई कम महत्त्व दिने हिम्मत गरेन । देशका युवा–युवतीहरू प्रचण्डका ‘डाइहार्ट फ्यान’ बनेका थिए, जो प्रचण्डका समर्थक थिएनन्, तिनमा चाहिँ त्रास जीवित थियो । त्यसैले ०६३, ०६४, ०६५ र ०६६ सम्मको चार वर्ष प्रचण्डको आफ्नो जीवनकालका निम्ति स्वर्णक्षणको उत्कर्ष थियो भने मुलुकका निम्ति एउटा उर्वर कालखण्ड थियो त्यो । प्रचण्डमा देङ्ग सियाओ पिङको जस्तै भिजन (दूरदृष्टि), पार्क चुङ हीको जस्तै आँट र ली क्वान युको जस्तो प्रतिबद्धता भइदिएको भए देश निर्माणको सुनौलो सुरुवात ठीक त्यही समयमै हुन सम्भव थियो । कसको इच्छा, आदेश र प्ेररणामा शक्तिशाली बनिएको हो भन्ने चटक्क भुलेर व्यवहार गर्न थालेपछि प्रचण्डको नौमहिने कार्यकाल उनकै शब्दमा ‘झिलिमिली’ भएर बित्यो, २०६६ वैशाखमा सत्ताच्यूत भएर सडकमा आइपुगेपछि मात्र प्रचण्डले आफ्नो औकात क्रमश: थाहा पाउन थालेका हुन् । २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा फेरि उठ्नै नसक्ने गरी पराजित भएपछि प्रचण्डमा एकप्रकारको विचलन देखापर्‍यो । जनवादी क्रान्तिको सपना त पहिले नै तुहिएको थियो, प्रधानमन्त्रीमा दोहोरिने उनको इच्छा पनि अधुरै रहने स्थिति बन्यो । छिमेकी मित्रराष्ट्रलाई समेत चुनौती दिँदै प्रधानमन्त्री बन्न सफल भएपछि खड्गप्रसाद उर्फ केपी शर्मा ओली जसरी प्रस्तुत भए त्यसले मुलुकका निम्ति कति हित या अहित गर्‍यो समीक्षाको विषय बन्न सक्छ, ओलीको सोच, व्यवहार र कार्यशैलीले प्रचण्ड प्रधानमन्त्री बन्ने ढोकाचाहिँ अवश्य खोलिदिएको हो । ग्रह–नक्षत्रको नकारात्मक असर छैन र यस वर्षको उनको राशिफल राम्रो छ भने आउँदा केही दिनभित्रै प्रचण्ड नौ महिनाका निम्ति प्रधानमन्त्री नियुक्त हुनेछन्, सम्भवत: यो अवसर प्रचण्डका निम्ति अन्तिम हुनेछ ।

बितेका आठ वर्षभित्र चलनचल्तीको भाषामा ‘बाउन्न हण्डर त्रिपन्न घुसा’ खाएर ‘बाघ’बाट ‘लुमडी’मा रूपान्तरित भइसकेका प्रचण्डले उनलाई प्राप्त नौ महिनाको अवधिभित्र के गर्न सक्लान् ? हिन्दी सिनेमा ‘नायक’को अनिल कपुर हुन प्रचण्ड समर्थ नहुने अनेक कारण छन् । अनिल कपुरलाई मुख्यमन्त्रीका रूपमा काम गर्न चौबीस घन्टाको मात्र समय निर्धारण गरिएको भए पनि उनीमाथि कतैबाट कसैको अङ्कुश थिएन, आफ्नो क्षमता र भिजनको पूर्ण उपयोग गर्न उनी पूरै स्वतन्त्र थिए, त्यसैले चौबीस वर्षमा एउटा कुशल राजनीतिकर्मीले गर्न नसक्ने काम अनिल कपुरले चौबीस घन्टामा गरिदिए । तर, प्रचण्डलाई नौ महिनाको समय उपलब्ध भए पनि उनीमाथि दृश्य–अदृश्य लगाम छन्, स्वतन्त्र ढङ्गले काम गर्न पाउने अवसरबाट प्रचण्ड वञ्चित छन् । देखिनेगरी कांग्रेसको र नदेखिनेगरी कुन्नि कस–कसको लगाममा बाँधिएका प्रचण्डबाट स्वतन्त्र ढङ्गले काम भएछ भने त्यसलाई अपवादका रूपमा बुझ्नुपर्ने हुन्छ ।

संसारमा जसले क्रान्तिको अगुवाइ गर्छ उसले राष्ट्र निर्माण गरेको दृष्टान्त भेटिँदैन । क्युवाका फिडेल क्यास्त्रो, चीनका माओ त्से तुङ, भारतका गान्धी र जवाहरलाल नेहरू, रसियाका लेनिन र स्तालिन, भियतनामका हो ची मिन्हले क्रान्तिको नेतृत्व अवश्य गरेका हुन्, तर देश निर्माणको जस (यश) उनीहरूलाई दिन सकिँदैन । यदि दशवर्षे हिंसात्मक युद्धलाई क्रान्ति मान्ने हो र त्यसको निमित्त नायक नभई साँच्चैका नायकका रूपमा प्रचण्डलाई स्वीकार गर्ने हो भने उनीबाट देश बनाउने कार्यको अगुवाइ हुन सक्दैन भन्ने तथ्य बुझ्न ०६५ सालका नौमहिने प्रधानमन्त्री प्रचण्ड नै पर्याप्त छन्, अर्को नौमहिने कार्यकालले त्यसैको पुनर्पुष्टि मात्र गर्ने हो ।

प्रचण्डका ‘बर्डेन’ अनगन्ती छन्, आफ्नो समूह–स्वार्थभन्दा माथि उठ्न सक्ने क्षमता उनमा प्रतिबिम्बित भएको देखिँदैन । सशस्त्र द्वन्द्वकालमा द्वन्द्व व्यवस्थापनका सन्दर्भमा प्रचण्डले गरेको जायज–नाजायज सम्झौताहरू पनि उनकै निम्ति तगारा बनेका छन् । दशकभित्र प्रचण्डप्रतिको विश्वसनीयता समाप्तप्राय: भएको छ र उनीसँगको त्रास सम्पूर्ण रूपले हटेको छ । त्यसैले दोस्रोपटक प्रधानमन्त्री बन्ने रहर पूरा गरे पनि प्रचण्डले मुलुकलाई सकारात्मक योगदान पुर्‍याउन सक्ने सम्भावना मृतप्राय: छ, कदाचित योगदान दिए भने त्यो चमत्कार हुनेछ ।